बा, लाई लेखिएको एउटा अधुरो पत्र!

प्रिय बा,

तिम्रो नामसँगै मेरो परिचय जोडियो।
तिम्रो रगतसँगै मैले यो संसारमा आँखा खोलेँ।
तर बा, एउटा प्रश्न आजसम्म मेरो मनको कुनै कुनामा चुपचाप रोइरहेको छ—

मलाई यो धर्तीमा ल्याएपछि,
मेरो सानो हात समाएर
‘ताते–ताते’ गर्दै हिँडाउन
तिमी किन आएनौ?

म हिँड्न सिक्दै थिएँ होला,
लड्दै थिएँ होला,
रुँदै थिएँ होला।
त्यो बेला मलाई उठाउने तिम्रा हातहरू कहाँ थिए बा?

खेल्ने उमेरमा
अरू बालबालिकाहरू आफ्ना बाबुको औँला समाएर
संसारको पहिलो बाटो हिँडिरहेका थिए।
म भने,
‘बा’ भन्दै रुँदै
तिम्रो अनुहार खोजिरहेको थिएँ।

तर तिमी आएनौ।

कहिलेकाहीँ लाग्छ—
यदि मेरो बालापनमा तिमी उपस्थित हुन सक्दैनथ्यौ भने,
मलाई जन्म दिने निर्णय नै किन गर्यौ बा?

यो प्रश्न तिमीलाई दोष दिनका लागि होइन।
सायद यो प्रश्न तिमीसँग भन्दा पनि
मेरो आफ्नै भाग्यसँग हो।

मलाई याद छैन—
तिम्रो काख कस्तो थियो,
तिम्रो अँगालो कति न्यानो थियो,
तिम्रो आवाजमा मेरो नाम कस्तो सुनिन्थ्यो।

किनकि मैले
यी सबै कुरा महसुस गर्न पाइनँ।

मेरी आमा थिइन्—
एक्ली।
घरको मेलापात,
गाई–बस्तु,
चुलो–चौको,
पिठो–मकै,
घरायसी जिम्मेवारी
र जीवनका अनगिन्ती बोझहरू बोक्दै
उनी दिन–रात व्यस्त रहन्थिन्।

र म—
तिम्रो प्रतीक्षामा
दिन गन्थेँ।

सायद म रोएको थिएँ होला।
सायद तिमीलाई खोजेको थिएँ होला।
सायद तिम्रो नाम लिएर
आमाको काखमा निदाएको थिएँ होला।

तर बा,
मेरो त्यो बालसुलभ रुवाइको प्रतिध्वनि
तिम्रो कानसम्म किन पुगेन?

मलाई थाहा छैन।

बालापन त
एक्ली आमाको छायामा बित्यो।
तर अचम्म के छ भने—
समयले मलाई ठूलो बनायो,
जवान बनायो,
तर तिम्रो अभाव भने
मेरो उमेरसँगै सानो भएन।

बरु,
जति ठूलो हुँदै गएँ,
उति नै गहिरो गरी
तिम्रो अनुपस्थितिलाई बुझ्न थालेँ।

पहिले लाग्थ्यो—
बा भनेको
घरमा हुने एउटा मान्छे हो।

आज बुझ्दै छु—
बा भनेको
सन्तानको डरभन्दा अगाडि उभिने छाती रहेछ,
लड्दा उठाउने हात रहेछ,
हार्दा ‘म छु’ भन्ने आवाज रहेछ,
र संसारले छोड्दा पनि
नछोड्ने एउटा अटल भरोसा रहेछ।

तर बा,
यी सबै कुरा मैले
तिमीबाट होइन,
तिम्रो अभावबाट सिकेँ।

आज म पनि
एउटा सन्तानको बाबु भइसकेको छु।

जब मेरो बच्चाले
मेरो औँला समाउँछ,
जब ऊ डराएर
मेरो काख खोज्छ,
जब उसको आँखाबाट
एउटा आँसु झर्छ—

त्यो बेला
मभित्रको एउटा सानो बालक
फेरि जाग्छ।

त्यो बालक,
जो कहिल्यै तिम्रो औँला समाएर
‘ताते–ताते’ गर्दै हिँड्न पाएन।

त्यो बालक,
जो ‘बा’ भन्दै रोयो,
तर बाबुको काखमा
आफ्नो आँसु पुछ्न पाएन।

त्यो बालक,
जो आज पनि
कहिलेकाहीँ तिमीलाई खोज्छ।

बा,
अब म बुझ्छु—
सन्तानको माया के हो।
उसको सानो मुस्कानले
कसरी थाकेको दिनलाई उज्यालो बनाउँछ।
उसको सानो पीडाले
कसरी बाबुको मुटु चिरिन्छ।

त्यसैले,
म तिमी जस्तो हुन सकिनँ।

आफ्नो सन्तानलाई
माया गर्न मन नलाग्ने
बाबु बन्न सकिनँ।

सायद तिम्रा आफ्नै बाध्यता थिए होलान्।
सायद जीवनले तिमीलाई पनि
कुनै नदेखिने घाउहरू दिएको थियो होला।
सायद तिमीभित्र पनि
कुनै यस्तो पीडा थियो,
जसको कथा हामीले कहिल्यै सुन्न पाएनौँ।

तर बा,
तिमी एक्ला थिएनौ।

तिम्रो साथमा
मेरी आमा थिइन्।
म थिएँ।
मेरा दुई दिदीहरू थिए।

हामी तिम्रा आफ्नै थियौँ।

त्यसैले आज पनि
मेरो मनले बुझ्न सक्दैन—
कुन त्यस्तो अँध्यारो थियो,
जसले तिमीलाई
हामी सबैलाई पछाडि छोडेर
एकान्तको बाटो रोज्न बाध्य बनायो?

तिमीले हामीलाई छोड्यौ।
तर हामीले तिमीलाई
पूर्ण रूपमा छोड्न सकेनौँ।

सायद यही नै
रगतको सम्बन्धको सबैभन्दा ठूलो विडम्बना हो—
मान्छेले गहिरो चोट दिन सक्छ,
तर मनले उसलाई
पूर्ण रूपमा पराइ बनाउन सक्दैन।

आज पनि मलाई थाहा छैन—
तिमी कहाँ छौ।
कस्तो अवस्थामा छौ।
कसरी दिन काटिरहेका छौ।

तर बा,
तिम्रो बारेमा सोच्दा
मेरो मनमा गुनासोभन्दा पहिले
एउटा प्रार्थना आउँछ।

म भगवानसँग
आज पनि यही माग्छु—

तिमी जहाँ भए पनि,
सुखी रहनू।
तिमीलाई कुनै ठूलो दुःख नपरोस्।
रोगले थला पारेर
एक्लै पीडा सहनु नपरोस्।
बिहान–बेलुका
तिमीले मिठो खाना खान पाऊ।
तिम्रो जीवनमा
शान्ति रहोस्।

सायद तिमीले
मलाई बाबुको माया दिन सकेनौ।

सायद तिमीले
मेरो बालापनमा
आफ्नो उपस्थिति लेख्न सकेनौ।

तर बा,
म तिम्रो छोरो हुँ।

र छोरो हुनुको सम्बन्ध
सधैँ अधिकारले मात्र बनेको हुँदैन रहेछ—
कहिलेकाहीँ
अभावले पनि सम्बन्धलाई
अझ गहिरो बनाउँदो रहेछ।

मलाई थाहा छैन
पूर्वजन्ममा मैले
के पाप गरेको थिएँ।

तर यदि भाग्यमा
यही पीडा लेखिएको थियो भने,
सायद मैले त्यो भोग्नैपर्ने रहेछ।

भनिन्छ—
भाग्यमा लेखिएको कुरा
मान्छेले टार्न सक्दैन,
केवल त्यसलाई भोग्ने समय
चाँडो वा ढिलो हुन सक्छ।

तर बा,
मेरो भाग्यमा
तिम्रो काख लेखिएको थिएन होला,
तिम्रो अँगालो लेखिएको थिएन होला,
तिम्रो हात समाएर
हिँड्ने सौभाग्य लेखिएको थिएन होला।

तर मेरो प्रार्थनामा
तिमी आज पनि छौ।

गुनासोको बीचमा पनि छौ।
आँसुको बीचमा पनि छौ।
सम्झनाको बीचमा पनि छौ।

र सायद—
मेरो मनको सबैभन्दा गहिरो कुनामा पनि छौ।

बा, तिमी जहाँ भए पनि,
सुखी रहनू।

तिमीले मलाई
बाबुको माया दिन सकेनौ—
तर म,
तिम्रो छोरो भएर पनि,
तिम्रो लागि
माया र प्रार्थना गर्न
कहिल्यै छोड्ने छैन
प्रीय बा!