कविता : भूकम्प

मेरो शीरैमाथि घोप्ट्याएर
अग्लो धरहरा
मेरो टाउकोमा
अजङ्गको घन ठोकिस्
के म तर्सिएँ
अहँ
तँभन्दा
ठूलाठूला भूकम्पहरू त दिनैपिच्छे मैले थेगिरहेछु
पेटमा
र सिँहदरबारका चोटाकोठामा

अब सगरमाथाको मियो समाएर
कुइँकुइँ घुमाए पनि
म मामुली सम्झिएर
निदाइ रहूँला

जब म व्युँझन्छु
त्यो बेला मेरो एक झट्का
तैँले कसरी थाम्छस् ?
म निदाएझैँ गरी
सोचिरहेको छु ।