पोखरा । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ फोटो पत्रकारलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा भ्रमणका क्रममा स्वागत तथा बिदाइ गरेका छन्।
पोखरा भ्रमणका क्रममा मेयर आचार्यले बंगलादेशी फोटो पत्रकारहरूलाई खादा, नेपाली टोपी तथा मायाको चिनो प्रदान गर्दै स्वागत गरेका थिए। सो अवसरमा उनले नेपालको पर्यटन राजधानी पोखरा भ्रमणका लागि बंगलादेशबाट आएका वरिष्ठ फोटो पत्रकारहरूलाई स्वागत गर्दै उनीहरूको भ्रमणले नेपाल र बंगलादेशबीचको पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
मेयर आचार्यले पछिल्लो समय बंगलादेशबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै गएको उल्लेख गर्दै पोखरा पनि बंगलादेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको बताए। उनले बंगलादेशका फोटो पत्रकारहरूले आफ्ना सञ्चारमाध्यम, तस्बिर तथा सामाजिक सञ्जालमार्फत पोखरा र नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताए।
पोखराको प्राकृतिक सौन्दर्य, हिमशृंखला, फेवाताल, संस्कृति, कला तथा पर्यटकीय गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन फोटो पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो।
मेयर आचार्यले बंगलादेशबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान सञ्चालन गर्ने विषय छलफल तथा प्रक्रियाको चरणमा रहेको जानकारीसमेत गराए। भुटान एयरलाइन्समार्फत बंगलादेश–पोखरा उडान सञ्चालन गर्ने विषय प्रक्रियामा रहेको जानकारी पाएपछि बंगलादेशी फोटो पत्रकारहरूले खुसी व्यक्त गरेका थिए।

बंगलादेशबाट पोखरासम्म नियमित प्रत्यक्ष हवाई सेवा सञ्चालन हुन सकेमा दुई देशबीचको पर्यटन प्रवद्र्धन थप सहज र प्रभावकारी हुने उनीहरूले बताएका छन्। साथै, अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले समेत पोखरालाई गन्तव्य बनाएर नियमित उडान सञ्चालन गरेमा नेपाल–बंगलादेशबीचको पर्यटन, व्यापार तथा आर्थिक सहकार्य अझ विस्तार हुने उनीहरूको भनाइ थियो।
पोखरा भ्रमणका क्रममा बंगलादेशी फोटो पत्रकारहरूले यहाँको प्राकृतिक सौन्दर्य, पर्यटन, संस्कृति, कला र स्थानीय जीवनशैलीलाई तस्बिरमार्फत अभिलेखीकरण गरेका छन्। उनीहरूले ती तस्बिर तथा सामग्रीमार्फत बंगलादेशमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल र बंगलादेशका फोटो पत्रकारबीच व्यावसायिक सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, सांस्कृतिक सम्बन्ध सुदृढीकरण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एनएफपीजे नेपालको निमन्त्रणामा १२ सदस्यीय टोली नेपाल भ्रमणमा आएको हो।
टोलीको नेपाल भ्रमणले दुई देशका फोटो पत्रकारबीचको सम्बन्ध विस्तारसँगै बंगलादेशी पर्यटकलाई नेपाल, विशेषगरी पोखरा भ्रमणका लागि आकर्षित गर्न समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
भ्रमण सम्पन्न गरी बंगलादेश फर्किन लागेको टोलीलाई पनि मेयर आचार्यले बिदाइ गर्दै आगामी दिनमा नेपाल–बंगलादेशबीच पर्यटन तथा फोटो पत्रकारिताको क्षेत्रमा थप सहकार्य हुने विश्वास व्यक्त गरेका थिए।





