‘व्यापारी सरकार चाहिँदैन, सत्याग्रही मार्न पाइँदैन’ (फोटो फिचरसहित)

- पोखरामा गोविन्द केसीको समर्थनमा प्रदर्शन

चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै अनशनरत डा गोविन्द केसीको समर्थनमा पोखरामा सोमबार प्रदर्शन भएको छ ।

डा केसीको समर्थनमा पोखराको पृथ्वीचोक देखि सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा हुँदै बिरोध जुलुस मानवअधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो । प्रर्दशनमा सहभागीले डा केसीका जायज माग नसुन्ने सरकारलाई ध्यानकर्षण गराउन शंख फुकेका थिए । डम्बरु र ड्रम बजाउँदै बिरोधमा पोखरा शहर परिक्रमा गरेका थिए ।

सहभागीले व्यापारी सरकार चाहिँदैन, सत्याग्रही मार्न पाइँदैन लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड लिएर डा केसीको समर्थनमा सडकमा उत्रीएका थिए ।
दुई तिहाईको कम्युनिष्ट सरकारले गरिबको भलो हुने आवाज नसुनेकोले सडकमा उत्रन परेको प्रदर्शनमा सहभागी श्रीकृष्ण श्रेष्ठले बताए ।

गरिव, दुःखीहरुको नाममा राजनीति गरेर सत्तामा पुगेको कम्युनिष्ट सरकार उसैले जनआन्दोलनमा, निर्वाचनमा जनताका अगाडी बाचा गरेका शिक्षा र सेवा सुधारका माग पुरा गर्न अनसन बस्नु पर्ने अवस्था आउनु लाजमर्दो भएको उनले सुनाए ।

दुर्गम गाउँबस्तीमा गएर जनताको सेवा गर्ने र दुर्गम गाउँ बस्तीहरुमा पनि सुबिधा सम्पन्न अस्पताल र मेडिकल कलेज संचालन गर्नुपर्छ भन्ने डा केसीको माग दुर्गम बस्तीका आवाज बिहीन जनताको आवाज भएको सुरेश पहारीले बताए । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिन देखि अनशनरत डा केसीको स्वास्थ्य जटिल बनेको छ ।