अनैतिकताका श्रृङ्खलाबद्ध
तीखा किला ठोकेका काला बूटहरु
निर्ममतापूर्वक बारम्बार टेकिरहेछन्
कार्यकर्ताको आसाको काँधमा, र
दिनभरी लज्जाहीन रत्यौली खेलेर
मास्दै जनताको विश्वासको बाली
झ्यालढोका बन्द घरको कौसीमाथि
उक्लिरहेछन् संसाझै, र
डकैती गरेर पालैपालो
लुटिरहेछन् अस्मिता
सुत्केरी आमाहरुको
फेरी पनि
काला बूटहरुमा लागेका धव्बाहरु मेटाउन
विचारको पालिस र प्रतिबद्धताको बुरुस लिएर
झ्यालढोका बन्द घरको बाहिरपट्टी
इमान्दार कार्यकर्ता भएर
सगरमाथा झैं अटल
उभिरहेको छु
पहिले पहिलेको जस्तो
मीठो र पारिलो घाम लाग्न
छोडेकै हो कि क्या हो ?
पहिले पहिलेको जस्तो
हँसिया बोकेर लेकबेशी गर्न
विर्सिएकै हो कि क्या हो ?
हथौडा बोकेर आरन र कारखानामा काम गर्न
आवश्यक नभएकै हो कि क्या हो ?
अजिङ्गर हुर्काएर वस्तीमा
विषको खेती गर्नेहरु देखिएका छन्
विचौलिया खेलाएर राजनीतिमा
पैसाका खेती गर्नेहरु बढेका छन्
फेरी पनि
कपडामा लागेका दागहरु पखाल्न
इमान्दारीको साबुन र आश्वासनको घडा भरेर
झ्यालढोका बन्द घरको बाहिरपट्टी
इमान्दार कार्यकर्ता भएर
बकुल्ला झैं अविचल
ढुकिरहेको छु
नेपाल देशका दाजुभाई दिदीबहिनी –
के तपाँई
मलाई अझै
उत्तिकै गर्विलो र सम्मान लायक देख्नुहुन्छ ?
१९ भाद्र २०७७




