नेपालको जनसांख्यिक संक्रमणको अवस्था, उपलब्धि र चुनौतीहरु

भूमिका

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले बिश्वको जनसंख्या पाँच अरब पुगेको उपलक्ष्यमा जुलाई ११ सन १९८७ देखि हरेक बर्ष विश्व जनसंख्या दिवसको रूपमा मनाउदै आइरहेको छ। विश्वब्यापी रूपमा मनाइने यो दिवस बिश्व जनसंख्या र त्यससम्बन्धी उपलब्धि, चुनौती र समाधान सम्बन्धी विषयवस्तुहरूलाई हरेक राष्ट्रले आफ्ना बिकाश कार्यक्रमसंग जोडेर समाधान गर्दै सहशताब्दी बिकास एवं दिगो (२०३०) बिकासका लक्ष्यहरु पुरा गराउनको लागि ध्यानाकर्षण गराउने गर्दछ। यस बर्ष अर्थात सन् २०२६ को विश्व जनसंख्या दिवसको उपलक्ष्यका लागि युएनएफपिएले “युवाहरूको आशा र आकांक्षा परिपूर्ति गर्दै—आज र भविष्यका लागि” (Realizing the hopes and aspirations of young people-today and for the future) विषयलाई नाराको रूपमा तय गरेको छ, जसले युवा जनसंख्याको प्रजनन्, बिकाश साझेदारी, उत्पादन र गुणस्तरीय जीवन सम्बन्धी आकांक्षा र आवश्यक कार्यक्रमहरुलाई समेटेर बिश्वका हरेक देशले आ-आफ्नो नीति-निर्माण र त्यसको कार्यनयन गर्न जोड दिएको छ।

बिकासको क्रम संगस्ंगै जनसंख्यामा संक्रमण आउने सिद्धान्त अनुरुप जनसंख्या वृद्धिमा सकारात्मक (न्यून जन्मदर, औसत आयुमा वृद्धि) परिवर्तन आउँदा पछिल्लो समयमा कुल जनसंख्यामा युवाहरुको बाहुल्यता रहेको र द्रुत जनसांख्यिक संक्रमणको चरणमा रहेका नेपाल लगायत बिश्वका अधिकांश बिकासोन्मुख देशहरूका लागि यो विषय विशेष सान्दर्भिक पनि छ।
नेपालको जनसांख्यिक अभिलेख, संरचना र संक्रमण विगत देखि भएको भएपनी संक्रमणको सुरुवात (१९८१-२०२१) पाँच दशकयता देखि सुरु भएको मानिन्छ। सन् १९८१ अगाडि जन्मदर र मृत्युदर उच्च रहेको नेपाली जनसंख्या २०८१ देखि जनसंख्यिक रूपान्तरणको प्रक्रियाबाट गुज्रिदै अहिले न्यून प्रजनन्, बढ्दो औसत आयु र वृद्ध जनसंख्याको अनुपात बढ्दै संक्रमणकालीन अवस्था (२०२६) मा आइपुगेको छ।

नेपालको जनसंख्याका क्षेत्रमा रहेका विगत देखि वर्तमानसम्म भएका सकारात्मक परिवर्तनहरू, विद्यमान चुनौतीहरू र ती चुनौतीहरुको समाधान गर्न नेपालले कायरो सम्मेलन(१९९४), सुरक्षित मातृत्व, प्रजनन अधिकार, सहस्राब्दी विकास लक्ष्य (२०००-२०१७), नेपालको सोह्रौं योजना र दिगो विकासका लक्ष्य (२०१७-२०३०) रणनीतिहरु माथीको प्रतिबद्धता एवं कार्यनयन र सामाजिक आर्थिक र बिकासका कार्यक्रमहरुमा नागरिकको सहभागिता, मानव अधिकार, महिला सशक्तीकरण एवं स्वास्थ सेवामा आएको बिकास र पहुँच आदिका कारण नेपाली जनसंख्याले एक चरणको संक्रमण पार गरेको हो भन्ने आधार तय गर्दछ।

नेपालको जनसांख्यिक संक्रमणको अवस्था
सन् २०२१ को जनगणना अनुसार नेपालको कुल जनसंख्या २,९१,६४,५७८ भने हाल यो संख्या २.९६, करोड रहेको अनुमान गरिएको छ। जुन सन् २०११ को जनगणना भन्दा आकारमा १०.१८ प्रतिशतले बढी हो। सन् १९४१ देखि २००१ सम्मको अवधिमा नेपालको वार्षिक जनसंख्या वृद्धिदर औसतमा २.२५ प्रतिशतको हाराहारीमा रहेको थियो, सन् २०११ मा वार्षिक वृद्धिदर १.३५ % बाट ०.९३ प्रतिशतमा झरेको छ। यो विगत ८० वर्षकै न्यून वृद्धिदर हो। जसको प्रमुख कारण उच्च प्रजनन दर र क्रमशः घट्दै गएको मृत्युदरको संयुक्त परिणाम हो।

यस अवधिमा कुल प्रजनन् दरमा समेत उल्लेखनीय कमि आएको देखिन्छ। सन् १९९१ सम्म कुल जनसंख्यामा सबैभन्दा बढी जनसंख्या पाँच बर्ष भन्दा तलका बालबालिकाहरुको संख्या उच्च रहेकोमा प्रजनन अधिकार एवं मातृ-शिशु स्वास्थ सेवामा सुधार एवं सहज पहुँचको कारण सन् २००१ देखि (सन् २००२ मा गर्भपतनले कानुनी मान्यता पाएपछि) कुल प्रजनन दर र कोरा जन्मदरमा समेत उल्लेखनीय कमि आउन सुरु गरेको छ। सन १९९१ मा औसत ५.३ बच्चा कायम रहेको कुल प्रजनन् दर सन् २०२१ मा आइपुग्दा घटेर २.१. बच्चा प्रति महिला रहेको छ भने २०२६ मा यो दर १.८ बच्चा रहेको world population prospect को अनुमान छ जुन प्रतिस्थापन स्तर (अन्दाजी २.१) भन्दा पनि कम हो।

कोरा जन्मदर तर्फ सन २०७१ मा प्रतिहजार जनसंख्यामा २०.१ मृत्यु हुने गरेकोमा यो दर सन् २०२१ सम्म आइपुग्दा ६.५ रहेको देखिन्छ! जसको फलस्वरूप नेपाल “उच्च प्रजनन् मुलुक” बाट “न्यून प्रजनन्” मुलुकमा संक्रमणको चरणमा प्रवेश गरिसकेको संकेत गर्छ। जन्मदरमा आएको सकारात्मक परिवर्तनको कारण परिवारको औसत आकारमा समेत (सन् २०११ को ४.८८ बाट घटेर सन् २०२१ मा ४.३३ प्रतिपरिवार) परिवर्तन आइसकेको छ।

जनसंख्या (संक्रमण पछि) का सकारात्मक उपलब्धि/परिवर्तनहरू
१. जनसांख्यिक (प्रजनन् र मृत्युदर) संक्रमण
१९५० को प्रजातन्त्रको प्राप्ति पछि नेपाल आधुनिक बिकाशमा अगाडि बढ्ने क्रममा नेपालको जनसंख्याले बिकाश प्रक्रियामा पारेको अवरोधलाई कम गरि नेपाली जनसंख्याको जिबनस्तर अभिवृद्धि गर्ने उदेश्यका साथ पहिलो पन्चबर्षिय योजना देखि सोर्‍हौ आवधिक योजना सम्म नेपाली जनसंख्या सम्बन्धि नीति, योजना र कार्यक्रमहरु तर्जुमा गरिदै आइएको छ भने उक्त समयमा विभिन्न दीर्घकालीन निति, कायरो सम्मेलनले पारित गरेका बिषयहरु, सहस्राब्दी विकास (२०००–२०१५) लक्ष्य, दिगो बिकाशका निति, रणनीति एवं योजना र कार्यक्रमहरु मार्फत मातृ एवं शिशु मृत्युदरको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै उच्च जन्मदर र उच्च मृत्युदर भएको राष्ट्रबाट न्यून मृत्युदर र प्रतिस्थापनको तहको जन्मदरमा आफुलाई परिवर्तन गरेको छ। खोप कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, र सामुदायिक स्वास्थ्य सेवाको विस्तार र सहज पहुँचको प्रत्यक्ष परिणाम हो।

२. औसत आयु र वृद्ध जनसंख्यामा वृद्धि
स्वास्थ्य सेवामा पहुँच विस्तार, गुणस्तरीय स्वास्थ सेवामा आएको सुधार, खोप सेवा, पोषणको तहमा सुधार, ब्यक्तिगत-सार्वजनिक क्षेत्रको सरसफाइ र स्तरोन्नति एवं शिशु तथा बाल मृत्युको उच्च कमिका कारण नेपालीहरूको औसत आयुमा समेत उल्लेख्य वृद्धि आइरहेको छ। जसको कारण जनसंख्याको उमेरगत संरचनामा समेत परिवर्तन आई वृद्ध सुचांकमा समेत वृद्धि देखिएको छ। यसले गर्दा वृद्ध जनसंख्याको वृद्धिदर राष्ट्रिय जनसंख्याको वृद्धिदर भन्दा उच्च रहेको छ। यसरी वृद्ध जनसंख्याको अनुपात प्रवृत्ति एकातिर उपलब्धि हो भने अर्कोतिर उनीहरुको ब्यबस्थापनको लागि नयाँ चुनौती पनि हो।

३. जनसांख्यिक लाभांश (Demographic Dividend) को सम्भावना
सन् १९९१ को जनगणना अनुसार आर्थिक रूपले सक्षम उमेर (१५-५९) समूह (कार्यसक्षम जनसंख्या) को कुल जनसंख्या ५१.८% रहेको मा यो संख्या सन् २०२१ मा आइपुग्दा कुल जनसंख्याको लगभग दुई तिहाइ (६२%) हिस्सा ओगटेको छ। यस्तो आर्थिक रूपमा सक्षम जनसंख्या सबै देशमा सधै प्राप्त हुदैन। यसको समुचित उपयोग गरि नेपालले उत्पादन, बचत र लगानीमा वृद्धि गर्ने सम्भावना खुला गरेको छ। यो अवसरलाई शिक्षा, सीप विकास र रोजगारीका अवसरसँग जोड्न सकिएमा नेपालले “जनसांख्यिक लाभांश” प्राप्त गर्ने अवसर रहन्छ। समय (करिब ३५-४० बर्ष) रहदै “जनसांख्यिक लाभांश” उपयोग गर्न सकिएन भने नेपाल आर्थिक रूपमा सम्पन्न नहुदै वृद्धहरुको देश हुनेछ।

४. अल्पविकसित राष्ट्रबाट विकासशील मुलुकमा स्तरोन्नत
नेपालले प्रतिबद्धता जनाएका दिगो बिकाशका विभिन्न पक्षहरु (सामाजिक-आर्थिक एवं जनसांख्यिक) को प्रतिबद्धता र त्यसको उपलब्धिहरुको आधारमा सन् २०२६ मा अति कम विकसित मुलुक बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछ, जुन जनसांख्यिक तथा सामाजिक-आर्थिक सूचकहरूमा भएको संक्रमणहरुको सुधारकै प्रतिफल हो। यसले नेपालको विकासस्तर र बिकासका विभिन्न यात्रा निर्धारणमा एउटा कोसेढुंगा हुनेछ।

जनसांख्यिक संक्रमणका चुनौतीहरू
१. वृद्ध हुँदै गएको जनसंख्या संरचना (Population Ageing)
सामाजिक-आर्थिक बिकास एवं स्वास्थ सेवा सुबिधामा आएको उल्लेखनीय सुधारको कारण नेपालको कोरा जन्मदर (१८/१०००) एवं कोरा मृत्युदर (६.५/१०००) उच्च रूपमा घट्दै गएको देखिन्छ (२०२६) जसको उपलब्धि मानिसहरूको औसत आयु (७१.४ बर्ष) रहेको छ। औसत उमेरमा आएको वृद्धिले ६० वर्ष माथिका वृद्धिको अनुपात क्रमशः बढ्दै गएको छ। हालसम्म त आर्थिक रूपले सक्षम (१५-५९) जनसंख्याको अनुपात उच्च रहेको भए तापनि आगामी दशकहरूमा यो “जनसांख्यिक झ्याल” (demographic window) बन्द हुँदै (लगभग ४० बर्षपछी) जाने प्रक्षेपण छ। यो समुहको जनसंख्या आश्रति समेत हुने हुँदा यसले आगामी दिनहरुमा सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र दीर्घकालीन स्याहार प्रणालीमा राज्यलाई थप वित्तीय दबाब समेत सिर्जना गर्नेछ।

२. वैदेशिक रोजगार र वैदेशिक बसाइँसराइ
सन् २००१ को जनगणना अनुसार कुल जनसंख्याको ३.३% वैदेशिक रोजगारी र स्थायी बसोबास गर्ने गरि देश बाहिर रहेकोमा यो संख्या सन् २०२१ को तुलनामा उल्लेख्य वृद्धि (७.५%) भई करिब २१ लाख ९० हजार पुगेको छ। बर्सेनि दुई लाखभन्दा बढीले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने गरेका वैदेशिक रोजगार महाशाखाको तथ्यांकले देखाएको छ। यसले एकातिर रेमिट्यान्स मार्फत कुल गार्हस्थ्य उत्पादनको झन्डै ३० प्रतिशत हिस्सा योगदान गरे त गरेको छ तर अर्कोतिर उत्पादनशील उमेर समूहको जनशक्ति बिदेशीनु, देशभित्र श्रमशक्तिको अभाव, पारिवारिक एक्लोपनमा वृद्धि, विछोड एवं विखण्डनको समस्या, बौद्धिक पलायन, र पारिवारिक विखण्डन जस्ता सामाजिक-आर्थिक एवं मनो-सामाजिक समस्या सिर्जना गरेको छ। वैदेशिक रोजगारी र वैदेशिक स्थायी बसोबास अन्तर्गत लैङ्गिक संरचनाको दरलाई हेर्दा महिला वैदेशिक बसाइँसराइ र रोजगारीको दर पनि विगत जनगणनाको तुलनामा ७१ प्रतिशतले वृद्धि भएको तथ्यांकले यस विषयको जटिलतालाई थप गहिरो बनाएको छ।

३. बसोबास स्थान र असन्तुलित शहरीकरण
श्रोत र जनसंख्या बिचको असमान वितरण, बिकास पुर्वाधार, भौतिक एवं प्राकृतिक श्रोतहरुको वितरण र पहुँचमा असमानता, माओवादी जनयुद्ध, भौतिक एवं सामाजिक-आर्थिक असुरक्षाका कारण हिमाली र पहाडी क्षेत्रबाट तराईका समथल भु-भाग र देशका मुख्य-मुख्य उपत्यकाहरुमा जनघनत्व उच्च रूपमा बढी रहेको छ जसको कारण भौतिक बिकास र मानव बिकास सूचकांक न्यून भएका जिल्लाहरूमा जनसंख्या स्थिर वा ऋणात्मक वृद्धिदरमा गइरहेको देखिन्छ। यसले पूर्वाधार, आवास, यातायात र वातावरणीय व्यवस्थापनमा गम्भीर चुनौती खडा गरेको छ, साथै ग्रामीण क्षेत्रमा कृषि श्रमशक्तिको अभावको कारण कृषि उत्पादनमा कमि र जमीनको बाँझोपन सम्बन्धि समस्या पनि निम्त्याएको छ।

४. लैंगिक असमानता र प्रजनन् स्वास्थ्य अधिकार
प्रजनन स्वास्थ, सुरक्षित मातृत्व, महिलाहरूको प्रजनन् तथा यौन स्वास्थ्य अधिकारमा सहज पहुँच अझै पूर्ण छैन। किशोरी विवाह, किशोरी गर्भावस्था, र परिवार नियोजन, अनइच्छुक गर्भको पतन लगायत महिला अधिकार सम्बन्धि सेवामा (दुर्गम क्षेत्रका) महिलाहरूको सीमित पहुँच जस्ता समस्याहरू हालसम्म पनि विद्यमान छन्। लैंगिक सशक्तीकरण सूचकांकमा केहि सकारात्मक सुधार भए तापनि लक्ष्य अनुरूप अझैसम्म प्रगति हुन सकेको छैन।

५. गरिबी, बहुआयामिक विपन्नता र क्षेत्रीय असमानता
नेपाल गुणस्तर सर्भेक्षण २०१०/११को प्रतिबेदन अनुसार नेपालमा बहुआयामिक (सापेक्षित+ निरपेक्ष) गरिबी (२५.१६%) रहेकोमा सन् २०२२/२३ मा आइपुग्दा यसमा केहि सुधार आई २०.२७% समग्र गरीबीबाट प्रभावित रहेको देखाएको छ, यस्तो दर पनि विशेष गरी कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका दुर्गम क्षेत्रमा तुलनात्मक रूपमा उच्च रहेको देखाएको छ। गरीबीको यस्तो अवस्थाले बिकास पुर्वाधार, स्वास्थ्य, शिक्षा र आर्थिक अवसरमा रहेको क्षेत्रीय असमानतालाई प्रष्ट गरेको छ।

६. विपद् जोखिम र जनसांख्यिक जोखिम
नेपालको भौगोलिक स्वरुप र बनावट यस्तो रहेको छ कि विभिन्न प्राकृतिक (भूकम्प, बाढी, पहिरो लगायत अन्य) प्रकोपको हिसाबले अत्यन्त संवेदनशील मुलुकको रूपमा लिने गरिन्छ। कमजोर भुस्वरुप, उच्च गरिबी, न्यून सतर्कता एवं विपद पुर्वको तयारी र कमजोर ब्यबस्थापनको कारण बार्षिक रूपमा ठुलो मानवीय एवं भौतिक र आर्थिक क्षति व्यहोर्दै आइरहेको छ। प्रकोपको कारण हरेक बर्ष ठुलो संख्यामा मानिस विस्थापित हुँदा अव्यवस्थित बसोबास, तीब्र बसाइँसराइ, सामाजिक अपराध, शहरी गरिवीमा समेत वृद्धि हुन जादा जनसांख्यिक व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणको अन्तरसम्बन्धलाई उजागर गरेको छ।

७. तथ्यांकीय प्रणालीको कमजोर ब्यबस्थापन
पञ्जीकरण दर्ता प्रणाली, स्वास्थ्य सूचना प्रणाली, सेवागत तथ्यांक एवं प्रशासनिक तथ्यांकहरुको लगत संकलनमा समस्या छ एकातिर भने संकलित तथ्यांकको गुणस्तर, भन्डारण र उपयोग लगायत समय सापेक्ष अझै सुधारको खाँचो रहेको छ, स्तरीय तथ्यांकमा आधारित नीति निर्माण, कार्यक्रम र त्यसको कार्यनयन एवं अनुगमन कार्य समेत कठिन बनाइरहेको छ।

निष्कर्ष
पुर्ण रूपमा जनसांख्यिक संक्रमण नभैसकेपनी नेपालले छोटो समय (१९८०-२०२६) मै आफ्नो सामाजिक-आर्थिक एवं पुर्वाधार बिकासमा गरेको लगानीले समग्रमा सामाजिक सूचकहरुमा सकारात्मक परिवर्तनको संकेत देखिए पनी यो पुर्ण छैन। जिबनस्तरमा केहि सुधार देखिए पनि श्रोत र साधनहरुको अभाव, वितरणमा असमानता र सहज पहुँचको अभावमा अपेक्षाकृत गरिबी न्यूनीकरण, उत्पादनशील रोजगारी, कृषि आधुनिकीकरण र आर्थिक आत्मनिर्भरताको क्षेत्रमा अझै गम्भीर चुनौतीहरू रहेका छन्।

जनसंख्याको उमेरगत संरचनामा आएको संक्रमणका कारण देशको जिडिपीमा कृषि क्षेत्र (जमिनको खण्डिकरण, सिचाइ, मल, बीउ, लागत, बजार अभाव) को योगदान घट्दोदरमा छ भने सेवाका क्षेत्रहरुको योगदान बढ्दै जादा देशको अर्थतन्त्र समेत उत्पादनमुखीबाट आयात/सेवामुखीमा परिवर्तित हुँदा रोजगारीको क्षेत्रमा समेत संकुचन आएर सकृय जनसंख्या सबैलाई रोजगारी (११.४% बेरोजगारी दर) दिन चुनौती बढेको छ।

दैनिक जिबनलाई आवश्यक पर्ने भौतिक सेवा सुबिधामा पहुँच विस्तार हुँदै जादा सामाजिक जीवनस्तरका सूचकहरुमा प्रगति भएको देखिए तापनि गरिबी न्यूनीकरण, उत्पादनशील रोजगारी, कृषिमा यान्त्रिकरण एवं आधुनिकीकरण र आर्थिक आत्मनिर्भरताको क्षेत्रमा अझै चुनौतीहरू रहेका छन्। यसको लागि नेपालले स्थायी सरकार, पारदर्शिता एवं सुशासन मार्फत सिमित र उपलब्ध श्रोतहरुलाई “आवश्यकताका आधारमा निति र नतिजामुखी ब्यबस्थापन” नितिको आधारमा लक्षित उपलब्धिहरु हासिल गर्नुपर्ने हुन्छ ।

सन्दर्भ सामग्री
Central Bureau of Statistics / National Statistics Office, Nepal. National Population and Housing Census 2021 (2078 BS): National Report. Kathmandu: Government of Nepal.
National Statistics Office, Nepal. Census 2021 Results—Fertility. https://censusnepal.cbs.gov.np/results/fertility
UNFPA Nepal. 2021 Nepal Population and Housing Census Support Project. https://nepal.unfpa.org
UNFPA Nepal. Population Situation Analysis of Nepal. https://nepal.unfpa.org/sites/default/files/pub-pdf/Nepal%20Population%20Situation%20Analysis.pdf
Nepal Economic Forum. “Key Highlights from the Census Report 2021.” https://nepaleconomicforum.org/key-highlights-from-the-census-report-2021/
The Far sight Nepal. “Highlights of the Nepal Census 2021.” https://farsightnepal.com/news/137
National Planning Commission, Government of Nepal. Sustainable Development Goals: Status and Roadmap 2016–2030 (दिगो विकास लक्ष्यहरू: वर्तमान अवस्था र भावी मार्गचित्र). https://npc.gov.np
National Planning Commission, Government of Nepal. SDGs Localization Resource Handbook. https://npc.gov.np
Asian Human Rights Commission. “नेपाल: दिगो विकास लक्ष्य र नेपाल।” http://www.humanrights.asia
सोह्रौं आवधिक योजना अवधारणापत्र (२०८१/८२–२०८५/८६), राष्ट्रिय योजना आयोग, नेपाल सरकार। सन्दर्भ लेख: “नेपालमा योजनावद्ध विकासका बहुआयामिक पक्षहरु र आगामी सोहौं योजना।” https://ekarmachari.com/archives/40371
Kharel, Bishow Nath. “सोह्रौं योजनामा सुशासन र समृद्धि।” https://bnkharel.wordpress.com
U.S. Census Bureau, International Programs. Nepal: Population Vulnerability and Resilience Profile. https://www.census.gov/programs-surveys/international-programs/data/population-vulnerability/nepal.html
World Bank. “Fertility rate, total (births per woman) — Nepal.” https://data.worldbank.org/indicator/SP.DYN.TFRT.IN?locations=NP
World meter.” Nepal Population (2026),” based on UN DESA, World Population Prospects: The 2024 Revision. https://www.worldometers.info/world-population/nepal-population/
United Nations. “World Population Day 2026.” https://www.un.org/en/observances/world-population-day
UNFPA. “World Population Day 2026—Theme and Events.” https://www.unfpa.org/events/world-population-day