नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको संवाहक मात्र नभई नेपाली राजनीतिको इतिहास र भविष्य दुवैसँग जोडिएको एक प्रमुख शक्ति हो।
सर्वोच्च अदालतको पुनरावलोकनको निस्सा र आन्तरिक वैधानिक संक्रमणकाललाई नेपाली कांग्रेसले चुनौतीका रूपमा मात्र नभई ‘पार्टी पुनर्जागरण’ को अभूतपूर्व अवसरका रूपमा समेत लिनुपर्छ।
जेन्जी आन्दोलन ( भदौ २३-२४) मा आन्दोलनकारीहरुबाट निर्घात रूपमा घाइते भएपश्चात विभिन्न देशबाट स्वास्थ उपचार गरि मिति २०८३-०४-२८ गते नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्ती र यसप्रति सार्वजनिक बहस, विशेष महाधिवेशनबाट चयन भएको वर्तमान केन्द्रीय समिति, नेपाली कांग्रेसको संस्थापन इतरको गुटबन्दी एवं राजनैतिक गतिविधि, राष्ट्रिय भेला एवं निर्वाचन आयोगको निर्णय, र सम्मानित सर्वोच्च अदालतद्वारा जारी पुनरावलोकनको निस्सा (Review Petition) जस्ता न्यायिक तथा सांगठनिक घटनाक्रमहरूले नेपाली कांग्रेसको “रुपान्तरण र बैचारिक एवं सांगठनिक” यात्रालाई फ़ेरि एकपटक कठिन मोडमा उभ्याएको छ। यो कठिन मोडबाट सहज रूपमा यात्रा गराएर यात्रु एवं सवारी साधन सबैलाई सुरक्षित अवतरण गराउदै पार्टी सभापति गगन थापाले आफुलाई कुशल चालक प्रमाणित गराउन सक्छन वा सक्दैनन केहि दिन सम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ।
न्यायिक पुनरावलोकनको यस संवेदनशील घडीमा पार्टी सभापति गगन थापा र उनको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिले कानुनी, सांगठनिक र नीतिगत स्पष्टताका साथ अघि बढ्दै आम नागरिक र कार्यकर्तामाझ गुम्दै गएको विश्वास र पार्टी आन्तरिक विवादको समाधानलाई कसरी पुनःस्थापित गर्ने भन्ने विषय नै आजको मुख्य राजनीतिक प्रश्न हो। यस विषयलाई नेपाली कांग्रेसको वर्तमान सभापति एवं कार्यसमिति देहायका महत्वपूर्ण आयामहरूमा आधारित हुँदै विश्लेषण गर्न सकेको खण्डमा आगामी १५ औं महाधिवेशनको आधार समेत तयार हुन सक्नेछ। बिशेष महाधिवेशन-२ पछि पार्टीभित्र रहेका केहि असमझदारी एवं विवाद तत्कालका लागी अन्त्य हुनपनि सक्छ :
१. न्यायिक प्रक्रियाको सम्मान र वैधानिक परिपक्वता
सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा प्रदान गर्नु भनेको न्यायपालिकाको एउटा नियमित र स्थापित प्रक्रिया हो। यसलाई पार्टी नेतृत्वले कुनै राजनीतिक संकट वा द्वन्द्वका रूपमा नभई लोकतान्त्रिक र कानुनी शासनको सुन्दर पक्षका रूपमा स्वीकार गर्नुपर्छ।
क) कानुनी प्रतिरक्षा र स्पष्टता: पार्टीले सर्वोच्च अदालतमा चलिरहेका कानुनी प्रक्रियाहरूलाई परिपक्व र सशक्त तरिकाले सम्बोधन गर्नुपर्छ। विशेष महाधिवेशनका आधार, विधानका प्रावधान, र महाधिवेशन प्रतिनिधिहरूको सर्वोच्चतालाई अदालतसमक्ष तथ्यगत रूपमा प्रस्तुत गरिनुपर्छ।
ख) संगठनको निरन्तरता: कानुनी विषय अदालतको क्षेत्राधिकारभित्र रहेको हुनाले पार्टीको दैनिक सञ्चालन, नीतिगत निर्णय र जनसम्पर्कका कार्यक्रमहरूलाई बिना कुनै अवरोध अगाडि बढाउनु परिपक्व नेतृत्वको दायित्व हुनेछ।
२. पार्टीभित्र अभिभावकत्व, अन्तरसंवाद र आन्तरिक एकता
पूर्वसभापति देउवा को स्वदेश फिर्तीसँगै पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन, १५ औ महाधिवेशनमा इतर समुहको सहभागिता र अन्तरसंवादलाई अझ मजबुत बनाउने अवसर सिर्जना भएको छ।
क) ज्येष्ठ नेतृत्वको अनुभव र युवा नेतृत्वको ऊर्जा: पूर्वसभापतिको दीर्घ राजनीतिक अनुभव, सञ्जाल र अभिभावकत्वलाई सम्मान गर्दै वर्तमान नेतृत्वले नयाँ विचार र कार्यशैलीको तालमेल मिलाउनुपर्छ। यसले पार्टीभित्र हुनसक्ने सम्भावित गुटगत ध्रुवीकरणलाई रोक्न मद्दत गर्दछ।
ख) संवाद र सहमति: विशेष महाधिवेशनपछि देखा परेका असन्तुष्टि वा अस्पष्टताहरूलाई संवादका माध्यमबाट हल गर्दै पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई एउटै वैचारिक र सांगठनिक धरातलमा गोलबन्द गर्नु आजको प्राथमिक आवश्यकता हो।
३. ‘प्रक्रियागत राजनीति’ बाट ‘जनकेन्द्रित राजनीति’ तर्फको रूपान्तरण
आम नागरिकलाई पार्टीका आन्तरिक गुटबन्दी, कानुनी विवाद वा महाधिवेशनका प्राविधिक विषयमा भन्दा पनि पार्टी र नागरिकको दैनिक जीवनमा सुधार ल्याउने नीति र कदमहरूसँग बढी सरोकार हुनुपर्छ । त्यसैले, सभापति गगन थापाको नेतृत्वले पार्टीको ध्यान आन्तरिक विवादबाट मोडेर जनसरोकारका मुद्दामा केन्द्रित गराउन सक्नुपर्छ।
क) अर्थतन्त्र र रोजगारी: मुलुकले व्यहोरिरहेको आर्थिक सुस्तता, वैदेशिक ब्यापार घाटा, वैदेशिक बसाइँसराइ एवं रोजगारीका लागी युवा पलायन, महँगी, श्रोतको असमान वितरण जस्ता विषयमा कांग्रेसले ठोस र व्यवहारिक आर्थिक नीति अघि सार्नुपर्छ।
ख) सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता: नागरिकको विश्वास जित्नका लागि पार्टीले सुशासनलाई आफ्नो मुख्य एजेण्डा बनाउनुपर्छ। पार्टीभित्र वा बाहिर, जोसुकै भए पनि भ्रष्टाचारविरुद्ध कडा चट्टानी अडान लिने परिपाटी बसाल्नुपर्छ।
ग) सार्वजनिक सेवा सुधार: शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा व्यापक सुधार ल्याउने दीर्घकालीन योजना नागरिक माझ लैजानुपर्छ।
४. नयाँ पुस्तासँगको सञ्चार र विश्वास पुनःस्थापना
नेपालको वर्तमान जनसांख्यिक स्थितिमा युवाहरूको भूमिका निर्णायक छ। परम्परागत राजनीतिक भाषण वा पुराना इतिहासको ब्याख्याले मात्र नयाँ पुस्ताको विश्वास जित्न सकिँदैन।
क) प्रविधि र पारदर्शिता: नयाँ पुस्ता पारदर्शी, नतिजामुखी एवं उत्तरदायी र प्रविधिसँग जोडिएको राजनीति चाहन्छ। पार्टीका निर्णय, बजेट सञ्चालन र सदस्यता वितरण प्रणालीलाई बैधानिक र समयसापेक्ष डिजिटल बनाइनुपर्छ।
ख) योग्यता र अवसर (Meritocracy): पार्टीका विभिन्न तहका जिम्मेवारीमा क्षमता (केवल चापलूसी वा गुटगत भागबन्डाका आधारमा नभई) योग्यता र जनतामा रहेको लोकप्रियताका आधारमा युवाहरूलाई पार्टी आन्तरिक नेतृत्वमा अगाडि बढाउने वातावरण बन्नुपर्छ।
५. सांगठनिक सुदृढीकरण र तल्लो तहसम्म पुनर्जागरण:
केन्द्रमा हुने वैधानिक र कानुनी बहसहरूले स्थानीय तहका कार्यकर्तामा दुविधा उत्पन्न गर्नु स्वाभाविक हो। यस दुविधालाई चिर्न पार्टीको केन्द्रिय नीति
”सशक्त वडा, पारदर्शी संगठन र स्पष्ट नीति नै लोकतान्त्रिक पार्टीको वास्तविक शक्ति हो।” लाई
राष्ट्रव्यापी अभियानको रूपमा सञ्चालन गर्नुपर्छ।
क) प्रशिक्षण र वैचारिक स्पष्टता: २१ औँ शताब्दीको नागरिकको अपेक्षा पुरा हुने गरि पार्टीको बिपी विचार (प्रजातान्त्रिक समाजवाद) लाई
ब्यबहारिक र समान पहुँचको सिद्धान्त अनुरुप हुने गरि व्याख्या गर्दै तल्लो तहसम्म वैचारिक प्रशिक्षण कार्यक्रमहरू लैजानुपर्छ।
ख) स्थानीय निकायसँगको समन्वय: कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई उत्कृष्ट कार्यसम्पादन गर्ने वातावरण निर्माण गरि उनीहरू मार्फत सुशासनको उदाहरण प्रस्तुत गर्दै कांग्रेस प्रति नागरिकको बिश्वास कायम गर्ने रणनीति तय गर्नुपर्छ।
पूर्वसभापति देउवाको राजनीतिक उचाइ र अभिभावकत्वलाई आत्मसात गर्दै सभापति गगन थापाको नेतृत्वले कानुनी प्रक्रियालाई संयमित रूपमा सामना गर्ने र सांगठनिक ऊर्जालाई जनसेवामा जोड्ने काम गर्नुपर्छ।
फाल्गुन २१ पछि निर्वाचित सरकारले विपक्षी पार्टी नेताहरुलाई धरपकड र देउवा दम्पती माथी त रेडकर्नर नोटिस नै जारी गरेको बर्तमान सरकारले देउवालाई सहज अवतरणको वातावरण निर्माण गरिदिएको र उनै मार्फत कांग्रेसको आन्तरिक किचलोमा वृद्धि गराइ राजनैतिक मैदानमा आफुलाई एक्लो खेलाडीको रूपमा उभ्याउन खोजेको त होइन भन्ने कांग्रेस इतरका हरेक जिम्मेवार नेतृत्वहरुले बुझ्न नसकेकै हुन र? इतर समूहले अपेक्षा गरेअनुरु सम्मानित अदालतको निस्सा आदेश एवं नेपाली कांग्रेसका पुर्व सभापतिको स्वदेश फिर्ति हुदैमा नेपाल र नेपाली कांग्रेसको राजनैतिक रूपमा केहि परिवर्तन हुने वाला पनि छैन। कदम कदाचित अनपेक्षित केही भैहालेछ भनेपनी १५ औ अधिबेशन पछिको कांग्रेसको नेतृत्व गगन थापा ले नै गर्नेछन्।
नेपाली कांग्रेस विखण्डन भयो यदि भने यसको जिम्मेवारी कांग्रेसको मुल नेतृत्व संगसगै इतर समुहको राजनैतिक हैसियत समेत सकिने निश्चित छ भन्ने ज्वलन्त उदाहरण त यसभन्दा अगाडि फुटेका राष्ट्रिय पार्टीहरुको अवस्थाले नै देखाइसकेको हुँदा इतर पक्षले “पुर्व सभापतिको काँधमा बन्दुक राखेर सानेपा तिर ताक्दा” यदुवंशीहरुले आफ्नो राजनैतिक भविष्य के हुन्छ सोच्नुपर्ने होइन र? पुर्व सभापतिलाई अब धेरै विवादमा नल्याई उनलाई एउटा राजनैतिक अभिभावक भएर बस्न दिनु नै एक मात्र विकल्प हो।
जब-जब नेपाली कांग्रेस आफ्ना आन्तरिक अल्झनसँगै आम नागरिकका दैनिक समस्या, बेरोजगारी, भ्रष्टाचार र कुशासनविरुद्ध स्पष्ट र परिणाममुखी यात्रा तय गर्छ, तब मात्र नागरिकको कांग्रेसप्रतिको विश्वास स्वतः वृद्धि भएर जानेछ। यही नै वर्तमान नेतृत्व र सम्पूर्ण नेपाली कांग्रेसका लागि अगाडि बढ्ने सबैभन्दा सभ्य, तथ्यपूर्ण र दूरदर्शी मार्ग हुनेछ।




