स्वदेशमै उद्यमी वा स्वरोजगार बन्न आग्रह

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखरामा तालिम लिनेहरुको भीड हुन्छ । गण्डकी प्रदेश सरकार मातहतको केन्द्रबाट दोस्रो चौमासिकमा तालिम लिएकाहरुले बिहीबार प्रमाणपत्र पाए ।

केन्द्रमा सञ्चालित मोबाइल मर्मत, प्लम्बिङका बिहानी र दिवा सत्र, कटाई सिलाइ, आधारभूत ब्युटिपालर र मोटरसाइकल मर्मत गरी पाँच विधाका छ समूहका तालिमका सहभागीलाई गण्डकी प्रदेशकी सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना, केन्द्र प्रमुख अनिल सुवेदी लगायतले प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा मन्त्री गुरुङले जीविकोपार्जनका लागि सीप जरुरी भएकोमा जोड दिइन् । उनले भनिन्, ‘गण्डकी प्रदेश सरकारले नागरिकलाई सीप सिकाएर आर्थिक अवस्था उकास्न र रोजगारीका अवसरहरु सिर्जना गर्न पहल गरेको छ । यसको सदुपयोग गर्नुहोला ।’ आर्जित सीप उपयोग गरी उद्यमी, व्यवसायी बन्न वा स्वरोजगार हुन उनले आग्रह गरिन् ।

केन्द्र प्रमुख सुवेदीले तालिममा सिकेको सीपले मात्र कार्यक्षेत्रमा नपुग्ने भएकाले सीप बढाउँदै जान आग्रह गरे । उनले स्वदेशमै यसको उपयोग गर्न आग्रह गरे । सुवेदीले भने, ‘सीप बढाउँदै जानुहोला, सकभर नेपालमै उद्यम गर्नुहोला ।’

पोखरा महानगरको व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारीले यसरी सरकारले दिएको तालिमलाई जीवन परिवर्तनको माध्यम बनाउन आग्रह गरे । उनले भने, ‘यस्ता तालिम नागरिकले सित्तैमा पाएको भए पनि यो हाम्रै योगदानको करबाट दिइएको तालिम हो, यसको उचित प्रयोग गरौँ ।’


केन्द्रकी सूचना अधिकारी विष्णुदेवी पोखरेलले सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षार्थीहरु जगत विक, आकृति अधिकारी बास्तोला, कोपिला गौतम, सिजन शाही, प्रशिक्षक यामकुमार राना लगायतले बोलेका थिए ।