गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन्।
एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेपछि मन्त्रीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष भेट गरी राजीनामा बुझाएका हुन्। यसअघि मंगलबार बसेको संसदीय बोर्ड बैठकले मन्त्रीहरूलाई सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डे रहेका छन्।
उनीहरू प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गत वैशाख २ गते मन्त्री नियुक्त भएका थिए। पछिल्लो राजनीतिक तथा सत्ता समीकरणमा आएको परिवर्तनसँगै कांग्रेस नेतृत्वको गण्डकी सरकारबाट एमाले बाहिरिएको हो।
हाल गण्डकी प्रदेशमा नेकपा एमाले र नेकपा नेतृत्वको नयाँ सत्ता समीकरण बनेको छ। सत्ता गठबन्धन परिवर्तनसँगै प्रदेश सरकारमा पनि मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढ्ने देखिएको छ।




