सरकार, राजनीतिक पार्टी कि जनता नालायक ?

नेपालि सब्दकोष अनुसार “नालायक” को अर्थ कुनै पनि काम वा पदका निम्ति उपयुक्त नभएको; लायक नभएको, अयोग्य, योग्यता, गुण आदिका दृष्टिले तल्लो श्रेणीको; क्षुद्र, तुच्छ, नीच, अधम हो। के वर्तमान सरकार, सरकारलाई नेतृत्व गर्ने राजनीतिक पार्टी र त्यसको नेतृत्व साच्चै नालायक भएकै हुनु? हामिलाई सासन गर्ने शासक र राजनीतिक नेतृत्वको बारेमा एउटा स्वतन्त्र जनताको आखाले हेर्दा कस्तो देखिन्छ समिक्षा गर्ने बेला भैसकेको छ।

वर्तमान सरकारका कार्यकारी प्रमुख खडग प्रसाद ओली  नेपालि राजनीतिका  आफैमा एक जब्बर राजनीतिक खेलाडि हुन।  प्रचण्ड जस्तो महत्वाकान्क्षि  र चतुर व्यक्तिलाई दाउन सक्ने, प्रतेक दिनको  तारिक लगायर आफ्नो सरकारी निवासमा हाजिरी गराउने, पार्टीको सबै तह र तप्कामा आफु अल्पमत हुदा समेत  प्राईभेट कम्पनीको एकलौटे साहु जस्तै आफ्नो सोच अनुसार खटन-पटन, परिचालन र दान बक्सिस बाड्ने मात्र होईन परि आएमा सिङ्ग थाप्न समेत पछि नहट्ने ज्याद्रो स्वभावका मनुवा हुन्।  तत्कालिन दासढुंगा दुर्घटना छानविन आयोगका  एक सदस्सीय छान-विन कर्ता भै  छानविन गर्दा त पार्टीलाई प्रतिवेदननै नदिएर पन्छाउन सक्ने खुवी त चातुर्यता भएका यिनै ओली हुन्।

अभाव र गरिवीलाई नजिकबाट अनुभव गरेका, सानैमा आमाको मायाबाट बन्चित भएका, अर्काको घरमा हुर्केका,लामो समय बन्दि जीवन त्यो पनि गोलघरमा बिताएका,  कम्युनिष्ट  आदर्श बोकेका ओली त पक्कै नालायक नहुनु पर्ने हो।  आज झन्डै दुई-तिहाईको सरकारको नेतृत्व लिदा यस्ता दुख, सुख भोगेका चलाख, चतुर, बठ्ठ्याई भएको र  मनमोहनदेखि मदन भण्डारी सम्मको संगत गरेका ब्याक्ति कसरि नालायक हुन् सक्दछन?

वाट-पटुता, चातुर्यता र गफ गरेर तोरी फलाउन सफल ओलीलाई  समयले साथ् दिदै जादा गोरुगाडाबाट अमेरिकाको यात्रा सम्भव बनायो।  जनताको सन्तानले अरवको पचास डिग्री तापक्रममा रगत पसिनाको कमाईबाट प्राप्त रेमिटान्स र गरिव किसानले आफ्नो सन्तान जस्तो गरि पालेको बाख्रो बेच्दाको करबाट आफ्नो उपचारमा कति खर्च भयो सम्म जानकारी राख्न नपर्ने बनायो। हुदा हुदा प्रताप मल्ल, जंगबहादुर, जुद्दसम्सेर हुँदै आज रानी पोखरीको आफुले निर्माण गरेको दावी गर्ने अवसर सम्म उनैको पुन्पुरोमा लेखेको रहेछ।

भस्ट्राचारमा सुन्य सहनशीलताको  थेगो बनाउनु भएका कमरेड ओली बालुवाटार प्रकरण देखि ओम्नी, यति, ७० करोड जस्ता कयौ काण्डमा आवाजहरु मात्र होईन जुनसुकै आसयले भनियको भय पनि एउटा भूपु प्रधानमन्त्रीले भस्ट्राचारको आरोप लगाउँदा  छानविन गर्न र असत्य भए मानहानीको मुद्दा चलाउनु पर्नेमा हामि तेत्रो रकम खान सक्दनौ भनेर ढुस बनाई दिन सक्ने मानौ तिनीहरुको पेट ढुस्स भएको छ र आज चिया खान्न भने जसरि उडाईदिञ्छ्न ।

नेपालको संबिधान २०७२ को धारा ३५ (१) ले स्वास्थ्य सम्वन्धित मौलिक हकमा “प्रतेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ शेवा नि:शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ  शेवाबाट बन्चित गरिने छैन”  भन्ने सुनिस्चता र शर्वोच्च अदालतले सोहि अनुसार आदेश दिदा समेत संबैधानिक व्यबस्थाको उलघन गर्दा सरकारको निर्णय चाही बैधानिक  हुने हाम्रो विडम्वना हो। कोरोनाले जनताहरु सडकमा मारिरहेको बेला उता झापामा भने रु  १ अर्ब ५४ करोड  भन्दा बढी रुपैयाँमा भ्यू-टावर निर्माण भैरहेको छ। मानौ नेपालको संबिधानले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका जनताहरुलाई व्यापारिक कम्पेस सहित भ्यू टावर हुनु पर्ने मौलिक हक नै हो। 

कोरोनाको यो महामारीमा समाजवाद उन्मुख यो “कम्युनिस्ट” सरकार साम्सदहरुलाई दसैँ भत्ता बाड्दछ र ब्यापक जन-आवाज पछि भत्ता पचाउन गाह्रो हुने निर्क्योल निकाली ओकल्दा समेत लोक कल्याणकारी भएको देखाउन पछि पर्दैन। सरकारको ढुकुटीमा अर्बौ रुपया संन्चिती हुदा समेत जनताको उपचार गर्ने जिम्मेवारीबाट हात उठायो। जनताहरुको दुखको बेलामा जनतालाई काम नलाग्ने सरकारको के काम? आफ्नो रगत, पसिना र गास कटायर कर तिर्नुको औचित्य के हो? हाम्रो सरकार लायक हो कि नालायक हो आफै अनुमान गर्न सकिन्छ।

मार्क्सवाद, लेलिनवाद कुनै झाक्रीले दिएको बुटी जस्तो भित्र के छ थाहा नहुने तर घाटीमा झुण्डाउने जन्तर बनाएका छन्।

दुई अधक्ष वा पार्टी कमिटिको बैठकमा जनताको कुनै कल्याणकारी योजना वा कार्यक्रम, जनमुखी नीति वा रणनीति, भुई मान्छेको जन-जिविका र बर्गीय हितको कुनै एजेण्डा बन्दैन र छलफलनै हुदैन। पार्टी कमिटीहरु गुटै-गुटको महासंघ जस्तो, नेताहरु प्राय सबै सकुनी जस्ता रास्ट्रिय स्वार्थ होईन आफ्नो व्यक्तिगत लाभको लागि लुछाचुडी, कार्यकर्ता नीति, शिद्दान्त र आदर्श होईन कुन नेताको फेरो समाउदा झ्याप पार्न सकिन्छ  तेही ध्याउन्नमा छन्। मार्क्सवाद, लेलिनवाद कुनै झाक्रीले दिएको बुटी जस्तो भित्र के छ थाहा नहुने तर घाटीमा झुण्डाउने जन्तर बनाएका छन्।  ईमान्दार कार्यकर्ताहरु आफ्नो आदर्श स्खलित हुदा नुन खाएको कुखुरो जस्तो झोक्रायर बस्नु परेको छ।   पार्टी पद्दतिहरु पुरै पंगु बनाईएको छ नेताका आफ्ना आसे पासे  अवसरवादी भूरे-टाकुरेहरुले रजाई चलायका छन्।

सत्ताधारी पार्टीका “कार्यकारी” अधक्ष पुष्प कमलको हालत पनि उस्तै छ । हिजोको जनयुद्दको नेतृत्व आज आएर ओलीको खटन-पटन मात्र होईन ओलीको निर्णयको बोधार्थ पात्र हुन् पुगेका छ्न। लाखौ श्रमजीव जनताका आशाका केन्द्र आज जनता माझ “श्राद्दको सालो र तिहारको ज्वाई” जस्ता भएका छन। नाममा उखु वा मुला भएपनि स्थान अनुसार त्यसको गुणमा हुने अन्तरलाई उखुको टुप्पो र मुलाको फेदमा तुलना गर्न सकिन्छ।  हिजो एउटा आदेशमा जनताको मुक्तिको खातिर आफ्नो ज्यान आहुति गर्न लाखौ लामबद्दहुने पार्टीका सुप्रिमो आज किन लाचार, निरह र ओलीको आदेश तामेली गर्ने कार्यकर्ता हुन् पुगे? शिद्धान्त,आदर्श र वर्गीय धरातल छोड्दाको हालत  के हुन्छ त्यो आज प्रचन्डलाई देख्दा छर्लंग हुन्छ।

प्रमुख प्र्तिपक्षको क्रियाकलाप हेर्दा नेपाली उखान “घरै पिडालु, बनै पिडालु, ससुराली जादा बाह्र हातको पिडालु जस्तो” भान हुन्छ। प्र्तिपक्षका मुखिया दिनभरी बालुवाटरमा संबैधानिक नियुक्तिको बिलोको लागि झोली थापी गनगन गर्दछन र साझ बुढानिलकण्ठको खोपिबाट आन्दोलनको  कुरो  गर्दछन। हामी कति निरह र लाचार भयौ  प्रजातन्त्रको लागि देउपा वा उनको बिकल्पमा रामचन्द्र जस्ता नेताबाट आशा गर्नु पर्ने ।

अतः जनताले फेरि पनि कुकुरको पुछर सोझ्याउन ढुंग्रोमा राख्ने कि युवाको नेतृत्वमा वैकल्पिक शक्तिको निर्माणमा लाग्नेबारे सोच्नु पर्ने बेला भएको छ।

हामीलाई थाहा छ जनताको शक्ति, शक्तिमा भएका ब्याक्तिहरु भन्दा बलवान हुन्छ। शक्तिले जनतालाई भस्ट्र बनाउदैन तर सत्ताशिनहरुले शक्तिलाई भस्ट्र बनाउदछ।  त्यसले जनता शक्तिका श्रोत हुन तर हाम्रो बिडम्वना हामी उडन्ते गफलाई विश्वास गरि समय नपुग्दै गर्भपतन भएका गाईबाट दुधको आशामा थारो गाई पालिरहेका छौ। जनताको सहनशीलता, विश्वास र आशालाई  कमजोरी ठान्ने चटके र फट्केहरुबाट आफुलाई मुक्त गर्न सकेका छैनौ।

जे भने पनि पत्याईदिने, नाङ्गो देख्दा पनि सुन्दर देख्ने हाम्रा दृष्टिकोणको  उपचार गर्नु जरुरि छ। नेपाली जनता नालायक हुदै होईनौ तर आलोचनात्मक चेतको कमि छ।  कति मानिसहरुले अर्को चुनावमा हाम्रो शक्ति देखाई दिने भन्नुहुन्छ तर हाम्रा सत्ता नजिकका राजनीतिक दल र  चुनाव प्रणालिले गर्दा पात्रमा केहि फेर-बदल होला तर प्रवृतिमा साररुपमा झन् प्रतिक्रियावादीहरुको हाली-मुहाली हुने छ।

अत: जनताहरुले फेरि पनि कुकूरको पुछर सोझाउन ढुंग्रोमा  राक्ने कि  युवाको नेतृत्वमा बैकल्पिक शक्तिको निर्माणमा लाग्ने सोच्नु पर्ने बेला भयको छ। हैन भने ईतिहासले जनतालाई पनि नालायक करार गर्ने छ।