मनोसामाजिक सुस्वास्थ्यका लागि योगभ्यास

मनोसामाजिक सुस्वास्थ्य भन्नाले कुनै व्यक्तिको मन, शरीर र उसको समाज यी तीनै पक्षहरु बीचको सम्बन्ध सन्तुलन हुनु हो। हरेक मानिस समाजमा जन्मी हुर्की बढेको हुन्छ । आफुले बुझ्ने भएदेखि समाजमा उस्ले जहिले पनि आफ्नोपन (अपनत्व) खोजिरहेको हुन्छ र यो स्वाभाविक प्रक्रिया हो । हरेक मानिस चाहे जो सुकै स्तरमा होस उसले आफ्नो मान सम्मान वा मर्यादा चाहान्छ । त्यस्तै उ आफ्नो अठोट वा लक्ष्य हुन्छ र सबैले त्यो अठोट वा लक्ष्य पुरा चाहन्छ । हरेक मानिस अरु मानिससँग सामिप्यता र अपनत्व वातावरण बनाउन चाहान्छ । यीनै कुराहरुको सकरात्मक व्यवस्थापन नै मनोसामाजिक सुस्वास्थ्य हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको त्यस्तो अवस्थालाई जनाउछ जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न सक्दछ, जीवनका सामान्य तनावको सामना गर्न सक्दछ र आफ्नो समुदायमा केही योगदान दिन सक्षम हुन्छ । मानसिक स्वास्थ्यले मानसिक रुपमा स्वस्थ हुनुलाई जनाउछ भने मनोसामाजिक सुस्वास्थ्यले मानसिक तथा सामाजिक रुपमा खुसी र सक्षम रहनुलाई जनाउछ ।

आधुनिक युगमा विज्ञान तथा प्रविधिको तीव्र विकासले एक स्थानमा बसी मानिस विभिन्न क्रियाकलापहरु गर्न सक्ने भएकोछ । पहिलेको तुलनामा आज मानिस शारीरिक श्रमबाट टाढिदो अवस्था छ । जस्ले शरीरलाई यान्त्रीकता ल्याएको छ र मनलाई तनावग्रस्त बनाएकोछ । सामान्य भाषामा भन्दा आधुनिक युग भनेको HURRY, WARRY, CURRY को जमाना हो। अर्थात धेरै जसो व्यक्तिमा हतारमा रहने, चिन्तित तथा बढि तनाबग्रस्त र पत्रुखाना खाने बानी भैइसकेको छ ।

योग मानव सभ्यता कै प्राचिननतम सक्ष्म विज्ञान हो जहाँ मानसिक र शारीरिक रुपमा सुखी, स्वस्थ र सन्तुलित जीवन यापनका सुत्रहरु वर्णित छन् । योग शब्द संस्कृतको युज धातुबाट बनेको छ । यसको अर्थ जोड्नु, मिलाउनु वा समाहित गर्नु भन्ने हुन्छ । योगका ग्रन्थहरु अनुसार व्यक्तिको चेतनालाई परम चेतनासँग समाहित गराउनु नै योग हो । योगको व्यवहारिक अर्थ शरीरसँग स्वास्थ्य र आरोग्यता, मनसँग एकाग्रता र शान्ती, भावनासँग प्रेम र आनन्द अनि आत्मसँग सर्वेशक्तिमान परमात्मागम हो ।

योगको हजारौ वर्ष पुरानो इतिहास छ जुन समय संसारमा कुनै धर्म वा आस्था स्थापित भैसकेको थिएन। पौराणिक कथानुसार शिवलाई आदियोगी अर्थात पहिलो योगी भनिएको छ । हजारौ वर्ष पहिले हिमालाय खण्डको कान्तिसरोवर तटमा आदियोगिले पहिलो पटक योगको ज्ञान सप्त ऋषिलाई दिएका थिए । त्यस्तै शिव सुत्रमा वर्णित ध्यानका ११२ उपायको वर्णन आदि योगिले पार्वतिलाई सुनाएका थिए । यसरी पहिलो पटक धर्तीमा योगको ज्ञान र विधिको प्रादुर्भाव भएको मानिन्छ । २७०० वर्ष ई पू मा तत्कालिन हरप्पा र मोहिन्जोदारो (अहिलेको पाकिस्तान) मा उदाएको सिन्धुघाटि सभ्यतामा भौतिक उपलब्धी सँगै योगको पनि प्रवर्धन र अभ्यास हुने गरेको उत्खननद्वारा प्राप्त भग्नावशेषबाट स्पस्ट हुन्छ ।

भग्नावशेषका रुपमा प्राप्त विविध योगासनमा रहेका मुर्तिहरुले त्यस प्राग्वैदिक कालखण्डमा हुने गरेको तन्त्र योग अभ्यासको प्रस्ट चित्र दिन्छ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउने गरिएको छ ।यस वर्ष स्वस्थ वृद्धावस्थाका लागि योग (Yoga for Healthy  Aging ) अर्तराष्ट्रियस्तरको मूल नाराका साथ मनाइदैछ ।

योगको प्रचार प्रसार र विकास सँगै विविध लोक परम्परा, दर्शन, सम्प्रदाय आदिद्वारा योगका विविध आयाम र उपायहरुको अभ्यास हुन थाल्यो । योगको परम उद्देश्य प्राप्तिको लागि ज्ञान योग, कर्म योग, भक्ति योग, राज योग, मन्त्र योग, लय योग आदि विविध मार्गहरुको खोज एवम् अभ्यास भएको पाइन्छ । योगले आधारभूत रुपमा चार तहबाट कार्य गर्ने हुनाले योगलाई मुख्य चार शाखामा विभाजन गर्न सकिन्छ ।

  1. कर्म योग– शरीरको स्तरबाट
  2. ज्ञान योग– बुद्धिको स्तरबाट
  3. भक्ति योग– भावनाको स्तरबाट
  4. क्रिया योग– उर्जाको स्तरबाट

योग प्रशिक्षक वा गुरुको सहायतामा व्यक्तिको प्रकृती र आवश्यकता अनुसार योग विधि चयन गरी अभ्यास गर्नु पर्दछ ।

योगहरुमध्ये अष्टाङ्ग योगले शरीर, मन र व्यवहार सबै पक्षलाई समेटिने हुदाँ र आधुनिक स्वास्थ्य तथा मानसिक स्वास्थ्य कार्यक्रममा आसन, प्रणायम र ध्यान सजिलै समावेश गर्न सकिने भएकोले यहाँ अष्टाङ्ग योगबारे लेखिएको छ। यो हुदाँहुदै योगका अन्य मार्गहरु पनि उत्तिकै महत्वपूर्ण छन्।

अष्टाङ्ग योगका प्रकारहरु

१. यमः

 १. सत्य (साँचो बोल्ने), २. अहिंसा,३. अस्तेय (चोरी नगर्नु), ४. ब्रह्मचर्य (ब्रह्म वा ज्ञानको चर्य अर्थात आचरण वा निरन्तर साधना गर्ने), ५. अपरिग्रह (जति आवश्यक हो त्यसैमा सन्तुष्ट रहनु, आवश्यकता भन्दा बढी सँग्रह नगर्ने।) ६= ब्रह्मचार्य (सत्यको पालना)

२. नियमः १. शौच (सफा रहनु), २. सन्तोष, ३. तप, ४. स्वाध्याय, ५. इश्वर प्रणिधान

३. आसनः बिना कष्ट कुनै आसनमा स्थिर रही बस्न वा रहन सकिन्छ भने त्यहि स्थितिलाई आसन भनिन्छ।यसर्थमा बिना कष्ट स्थिर रही लामो समयसम्म बस्ने अभ्यास योगासनको साधना हो । योगका प्रथम उपदेष्टा शिवले चौरासी लाख आसनको उपदेश दिएका थिए । हिजोआजका योगाचार्यहरूका मतमा ८४ आसन मुख्य मानिएका छन् ।

४. प्राणायामः श्वासप्रश्वासको सामान्य गतिलाई विच्छेद गरेर वा रेचक÷कुम्भक÷पूरक प्रक्रियाले नियमन गरेर मनसित यसको सम्बन्ध स्थापित गर्ने प्रयासलाई प्राणायाम भनिन्छ ।

५. प्रत्याहारः विषयहरूबाट इन्द्रियहरूलाई अलग्याइदिनुलाई प्रत्याहार भनिन्छ । प्रत्याहार ध्यान र समाधिको लागि पहिलो खुड्किलो हो।ज्ञानेन्द्रियहरू विषयको उपयोगबाट अलग्गिएपछि चित्तको स्वरूप अनुसार त्यस्तै हुन्छन् । यही अवस्था प्रत्याहार हो ।

६. धारणाः कुनै एक वस्तुमा मन लगाएर एकाग्र हुनु ।

७. ध्यानः एकाग्रतालाई (धारणा) अटुट र गहिरो बनाउनु ।

८. समाधिः जुन वस्तुको ध्यान गरिएको हो त्यस ध्येय वस्तुको स्वरुप वा अस्तित्वको मात्र अनुभव रही बाकि सब शुन्य हुन्छ । ध्यानको यस अवस्था नै समाधि हो ।

नियमित योग अभ्यासले मनलाई शान्त, एकाग्र र सशक्त बनाउँदै व्यक्तिलाई स्वस्थ, सन्तुलित र सुखी जीवनयापन गर्न सहयोग गर्दछ।

योग अभ्यास गर्दाका केहि सामान्य नियमहरु

  1. निश्चित कुनै योगासन बाहेक योगको अभ्यास खालीपेट वा खान खाएको ३÷४ घन्टा पछि मात्र गर्नुपर्छ ।
  2. योग अभ्यास गरेको ३० मिनेट पछि मात्र नुहाउन र खान सकिन्छ ।
  3. हरेक योग अभ्यास गर्दा श्वास लिने–छोड्ने–रोक्नेको नियम, सन्तुलन, सजगता र विश्रामको पक्षको पालना गर्नुपर्दछ । शौच र स्नान गरेपछि मात्र आसन र प्राणायाम गर्ने ।
  4. बिहान र साझको समयमा सफा, स्वच्छ र हल्का हावा चल्ने ठाउमा आसन र प्राणायाम गर्ने ।
  5. भुईमा सजिलो गुन्द्री, गलैचा आदि प्रयोग गर्ने ।
  6. धेरै बल गरेर आसन र प्राणायाम नगर्ने ।
  7. चोटपटक लागेको र भर्खर शल्यक्रिया गरेको अवस्थामा आसन र प्राणायाम नगर्ने ।
  8. गर्भवतीले, प्रसुती महिलाले र महिनाबारी हुदा पेटमा बल पर्ने आसन र प्राणायाम नगर्ने ।
  9. उच्च रक्तचाप बिरामीले सास रोक्ने खालका र अगाडि निहुरिने आसन र प्राणायाम नगर्ने ।
  10. ढाड दुख्ने (हड्डी खिइएको, नसा च्यापिएको अवस्थामा निहुरिने आसनहरु नगर्ने ।
  11. घुडा दुख्ने अवस्थामा उफ्रिने र घुडा मोड्ने खालको आसन नगर्ने ।
  12. आफूलाई कुनै बिमार भएमा डाक्टरको सल्लाह लिएर मात्र आसन र प्राणायाम गर्ने ।

मानसिक सुस्वास्थ्य व्यक्तिको समग्र स्वास्थ्य र जीवनको गुणस्तरसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। वर्तमान व्यस्त र तनावपूर्ण जीवनशैलीका कारण मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको सन्दर्भमा योग अभ्यास एक सरल, सुरक्षित र प्रभावकारी उपायको रूपमा स्थापित भएको छ। योगका विभिन्न अभ्यासहरू, विशेष गरी आसन, प्राणायाम र ध्यानले तनाव, चिन्ता तथा मानसिक अस्थिरता कम गर्न, भावनात्मक सन्तुलन कायम गर्न र सकारात्मक सोचको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछन्। नियमित योग अभ्यासले मनलाई शान्त, एकाग्र र सशक्त बनाउँदै व्यक्तिलाई स्वस्थ, सन्तुलित र सुखी जीवनयापन गर्न सहयोग गर्दछ। त्यसैले मानसिक सुस्वास्थ्य प्रवर्द्धनका लागि दैनिक जीवनमा योग अभ्यासलाई अपनाउनु आजको आवश्यकता हो।

सन्दर्भ सामग्रीहरुः

  • मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग तालिम निर्देशिका मोड्युल १
  • योग तथा जिवनशैली व्यवस्थापन पुस्तिका, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश