सरकारी अनुमति पर्खिदै काहुँको धर्मकाय बुद्ध मण्डला

२०७२ साल बैशाखदेखि पोखराको काहुँकोटमा धर्मकाय बुद्ध मण्डला बनाउने योजना बनाईयो । योजना अनुसार जग्गाको समस्या समाधान गरियो । व्यक्तिगत जग्गालाई सट्टाभर्ना गर्दै समाधान खोजियो ।

व्यक्तिलाई जग्गाको सट्टा जग्गा नै सट्टाभर्ना गरेरै बुद्ध मण्डलाको लागि व्यवस्थापन गरिएको थियो । मण्डला बनाउन आवश्यक जग्गाको प्रक्रिया टुग्याईसकिएको छ । यद्यपि सरकारबाट भने स्वीकृति पाईनसक्दा कामको गतिले भने फड्को मार्न सकेको छैन् । १४ सय मिटरको उचाईमा रहेको काँहुकोटमा बुद्ध मण्डला बनाउने ध्येय राखिएको हो ।

१० रोपनी क्षेत्रफल छ । सट्टाभर्ना गर्दा झण्डै ७ करोड रुपैयाँ खर्च गरिएको धर्मकाय बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका सचिव राजबहादुर गुरुङले बताए ।

समथर जमिनसँगै बुद्ध मण्डलाको लाग १७० रोपनी क्ष्ोत्रफल समेत उपयोग गर्नुपर्ने देखिन्छ । उपभोग गर्नुपर्ने जग्गा जंगल (बन)क्षेत्र पर्छ । जंगल क्षेत्रको जग्गालाई समितिको नाममा भोगाधिकारको प्रयास भईरहेको छ । ‘बन क्षेत्रको जग्गा भोगाधिकारको लागि सरकारसमक्ष पत्रचार गरिएको छ’ उनले भने–‘सरकारी नियमानुसार भोगाधिकार गरिनेछ ।’

जमिनको रेखांकन भने भईसकेको छ । बुद्ध मण्डला बनाउन विभिन्न व्यक्तिविशेषले भूमीदानको लागि आर्थिक सहयोग जुटाएका थिए । उनका अनुसार बुद्ध मण्डलाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) भने भईनसकेकाले यस्तै बन्ने र लागत यति नै लाग्छ भन्न सकिने अवस्था छैन ।

मण्डला बनाउन आवश्यक जग्गाको प्रक्रिया टुग्याईसकिएको छ । वन क्षेत्रको भोगाधिकार र नागरिक उड्डयन प्राधिकरणको स्वीकृति नहुँदा अन्योल छ ।

१४ सय मिटरको उचाईमा बनाईने बुद्ध प्रतिमासहितको धर्मकाय बुद्ध मण्डलाको लागि आवश्यक सर्भे गरिसकिएको छ । बातावरणीय मूल्यांकन, जमिनको भौगर्भिक अवस्थाको समेत प्राविधिक अध्ययन भैसकेको छ । स्थानीय तहमा सार्वजनिक सुनुवाईसमेत गरिएको उनको भनाई थियो । ८० फिट अग्लो बुद्ध प्रतिमा राख्ने योजना समितिको छ । काहुँकोट हवाई रुट अन्तर्गत पर्छ । हवाई रुट भएकै कारण अग्लो प्रतिमा राख्न स्वीकृति नहुने सम्भावना प्रवल छ ।

यसको उदाहरण पुम्दीकोटस्थित निर्माणाधिन शिव मन्दिर हो । १०८ फिट अग्लो शिवमूर्ति घटाई ५१ फिटमा झारिएको छ । ‘नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृतिका लागि महानगरमार्फत पत्रचार गरेका छौं’ उनले भने–‘प्रतिउत्तर केही आएको छैन ।’ उनका अनुसार स्वीकृतिको लागि झण्डै एकवर्षदेखि प्रक्रियामै छ ।

काठमाडौंस्थित हवाई विभागले स्वीकृति नहुदाँ बुद्धको प्रतिमा कस्तो प्रकृतिको राख्ने अन्यौल नै रहेको उनले बताए । अन्तर्राष्ट्रिय हवाई मापदण्ड अनुसार ५ किलोमिटर क्षेत्रभित्र ठूलो संरचना निर्माण गर्न नपाईने प्रावधान छ । धर्मकाय बुद्ध मण्डलाको थिम ‘पोखरालाई भगवान बुद्धले आर्शिवाद’ हो ।

बुद्ध मण्डला अन्तर्गत इन्ट्रान्स प्लाजा, टुरिष्ट सेन्टर, पेगौडा शैलीको स्तुपा, बुद्धको प्रतिमा, पोखरा कल्चरल स्टेट, ध्यान केन्द्र, ध्यान गर्ने उद्यान लगायतका पूर्वाधार तयार गरिने गुरुयोजना छ ।

धर्मकाय बुद्ध मण्डलाको परिकल्पना भने धर्मगुरु साङ्पा रिम्छोपेको हो । उनले १५ वर्ष अघिदेखि बुद्ध मण्डला बनाउने योजना बनाएका थिए । उनकै पहलमा विदेशमा रहेको नेपालीहरुबाट सहयोग रकमसमेत जुटाइएको थियो । जुटाईएको सहयोग रकमबाट जग्गा सट्टाभर्नादेखि अन्य काम गरिएको थियो । ‘बुद्ध मण्डला बनाउने अभियान शुरु गरिएपछि स्थानीयले ३ रोपनी जग्गा भूमिदान समेत गरेका छन्,’ उनको भनाई थियो ।

पहिला परिकल्पना यशोधरा पार्क थियो । गुरु रिम्छोपेसँगको छलफलपछि धर्मकायबुद्ध मण्डला बनाउने निर्णय गरिएको हो । बुद्ध मण्डला अन्तर्गत इन्ट्रान्स प्लाजा, टुरिष्ट सेन्टर, पेगौडा शैलीको स्तुपा, बुद्धको प्रतिमा, पोखरा कल्चरल स्टेट, ध्यान केन्द्र, ध्यान गर्ने उद्यान लगायतका पूर्वाधार तयार गरिने गुरुयोजना छ । ‘यो दीर्घकालिन योजना हो’ उनले भने–‘त्यसैले पनि प्रक्रियागत रुपमा अगाडि बढ्दा समय लम्बिएको हो ।’

पोखरालाई बुद्ध सर्किटसँग जोड्दै काँहुलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यसहित बुद्ध मण्डलाको योजना अघि सारिएको हो । बुद्ध मण्डला निर्माणले धार्मिक पर्यटनमा नयाँ आयाम थपिने विश्वास समेत लिइएको छ ।

काहुँकोटमा निर्माण गरिने धर्मकाय बुद्ध मण्डलाको परिकल्पना गरिएको डिजाईन ।
तस्बिर– धर्मकाय बुद्ध मण्डाल विकास तथा व्यवस्थापन समिति ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।