बकैनाको रुखमा रुद्राक्ष फल्दैन

सन् १९८० को दसकमा भारतीय टिभी च्यानलमा प्रसारण हुने टेलिसृखला रामायण प्रसारण हुनु अगाडि हिन्दुहरु नुहाईधुहाई गरी, चोखो बस्त्र पहिरेर टिभी सेटलाई धुपपूजा गरी फूल, माला लगाई दिने गर्दथे रे । त्यो भगवानप्रतिको अगाध आस्था, विश्वास र समर्पणको भाव थियो । उनीहरुको सोचमा कथामा आउने पात्रहरु साक्षात भगवानका रुप थिए । राम, लक्ष्मण, सीता, हनुमान आदि ।

रामायण अन्ततः विश्वको सबैभन्दा धेरै हेरिएको मिथकीय श्रृङ्खला हुन् पुग्यो । रामायणको प्रभावले सन् १९९२ मा १६ औं शताव्दीमा बनेको बाबरी मस्जितलाई नै ध्वस्तमात्र पारेन, भारतको राजनीतिमा हिन्दुवादी राजको गहिरो प्रभाव पार्यो । आजसम्म भाजपा र मोदीले सोहि कडीको प्रयोग गरी राजनीति गरिरहेका छन् ।

नेपालका सत्तासिन कम्युनिस्ट आज पनि कम्तिमा ५ हजार वर्ष पहिलेको रामायणको झल्को दिने गरी आफूलाई राम, सीता, लक्ष्मण आदिको अवतार मा प्रस्तुत गर्ने गर्दछ । तिनका भक्तहरु हनुमानको रुपमा आफूलाई समर्पण गरिरहेको देख्न सकिन्छ । आखिर भक्तहरु किन यति बिघ्न अन्धभक्त हुन्छन ? कुनै बेलाको त्याग र समर्पणको ब्याजबाट नेताहरुलाई किन देवत्वकरण गरिन्छ ? नेताहरुका महल र हवेलीहरू कसरी पबित्र मन्दिरहरुमाू रुपान्तरण हुन्छन ?

किन मानिसहरुका आलोचनात्मक चेत शून्य भई सत्ता र शक्तिको पछाडि आफूलाई समर्पण गर्दछन् ? मानिसहरु बलात्कृत हुदा पनि किन आशारामहरुको मठ वा “सिद्धबाबा” धाम पवित्र मान्दछन् ? सिद्दान्त र व्यवहारमा आकाश पातलको फरक किन देख्न सक्दैनन् ? नेताबाट मठाधीश हुँदा वा भौतिकवादबाट अलौकिकवाद, आदर्शबाट लफङ्गो हुँदासमेत मानिसमा किन चेत आउदैन र नेता र नेतृत्व सकुनिकरण किन देख्न सक्दैनौ ?

नेताहरुको व्यवहार मानौ दैवीशक्ति प्राप्त चमत्कारिक बाबाको जस्तो र राज्यसत्ता अविछिन्न पुर्खौली सम्पति जस्तो आफूखुशी आफ्नै बंसमा पुस्तान्तरण गर्दैछन् । नेपाल आदिम ईतिहास भएका विश्वका ९ वटा देशमध्ये को एउटा देश हो । अमेरिका देश हुनुभन्दा अगाडि हाम्रो पाटन दरबार निर्माण भइसकेको थियो । हामी सांस्स्कृतिकमात्र होईन, प्राकृतिक स्रोतले पनि धनी छौ । हामीसँगै आधुनिक युगमा प्रवेश गरेका देशहरु कोरिया, मलेसिया, सिंगापुर, जापान कहाँबाट कहा पुगे तर हामीचाहिँ उनीहरुको देशमा अदक्ष श्रमिक पठाउँदै तिनीहरुले पठाएको रेमिटान्सबाट नेताहरुको औषधि उपचार, विलासी गाडी र हेलिकप्टर खरिद गर्दैछौ ।

आखिर भक्तहरु किन यति बिघ्न अन्धभक्त हुन्छन ? कुनै बेलाको त्याग र समर्पणको ब्याजबाट नेताहरुलाई किन देवत्वकरण गरिन्छ ?

यसो हुनुमा मूल कारक भनेको असक्षम र असफल राजनीतिक नेतृत्व नै हो । वर्तमान मन्त्रीकै भनाई सापटी लिएर भन्नु पर्दा “एउटा राजनीतिक नेताले बिहानदेखि साँझसम्म भेट्ने भनेको दलाल, बिचौलिया र कमिसनखोरहरु नै हुन । खै सुशासन, आत्मनिर्भरता, रोजगार, मानव अधिकार, गुणस्तरीय स्वास्थ्य र शिक्षामा पहुच, विकास र समृद्धि ? कोशी, टनकपुर, महाकाली, अरुण तेस्रो, सुस्ता आदि जस्तै के अब एमसिसीबाटै समृद्धि सम्भव छ ?

नेपाली राजनीतिमा यी सबै किन र कसरी भईरहेका छन् ? जे भइरहेको छ के सबै ठीकै भैरहेका छन् वा गलत भैरहेका छन् ? हामीले सचेतनामूलक आलोचनात्मक विश्लेषण गर्नु पर्दछ । यो लेखमा नेता र नेतृत्वलाई छोडेर कार्यकर्ताको पक्षबाट केही पक्ष उजागर गर्ने जमर्को गरिएको छ ।

कुनै पनि राजनीतिक पार्टीले जब सैद्धान्तिक धरातल गुमाउछ, त्यो पार्टीका स्वार्थी कार्यकर्ताले नेतृत्व सामु आफूलाई एक नम्वरी हनुमान सावित गर्ने कोसिस गर्ने गर्दछन् । तर आम जानमानसमा आफूलाई लुकाउने प्रयास पनि सँगै गर्दछन् । कालान्तरमा हनुमान हनुमानबीचको प्रतिश्पर्धामा आफ्नो परिचय लुकाउन सक्दैनन् । आम समुदायमा छताछुल्ल हुने गर्दछ । अहिले नेपाली राजनीतिमा सबै हनुमानको अनुहार देख्न र चिन्न सकिन्छ ।

आज श्रमचोर, दलाल, बिचौलिया, भ्रष्टाचारी, कमिसनखोरदेखि टोले गुण्डासम्मलाई मार्क्सवादी खोल ओडाएर नीति, निर्माण तहमा पुर्याईयो ।

एउटा राजनैतिक पार्टीको कार्यकर्ता वा शुभचिन्तक वा निर्वाचनमा भोट हाल्ने जनताको हैसियतले हामी आफूलाई आदर्श र स्वाभिमानी बनाउने कि छोटे हनुमानको पछाडि कुदने ? किनकि राम वा बडे हनुमानसँग सामान्य कार्यकर्ताको पहुँच हुँदैन । बदर बनाउने छनौट गर्ने समय आएको छ ।

मानिस कुनै पनि राजनैतिक दल प्रमुखतः दुई तरिकाले छनौट गर्दछ : पहिलो बर्गीय चेत, बर्गीय मुक्ति, स्वयसेवा र दोस्रो आफ्नो परिवेश, स्वार्थ र चेतनाको स्तर । आफ्नो आदर्श पात्रको प्रभाव, अरुभन्दा भिन्न हुन र आफ्नो विरोधी वा शत्रु पक्षको विरुद्ध पनि राजनीतक दल छनौटमा प्रभाव पारेको हुन्छ । सचेतनापूर्वक छनौट गरिएको राजनैतिक आस्था कालान्तरमा व्यक्तिको जीवन मूल्य हुन्छ र त्यसलाई छोड्न कठिन हुन्छ । मानौ आस्तिकको कुल्यान वा ईस्ट देवता जस्तो ।

तर स्वार्थ सिद्ध हेतु राजनीतिमा गर्ने बाबुरामहरु पनि यत्रतत्र देख्न सकिन्छ । आफै बदलिएकाहरु हामी जति सहज चिन्न सक्दछौ तर सत्ता बदल्न शक्ति केंद्रमा पुगेकाहरु आफै बदलिएको बुझ्न समय लाग्दो रहेछ । जव मार्क्सवादलाई पुरेतको गरुड पुराण किताबको रुपमा लिईन्छ र पाठ गर्ने, भाषण गर्ने र बौद्धिकता छाट्ने माध्यम बनाईन्छ, तब त्यहा के हुन्छ हामीले देख्दै र भोग्दै आएका छौै । सिंगो नेपाली मात्रको मुक्ति र समुन्नतिको यात्रामा केही पण्डितहरु जनताको रगत ,पसिनाको श्रम, त्याग, योगदानले आफूमात्र बैतरणी तर्ने काममात्र भयो । अझै तिनीहरुको सुख सयलका लागि कति दान दिदै जाने ? खै कहाँ गए तिम्रा लाखौ पार्टी सदस्य, यो कोरोनाको महामारीमा ? के राजनीति र जनसेवा अब चुनावको बेलामा मात्र हो ?

लेण्डुपहरु पनि लज्जित हुने गरी विश्व साम्राज्यवादीहरुको गोटीको रमिता हेर्न सहिदहरुले आहुति गरका थिए ?

सैद्धान्तिक, राजनैतिक, दार्शनिक र विचारधारात्मक क्षेत्रमा मात्र नभएर सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा हुनेखानेहरुको हालीमुहाली बढदै जानु र हुँदा खानेहरु झन् निरह हुँदै जाने व्यबस्थाका लागि तपाई, हामीले राजनीतिमा सहभागिता गरेको हो ? हिजो जनयुद्ध र जनआन्दोलनका योद्धाहरु, गरिब, किसान, मजदुर, पछाडि पारिएका वर्ग र समुदायको त्याग र समर्पणको मूल्य खै ? तिनीहरुको जीवनमा खै के परिवर्तन भयो ? आज श्रमचोर, दलाल, बिचौलिया, भ्रष्टाचारी, कमिसनखोरदेखि टोले गुण्डासम्मलाई मार्क्सवादी खोल ओडाएर नीति, निर्माण तहमा पुर्याईयो ।

हिजो जनताको स्तरबाट उठेका वर्तमान नेतृत्वले गर्न नसकेको काम के अब मोटो चन्दाको आडमा मार्क्सवादी भएका दलाल र कमिसनखोरबाट हुन् सक्ला , के ल्यार्क्याङ्गहरुबाट सर्बहाराकरणको आशा गरेर उज्जल भविश्य खोज्न सकिन्छ ? लेण्डुपहरु पनि लज्जित हुने गरी विश्व साम्राज्यवादीहरुको गोटीको रमिता हेर्न सहिदहरुले आहुति गरका थिए ? हुकुमी र मुखिया शैलीमा पार्टी सञ्चालन हुने, केन्द्रिय सदस्यमात्र होइन, पोलिटब्युरोका सदस्यहरु समेत सडकमा रोइलो गर्दै हिड्ने पार्टीले जनवादको अभ्यास गर्ला भनेर पत्याई दिनुपर्ने ?

कुनै जागिरेले पार्टी शक्तिले आफ्नो बढुवा वा सरुवाको आश, बिचौलियाको कमिसनको आश, धुपौरेको राजनैतिक नियुक्तिको च्याखे वा ढोके बैठकेको कतै कुनै लाभको आशाले निरिह बनाउदछ । तर सत्तासिन पार्टीको एउटा ईमान्दार पार्टी कार्यकताले आफूलाई पार्टी सदस्यको रुपमा परिचय गराउदा हिनताबोध र आत्मग्लानि महसुस गर्दछ तर पनि पार्टीका तमाम विसंगतिबिरुद्द बोल्ने सहास गर्दैन । किनकी आफूलाई पार्टी सदस्यबाट अलग गर्दा एक्लो र दुबल महसुस हुने मनोविज्ञानले काम गरेको हुन्छ । यसरी एउटा स्वाभिमान निरिह बन्ने गर्दछ । हिनताबोध र आत्माग्लानि लिएर जिउनुको पीडा आक्रोश र बिद्रोहमा रुपान्तरण गर्न आफ्नो मनोविज्ञानमा परिवर्तन जरुरी छ ।

झिगाको ठूलो झुण्ड रोज्ने कि मौरीको समूह ? के हामी मेरो पार्टी भनी ब्रह्मलुटको किनाराको साक्षी बस्दै जाने कि बिद्रोह र विकल्पको बाटो खोज्ने ?

झिगाको ठूलो झुण्ड रोज्ने कि मौरीको समूह ? के हामी मेरो पार्टी भनी ब्रह्मलुटको किनाराको साक्षी बस्दै जाने कि बिद्रोह र विकल्पको बाटो खोज्ने ? अब हामीले आफ्नो विबेकको सुझबुझ पूर्वक उपयोग गर्नु पर्दछ । औला ठडाउनै पर्दछ । राजनीतिमा निष्ठा र भरोसा पुनर्थापन गर्न जरुरी छ, जसको लागि नेतृत्वले हिजो जे गरे, त्यसको लागि धन्यवाद दिदै आजको लुटतन्त्रमा आफ्नो ईष्ट देवता जस्तो मान्नु जरुरी छैन ।

राजनीतिलाई नाफाको व्यवसाय, अमुक नेताको देवत्वकरण होइन र राजनीति समाज र देश रुपान्तरणको पक्षमा ल्याउन प्रतेक ईमान्दार कार्यकर्ताको जिम्मेवारी र दायीत्व हो । कुन वर्ग र पक्षको हितमा लाग्ने त्यो तपाईको निजी छनौट हो । सुरुमा उल्लेख गरिए जस्तै के हामीले रामायण प्रसारण हुने टिभी सेटमा आउने कलाकारलाई साक्षात भगवानको रुपमा विस्वास गरी पूजाआजा, धुपबत्ति गरी फूलमाला चढाउने कि त्यो भ्रम मेटाउने ?

कलाकारिताको मात्र सम्मान गर्ने हो, देवत्वकरण नगरौ । जीवन्त कलाकारिताका लागि त नकाराम्क भूमिकाको पनि कदर हुन्छ । चेतना होस्, भुटेको बिउ उम्रदैन र बकैनाको रुखमा रुद्राक्ष फल्दैन ।