पोखराको मुख्यालय बनाउन २० करोड, न्युरोडमा के बन्ला ?

भाडाको घरमा कार्यपालिका कार्यालय र विभिन्न ठाउँमा शाखा, महाशाखा राखी सेवा सञ्चालन गरिरहेको पोखरा महानगरले आगामी वर्ष प्रशासकीय भवन बनाउन थाल्ने भएको छ ।

महानगरले आफ्नो प्रशासकीय भवन निर्माणका लागि २० करोड बजेट छुट्याएको छ । जेनजी आन्दोलनका बेला ध्वस्त भएको न्युरोडको कार्यालयमा सार्वजनिक निजी साझेदारीमा बहुतले बहुउद्देश्यीय भवन बनाइने भएको छ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार बजेट प्रस्तुत गरेको बजेटमा यस्तो उल्लेख छ । आगामी वर्षका लागि सात अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरिएको हो । पोखरा सभागृह र पोखरा बसपार्क निर्माण पनि आगामी वर्षै थालिने भएको छ ।

महानगरले स्वास्थ्य क्षेत्रमा ४१ करोड ३६ लाख, शिक्षातर्फ एक अर्ब ८५ करोड ६३ लाख छुट्याइएको छ । यस्तै, सामाजिक विकासतर्फ दुई अर्ब नौ करोड ९७ लाख, पूर्वाधार तथा सहरी विकासतर्फ दुई अर्ब ८९ करोड ५५ लाख र वडा कार्यालयतर्फ ७२ लाख ४० हजार बजेट छ ।

बजेटले पर्यटकीय गतिविधिलाई पनि समेटेको छ । विभिन्न मेला, महोत्सवलाई सघाउनेबाहेक महानगरले पर्यटन प्रवर्धनका लागि ६० लाख छुट्याएको छ । महागनरले पोखरा भरतपुर लुम्बिनी ट्रायङ्गल प्रवर्धन गर्ने भएको छ भने लगानी आकर्षण गर्न आगामी वर्ष लगानी सम्मेलनसमेत गर्ने भएको छ । महानगरले छिमेकी पालिकाहरुसँग पर्यटनमा साझेदारी गर्न ८० लाख र पोखरा–१८ मा सारङ्गी पार्क बनाउन ७० लाख बजेट विनियोजन गरेको छ ।