रसुवा, नुवाकोट र धादिङको तटीय क्षेत्रमा ठूलो क्षति
बुधबार विहान करिब ९ बजे देखि रसुवामा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङको तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । तिब्बती क्षेत्रबाट आएको बाढीले सुरुमा रसुवाको टिमुरे क्षेत्र पुरै तहनहस पारेको छ । त्यहाँ टिमुरे भन्सार देखि प्रहरी लगायत सरकारी कार्यालयहरुमा क्षति पुगेको छ ।
टिमुरेमा बगाए पाँच सय गाडी
टिमुरे भन्सारमा राखिएका करिब पाँच सय वटा गाडी बगाएका छन् । भोटेकोशीमा आएको बाढीले सात वटा जलबिद्युत आयोजनामा क्षति पु¥याएको विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रसुवा गढी, चिलिमे, त्रिशुली ३ ए, त्रिशुली ३ बि हब २२० केभी सबस्टेशन, त्रिशुली तथा देविघाट जलविद्युत केन्द्रक संरचनामा क्षति पुगेको छ ।
बाढीले त्रिशुली बजार क्षेत्रका ६० भन्दा बढी घर बगाएको प्रारम्भीक जानकारीमा आएको छ । रसुवाको बाढी नुवाकोट पुग्दा बेत्रावती बजार पूर्ण रुपमा बगाएको छ । बाढीले घरहरु पूर्ण रुपमा बगाएका छन् । भौतिक क्षति देखिए पनि मानवीय क्षतीको विवरण आइसकेको छैन । यता धादिङको गल्छी र गजुरी क्षेत्रमा पनि बाढीले क्षति पु¥याएको छ । धादिङ जोड्ने पक्की अधिकांश पूलहरु बगाएको छ ।
विपद् व्यवस्थापन परिषद् वैठक बस्यो
बाढीले वितण्डा मच्चाएपछि प्रधानमन्त्री बालेन्द्र शाहले विपद् व्यवस्थापन परिषद्को बैठक बोलाएका थिए । बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन गरेर सुरुमा खोज तथा उद्दारमा जुट्न निर्देशन दिएका छन् । बाढी प्रभावितको खोज तथा उद्दारका लागि सेनाका समेत गरी सात वटा हेलिकप्टर परिचालन गरिएको छ ।
बाढीले रसुवामा सुरक्षा निकायका कार्यालयहरुमा क्षति मात्रै पु¥याएन, हालसम्म नेपाल प्रहरीका ४९ जना र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी सम्पर्क विहीन भएका छन् ।
तटीय क्षेत्रमा नबस्न अनुरोध
सरकारले बाढीबाट जोगिन रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखामा नदी तथा तटीय क्षेत्रमा बस्ने सर्वधारणलाई सुरक्षित स्थानमा बस्न सर्वसाधरणलाई अनुरोध गरेको छ ।
गृहमन्त्री सुधन गुरुङले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक, मुग्लीन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन सबैलाई अनुरोध गरेका छन् । गृह मन्त्रालयले खोज तथा उद्दार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ ।
टेलिकमका ७ वटा टावरमा क्षति
नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट क्षेत्रमा टेलिकमका सात वटा टावरमा क्षति पुगेको छ । टेलिकमका अनुसार रसुवाका दुई वटा र नुवाकोटका पाँच वटा टावरमा क्षति पुगेको हो । बाढीले टावरहरू मात्र नभई गल्छीदेखि रसुवागढीसम्मको अप्टिकल फाइबरमा पनि क्षति पु¥याएको छ।
सञ्चार सेवा पूर्ण रूपमा ठप्प हुन नदिन टेलिकमले वैकल्पिक प्रविधिको प्रयोग गरिरहेको जानकारी दिएको छ। हाल त्रिशुलीसम्म फाइबर सेवा सुचारु रहेको र सोभन्दा माथिल्लो क्षेत्रमा माइक्रोवेभ रेडियो प्रविधिमार्फत नेटवर्क सुचारु राख्ने प्रयास भइरहेको छ। विद्युत आपूर्ति बन्द भएका कारण केही साइटहरू चल्न सकेका छैनन् ।




