पोखरा–३२, खुदीखोलामा त्यहाँको सुकुमबासी बस्ती व्यवस्थापनका अगुवा सोमबहादुर विक (ज्योति)को सम्झना गरिएको छ । तत्कालीन नेकपा -माओवाद)को सुकुमबासी संगठन कास्की सचिव ज्योति २०५९ असार २३ देखि बेपत्ता छन् ।
नेकपा -माओवादी) कास्कीले मंगलबार कार्यक्रम गरी ज्योतिको सम्झना गरेको हो । नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा सहभागी ज्योतिलाई २४ वर्षअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट नेपाली सेनाले नियन्त्रणमा लिएर बेपत्ता बनाएको हो । कार्यक्रममा ज्योतिकी बहिनी सोममाया विकले आफूहरु सहिद र बेपत्ता योद्धाको लक्ष्यलाई र उद्देश्य पूरा गर्न लागि परेको बताइन् ।
बेपत्ता ज्योतिका दुई बहिनी सोममाया र मनमाया र बाआमा छन् । सोममायाले भनिन्, ‘जनताको आन्दोलनमा बेपत्ता बनेकाहरुको जगमा ठूलो परिवर्तन भयो तर बेपत्ता, घाइते र सहिदहरुकै अपमान भइरहेको छ ।’ व्यवस्था बदल्न बलिदान गर्नेहरुको योगदानको सम्मान गर्न र बेपत्ताहरुको अवस्था सार्वजनिक गर्नसमेत उनले माग गरिन् ।
नेकपा -माओवादी) कास्की सेक्रेटरी उमेश सीले युग परिवर्तनमा योगदान गर्नेहरु सबैको साझा हुने बताए । ‘सहिद, बेपत्ता, घाइतेहरु कुनै पार्टीको मात्र हुन सक्दैनन्, उनीहरु सबै नेपालीका साझा हुन्,’ उनले भने, ‘उनीहरुको सम्मान, सम्झनामा जनस्तरबाटै कार्यक्रम हुनु उचित हुन्छ ।’ उनले आन्दोलनको लक्ष्यबाट मुख्य नेतृत्व नै विचलित भए पनि आफूहरु लक्ष्यतर्फ अघि बढिरहेको जनाए ।
नेकपा (माओवादी) कास्कीकी सल्लाहकारसमेत रहेकी ज्योतिकी आमा ओमकुमारी विकको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी) कास्की इन्चार्ज आस्था सी, नेपाली कम्युनिस्ट पार्टी पोखरा –३२ अध्यक्ष यज्ञबहादुर अधिकारी, समाजसेवी भूपेन्द्र राना मास्के, कुमार सी लगायतले बोलेका थिए ।
माओवादी जनयुद्धमा कास्कीबाट १९ जना बेपत्ता छन् भने ४२ जना सहिद बनेका छन् ।




