गणित शिक्षा परिषद् कास्कीको आयोजना तथा रिडमोर पब्लिकेसनको सहयोगमा अतिरिक्त गणित विषयको नयाँ पाठ्यक्रम तथा विशिष्टीकरण तालिका (Specification Grid) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम पोखरास्थित साइमन पार्टी प्यालेस, सिर्जनाचोकमा शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा परिषद् कास्कीका अध्यक्ष खगेन्द्रराज बरालले अध्यक्षता गर्नुभएको थियो भने शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमको प्राविधिक तथा प्रशिक्षण सत्रमा प्रसिद्ध गणित पुस्तक लेखक दयाराम सिम्खडाले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो। उहाँले माध्यमिक तहको परिवर्तित विशिष्टीकरण तालिकामा आधारित भई सबै संज्ञानात्मक तह (Cognitive Levels) का क्षेत्रगत पदहरू तथा अन्तरक्षेत्रगत (Cross-domain) प्रश्नहरूको निर्माण र प्रयोगबारे विस्तृत रूपमा चर्चा गर्नुभयो।
औपचारिक सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै परिषद्का उपाध्यक्ष भूमिराज अधिकारीले अतिरिक्त गणित विषयलाई व्यावहारिक र गुणस्तरीय बनाउन समय-सापेक्ष अभिमुखीकरणको आवश्यकता रहेको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि लोकनाथ आचार्यले नयाँ पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्य प्राप्तिका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि हुनुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा गणित शिक्षा परिषद् गण्डकी प्रदेशका अध्यक्ष वेदप्रसाद शर्मा र परिषद्का सल्लाहकार त्रिभुवन शर्माले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सहभागी शिक्षकका तर्फबाट शान्ति उदय माध्यमिक विद्यालयकी शिक्षिका अनिता पौडेलले अभिमुखीकरणले नयाँ पाठ्यक्रम अनुसार अध्यापन गर्न र प्रश्नपत्र निर्माणमा देखिएका अन्योलता चिर्न ठूलो सहयोग पुर्याएको बताउनुभयो।
चितवन, तनहुँ, पर्वत तथा कास्की
कास्की जिल्लाका विभिन्न विद्यालयका अतिरिक्त गणित अध्यापन गराउने करिब १०० जना शिक्षकहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन परिषद् कास्कीका सचिव ध्रुवराज पौडेलले गर्नुभएको थियो।




