पोखरा महानगरको कर अब घरबाटै तिर्न मिल्ने

पोखरा महानगरलाई प्रविधिमैत्री बनाउँदै आगामी वर्षदेखि सबै प्रकारका राजस्व घरबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था गरिने भएको छ । त्यसका लागि आवश्यक बजेट विनियोजन भएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार बजेट प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

नगरसभामा उपप्रमुख गुरुङले आगामी वर्षका लागि सात अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेकी छन् । यसपालि चालु खर्चतर्फ ५५ प्रतिशत र पुँजीगततर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आन्तरिक स्रोततर्फ दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार प्राप्त हुने प्रक्षेपण छ । नगरसभामा उपप्रमुख गुरुङले आन्तरिक आयबाट तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार जुट्ने अनुमान पेश गरेकी छन् ।

चालु वर्ष पोखरा महानगरले आठ अर्ब ३५ करोड १२ लाखको बजेट कार्यान्वयन गरिरहेको छ । अहिलेसम्म चालुतर्फ एकसठ्ठी दशमलव सात प्रतिशत र पुँजीगततर्फ २४ दशमलव दुई प्रतिशत बजेट खर्च भएको छ । यो कुल बजेटको चालिस प्रतिशत हो ।

आन्तरिक आयबाट चार अर्ब ६१ करोड ४० लाख ५४ हजार जुट्ने अनुमान गरिएकोमा अहिलेसम्म दुई अर्ब १२ करोड ३८ लाख अर्थात् ४६ प्रतिशत राजस्व उठेको छ । कमजोर आम्दानीका कारण महानगर योजनाहरुको भुत्तानीसमेत तत्काल दिन नसक्ने अवस्थामा छ ।

आन्तरिक आम्दानी अपेक्षित गर्न नसकेको महानगरले आगामी वर्ष स्थलगत अनुगमन गर्न राजस्व टोली परिचालन गर्ने भएको छ ।