असामान्य मौसममा फेवातालमा डुङ्गा चलाउन निषेध

जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा डुङ्गा दुर्घटना बढेपछि मौसम बिग्रिएका बेला डुङ्गा चलाउन रोक लगाएको छ । प्रशासनले बिहीबार सूचना जारी गरी डुङ्गा, कायाकिङ र सर्फिङ -राफ्टिङ/बोटिङ) सञ्चालन गर्ने व्यवसायी तथा सरोकारवालालाई सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।

तालमा मङ्गलबार पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको थियो भने बुधबार माछा मार्ने क्रममा अर्का युवकको ज्यान गएको थियो । यसअघि पनि हावाहुरीका कारण फेवातालमा फसेका पर्यटकलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र उद्धार टोलीले पटक–पटक उद्धार गर्दै आएका थिए ।

दैनिक जस्तो दिउँसो हावाहुरी, चट्याङ र वर्षा भइरहेकाले विपद्जन्य जोखिम न्यूनीकरणका लागि मौसम असामान्य भएको अवस्थामा सामान्यतया दिउँसो २ बजेपछि सेवा सञ्चालन नगर्न भनिएको छ । सामान्य अवस्थामा पनि साँझ ६ बजेपछि सबै खालका जलपर्यटनका गतिविधि अनिवार्य रुपमा बन्द गर्न प्रशासनको निर्देशन छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रशासनले निरन्तर अनुगमनसमेत गरिरहेको जनाउँदै सूचनाको विपरीत गतिविधि भएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने उल्लेख गरे । प्रशासनको सूचनामा पेशा, व्यवसाय सम्बन्धित निकायहरूमा दर्ता एवम् नवीकरण गर्न, लाइफ ज्याकेट लगाउन भनिएको छ । सेवाग्राहीहरूलाई डुङ्गा, कायाकिङ तथा सर्फिङ चलाउने तरिका, आइपर्न सक्ने समस्या, समस्या निराकरण गर्ने तरिकाबारे पनि जानकारी दिनुपर्ने छ ।

व्यवसायी/सञ्चालकलाई धूमपान, मद्यपान, लागुपदार्थ सेवन नगर्न र सेवाग्राहीले गरेको शङ्का भएमा सेवा उपलब्ध नगराउन भनिएको छ । १६ वर्ष वा सोभन्दा मुनिका बालबालिकालाई अभिभावक बिना वा एक्लै कायाकिङ तथा सर्फिङ गर्न नदिने प्रशासनको निर्देशन छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार जलपर्यटन व्यवसाय सञ्चालन गर्न सम्बन्धित निकायमा दर्ता तथा नवीकरण अनिवार्य गरिएको छ । सेवा लिन आउने सबैलाई अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनुपर्ने छ भने लाइफ ज्याकेटबिना डुङ्गा, कायाकिङ तथा सफिङ सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

प्रशासनले सेवा सुरु गर्नुअघि यात्रुलाई डुङ्गा तथा कायाकिङ सञ्चालनको तरिका, सम्भावित जोखिम, आपत्कालीन अवस्थामा अपनाउनुपर्ने उपाय र असुरक्षित क्षेत्रबारे जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकबिना जलपर्यटन गतिविधिमा सहभागी गराउन नपाइने तथा जोखिमयुक्त क्षेत्रमा कायाकिङ वा सफिङ सञ्चालन गर्न रोक लगाइएको छ ।