म चिन्दिनँ तिमी काे हाै ?
घर कहाँ ? कुन देशकी हाै ?
तर जब देख्छु तिम्रो तस्वीर
याे जान्दछु कि तिमी
विश्वसुन्दरी हाै
तिम्रो कालाे छालामा
प्रेमको गहिरो रङ्ग छ
काम गर्दागर्दै हाँसिरहेकाे
तिम्रो अाेठमा
हजार फुलहरूकाे मुस्कान छ
पसिनाले लतपत तिम्रो शरीरबाट अाउने
श्रमको सुगन्धअघि
अन्तरास्ट्रिय कम्पनीको दामी अत्तर पनि
कमसल बनेको छ
माटो पाेतिएकाे तर घामजस्तै उज्यालो
तिम्रो अनुहारअघि
बहुराष्ट्रिय कम्पनीको महङ्गो क्रिम पनि
बेकार बनेको छ
राताे मखमली कारपेटमा
क्याटवाक गर्न नपाएर के भाे र
तिम्रो खाली पैतलाले धर्तीकाे
सुखद स्पर्श गरेकाे छ
बदनमा ब्रान्डेड कम्पनीको
फेसनेदार पहिरन नभएर के भाे र
मिहिनेतले सुडाैल बनेकी तिमीले
जे लगायाे त्यही अाफै
मनमाेहक बनेको छ
नाम के हाे ? कहाँकी हाै ?
थाहा छैन मलाई
तर तिमीलाई नचिने पनि
मेरो अाँखामा तिम्रो तस्वीर
विश्वसुन्दरीकाे बनेकाे छ ।




