नेपालको राजनैतिक, पेशागत र व्यावसायिक आचरणको संक्षिप्त शैद्धान्तिक विवेचना

पृष्ठभूमिः कोभिड-१९ ले मूलतः स्वास्थ्य क्षेत्रमा कार्यरत पेशाकर्मी/व्यवसायीहरुमा पेशागत/व्यावसायिक दवाव सृजना गरेको छ। कोरोना भाइरस आफुमा सर्नसक्ने जोखिम अर्थात् आफ्नो ज्यान जोखिममा राखेर पनि संक्रमितहरुको सेवा गर्नु पर्ने पेशागत दायित्व निर्वाह गर्नका लागि अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने अवस्थामा अहिले चिकित्सक, स्वास्थ्य प्राविधिक, नर्स आदि छन् र उनीहरुले त्यस्तो सेवा प्रदान गरिरहेका छन्।

यस्तै २०७२ बैशाखको महाभूकम्पको बेलामा भूकम्पबाट प्रभावित संरचनाहरुको अवस्था अध्ययन गर्नका लागि भूकम्पबाट प्रभावित जोखिमयुक्त संरचनाभित्र पस्नु इञ्जिनियरहरुको पेशागत दायित्व थियो भने उद्धारकर्मीहरु पनि उत्तिकै जोखिम मोलेर संरचनाभित्र पुरिएका र चेपिएकाहरुको उद्धारमा लागेका थिए। यो पेशागत/व्यावसायिक उत्तरदायित्वको उदाहरण मात्र हो। देशको राजनीतिले पेशा/व्यवसायलाई प्रभाव पार्ने भएकोले राजनैतिक व्यक्तिहरुको आचरण (व्यवहार) पनि यस चर्चामा प्रत्यक्ष अप्रत्यक्षरुपमा जोडिने छन्। यहाँनेर पेशा/व्यवसायलाई कसरी बुझ्ने भन्ने बारेमा स्पष्ट हुन आवश्यक देखिन्छ।

पेशा/व्यवसायः अनुसन्धान, शिक्षा र/वा तालिमको माध्यमबाट आर्जित विशेष ज्ञान र दक्षतालाई अरुको हितमा उपयोग गर्न तयार व्यक्तिहरुको विशिष्ट विषयगत समूहलाई पेशा भनेर बुझ्नु पर्ने हुन्छ। पेशा र व्यवसायलाई एउटै मान्ने गरिएको पनि पाईन्छ। म चाँही व्यवसायलाई पेशाभन्दा अलि फरक ढंगले बुझ्न चाहन्छु। व्यवसाय गर्न पेशाको निमित्त आवश्यक ज्ञान र दक्षता आवश्यक नपर्न सक्छ तर पेशा र व्यवसाय दुबैका निमित्त सम्बन्धित पेशा र व्यवसाय अनुसारको पेशागत वा व्यावसायिक आचरणको अनुसरण गर्नु पर्ने हुन्छ।

पेशागत आचरण सम्बन्धित पेशागत संस्थाहरुले बनाउँछन् र उनीहरुले नै सम्बन्धित पेशाको नियमन पनि गर्दछन्। उदाहरणको लागि नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल नर्सिङ्ग संघ आदिलाई लिन सकिन्छ। व्यवसायको प्रकृति हेरी विभिन्न मापदण्डहरु तोकिएका हुन्छन् र व्यवसाय गर्ने व्यक्ति वा संस्थाले तोकिएको मापदण्ड पुरा गरेको हुनुपर्छ र सोही अनुसार व्यवसाय गर्नु पर्दछ। उदाहरणको लागि अस्पताल वा औषधी पसल वा होटेल सञ्चालन गर्नेजस्ता कामलाई लिन सकिन्छ ।

अहिलेको समस्या के होः कोभिड-१९ को कठीन परिस्थितिमा सरकारको तयारी र पटक पटकको व्यवहारले सरकारले आफ्नो विश्र्वसनीयता र जनआस्था गुमाएको अवस्था छ। नियतवस नहुन सक्छ तर घटनाहरुले भ्रष्टाचारजन्य काम भैरहेको नै आभास दिइरहेको छ। चाहे कोभिड-१९ को सुरुको अवस्थामा खरिद गरिएको स्वास्थ्य उपकरणहरु हुन्, भेन्टिलेटर थप्नुको सट्टा गाडी खरिदमा देखिएको मोह होस् वा विकास आयोजनाहरुसंग सम्बन्धित खरिद होस् वा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने प्रसंग होस्, सरकार बारम्बार चुकेकै छ । अपारदर्शी भएकै छ। यदि यस्तो क्रियाकलापमा नियतवसको लालच लुकेको छैन भने अक्षमता (Incompetency) वा हेलचेक्र्याइँ (Negligence) वा दुबै रहेको मान्नु पर्ने हुन्छ र सार्वजनिक पद धारण गर्ने जो कोहीको लागि पनि यस्तो खालको अक्षमता वा हेलचेक्र्याइँ क्षम्य हुनुहुँदैन।

पेशा अपनाउनेहरुको निमित्त अक्षमता वा हेलचेक्र्याइँको स्थिति हुनु भनेको पेशाको अभ्यास गर्न अयोग्य रहनु हो भन्ने बुझ्नु पर्ने हुन्छ। मेलम्ची आयोजनाको सुरुङमा प्रेशर टेष्ट गर्दा इञ्जिनियरले ज्यान गुमाउनु परेको घटना प्रति इन्जिनयरिङ समुदाय मौन देखिन्छ । अस्पतालहरुमा आवश्यक पिपिइको अभाव एकातिर छ सरकार भने निर्देशन दिनु नै सबभन्दा महत्वपूर्ण काम हो भन्ने भ्रमबाट मुक्त हुन सकेको देखिदैन। कतिपय डाक्टरहरु अस्पताल र निजी क्लिनिक बन्द गरेर घरमा बसिरहेका छन् तर मेडिकल समुदाय मौन छन्।

उदाहरणको लागि अहिलेको महामारीको अवस्थामा स्पष्ट प्रोटोकल तयारी गरेर कोभिड-१९ लाई प्राथमिकतामा राखेर अरु स्वास्थ्य सेवा प्रदान गर्ने, नेपालको आफ्नै विशिष्ट अवस्था र क्षमताको विचार गर्दै जिम्मेवार स्वास्थ्य संस्थामा रहेका जिम्मेवार चिकित्सकहरुले तयार गरेर, स्पष्ट एवम् आधिकारिक निर्देशन जारी गर्न र त्यसको प्रभावकारी नियमन गर्न सक्नु पर्ने होइन र? एम्बुलेन्स खोज्दा खोज्दै विरामी मर्नु परिरहेको अवस्था छ। त्यसैगरी निर्माणमा काम गर्ने निर्माणस्थल र श्रमिकहरुको स्वास्थ्य र सुरक्षाको लागि, नेपालको आफ्नै विशिष्ट अवस्था र क्षमताको विचार गर्दै जिम्मेवार इञ्जिनियरिङ संस्थामा रहेका जिम्मेवार इञ्जिनियरहरुले स्पष्ट एवम् लागू गर्न सकिने प्रोटोकल तयार गरी जारी गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनको नियमन गर्नु पर्ने होइन र ?

पेशागत मर्यादा र सामाजिक पहिचानः कुनै पनि पेशामा लागेका व्यक्तिहरुको दक्षता (Competency) र विश्र्वसनीयता (Trustworthiness) ले समाजमा त्यस पेशाप्रतिको मर्यादालाई उँचो राख्न सघाउ पुर्‍याउँछ तर हाल नेपालमा समान्यतया सबै पेशाले विश्र्वशनीयता गुमाएको अवस्था छ। आजभन्दा १५/२० वर्ष अघिसम्म डाक्टर, इञ्जिनियर वा वकिलजस्ता पेशाहरुको मर्यादा धेरै उँचो थियो र समाजमा उनीहरुको राम्रो आदर हुन्थ्यो।

राम्रो डाक्टर धनको कारणले नभै पेशाप्रतिको उसको निष्ठा, विश्र्वशनीयता र उसले विरामीसंग गर्ने व्यवहारको कारण समाजले उसलाई चिन्दथ्यो। तर यो १५/२० वर्षको अवधिमा (क) पेशा व्यावसायीकरण हुँदै गएको, (ख) कतिपयले पद र अन्य लोभको कारण दल र गुटगत राजनीतिमा पेशालाई समर्पित गर्दै गएको, र (ग) देशको राजनीति र सरकारले त्यसमा उर्वरता प्रदान गर्दै गएको कारण पेशाको स्थिति खस्कँदै गएको हो। पेशाको मूल्य र मान्यता (Value) स्थापित गराउने तर्फ सम्बन्धित परिषद्हरुले पनि अगाडि उल्लेख गरिएकै कारण कुनै भूमिका खेल्न सकेनन् । फलस्वरुप, नेतृत्व र क्षमताविहीन राजनीतिको छायाँमा हुर्कदै गएको पेशाको ज्ञान र दक्षताको स्तर कमजोर हुँदै गयो।

पेशाविद्हरु पनि राजनितीले बोल्न चाहेको भाषा बोल्ने र पेशागत रुपमा सही र गलत छुट्याउँदै पेशागत अडान लिन नसक्ने अवस्थामा पुगेको देखिन्छ। पेशा नै कमजोर भएपछि आम कर्मचारीहरुको मनोवल पनि उठ्न सकेको छैन। कर्मचारी-प्रशासनलाई राजनैतिक नेतृत्वले नराम्ररी थिचेको अवस्था छ। कर्मचारी-प्रशासनलाई सवल र सक्षम राख्न नसक्नुमा सरकारका मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरुले जिम्मेवारी लिनु पर्ने हुन्छ तर यसतर्फ खासै ध्यान गएको देखिदैन।

नेपालका व्यवसायीहरुले पनि आफ्नो जिम्मेवारीपूर्ण (Responsible), भरपर्दो (Reliable) र नैतिक (Ethical) उपस्थिति देखाउन सकेको पाइएन। निजी क्षेत्रमा संचालित अस्पताल वा विद्यालय वा निर्माण व्यवसायी वा अन्य उद्यमी व्यवसायीहरु कसैले पनि अहिलको विषम परिस्थितिमा राज्यमा आफ्नो प्रभावकारी उपस्थिति देखाउन सक्नु भएन ।

राज्यको ढुकुटी र शक्ति परिचालन गर्ने अधिकार सहित सरकार चलाउने दलहरु र संसदमा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलहरुले यसो हुनुको जिम्मेवारी लिनै पर्दछ। तर भागबण्डामा नै समग्र राजनीति र नेताहरु अलमलिएको देखिन्छ। यसलाई नीति विज्ञानको भाषामा के भन्ने – हेलचेक्र्याइँ (Negligence) भन्ने कि ? अक्षमता (Incompetency) भन्ने ? वा उनीहरुको यस स्थितिलाई पागलपन (Insane) वा हठी (Idiot) व्यवहार भन्ने? उनीहरुको यस प्रकारको व्यवहार नैतिक र अनैतिक भनेर विश्लेषण गर्ने स्तरसम्मको पनि भएको देखिदैन।

नैतिक आचरणः पेशा वा व्यवसाय बाहेक पनि सामान्य मानिसले गर्ने कार्य समेत सामाजिक रुपमा मान्य हुने नैतिक आचरणभित्र रहे नरहेको (नैतिक वा अनैतिक) भनि बहश हुने गर्दछ। कतिपय विकसित समाजमा नैतिक आचरणको मूल्य ज्यादै माथि हुन्छ र कुनै घटना घटेमा त्यसको जिम्मेवारी लिने गर्छन्। हाम्रो मुलुकमा नैतिक आचरणको अवस्था यति कमजोर छ कि यहाँ दोहोराएर त्यस्तो काम गर्दा इज्जत भएको ठान्छन्। यही हो सामन्ती संस्कार। यसले समाज विकासको अवस्थालाई देखाउँछ। कतिपय विकसित देशका जननिर्वाचित नेता एवम् पदाधिकारीहरु सार्वजनिक कोषको पैसा अर्थात् सरकारी तलब भत्ता खानुलाई सरमको विषय ठान्छन् र पदमा वहाली रहँदा त्यस अनुरुप आफुले काम गर्न नसके लज्जाको अनुभव गर्छन् तर हामीकहाँ पद निवृत्त भएपछि पनि सरकारी सुविधाको उपयोग गर्नुलाई प्रतिष्ठाको विषय मानिरहेका छन्।

यो स्थिति राजनैतिक नेतादेखि लिएर उच्च पदस्थ कर्मचारीहरुको पनि रहेको छ। गणतन्त्रले पनि चिर्न नसकेको यो विडम्वना हो नेपालको। स्वास्थ्यकर्मीलाई भेन्टीलेटरको रकम छुट्याउन सकिरहेका छैनौं तर ‘दान र ऋण’को रकम खर्च गरेर तथाकथित भिआइपीहरुको सुरक्षामा कमी हुन दिएको छैन भने त्यस्तो सुरक्षा लिनेहरुलाई पनि कुनै ग्लानी महशुस भएको देखिदैन, एकाध अपवाद बाहेक। यसको अर्थ हो नैतिक हिसावले हामी ज्यादै कमजोर अवस्थामा छौं। त्यस्तो सुविधा लिएका प्रत्येक घरका सदस्यले आफ्नै घरभित्र प्रश्न गर्न सक्ने अवस्थामा हाम्रो समाजलाई पुर्‍याउन निकै मेहनत गर्नु पर्ने देखिन्छ।

अन्त्यमाः नैतिक/आचरणशास्त्रको सिद्धान्तले सोचसमझ भएको मानिसले गरेको आचरण (व्यवहार) मात्र नैतिक वा अनैतिक भनेर मूल्याङ्कन गर्ने गरिन्छ भन्ने मान्यता राख्दछ। प्रकृति प्रदत्त घटनाहरु – उदाहरणको लागि बाढी आउनु वा हावाहुरीले नोक्सान गर्नु जस्ता घटनामा हामी प्रकृतिले ठीक गर्‍यो कि गल्ती गर्‍यो भनेर तर्क गर्दैनौं। आवश्यक पूर्व तयारी नगरेकोमा वा सावधान नरहेकोमा मानिसकै आलोचना गर्छौं। त्यस्तै जनावर वा बालक वा होस गुमाएको (पागल) मानिस वा मूर्ख (हठी) ले गर्ने क्रियाकलापहरु पनि ठीक र बेठीकको तराजुमा राखेर तौलने गरिदैन। कुनै पनि सोचसमझ भएको (Prudent and rational) व्यक्ति छ भने उसबाट अन्जानमा कुनै गल्ती हुनगएमा उसले आफ्नो गल्तीप्रति क्षमा याचना गर्दछ र त्यस्तो व्यवहार दोहोर्‍याउँदैन।

त्यसैले आफुबाट भएका गल्ती सुधार्न नसकेमा वा त्यस्ता गल्तीहरु बारम्बार गरिरहेमा हामी मानिस भएको ठहर्देन र हाम्रो व्यवहार वा आचरणले हामीलाई, नैतिक/आचरणशास्त्रको सिद्धान्त अनुसार, पशु वा मूर्ख (हठी) को कोटीमा राख्ने देखिन्छ। यस अर्थमा नेपालको सन्दर्भमा राजनैतिक नेतृत्वमा रहेका र अन्य महत्वपूर्ण जिम्मेवारीमा रहेका पदाधिकारीहरुले र विभिन्न पेशामा आवद्ध जिम्मेवार पेशाकर्मीहरुले आफू कुन कोटीमा पर्छु भनेर एकपटक स्वःमूल्याङ्कन गरि हेरे हुन्छ भन्ने लाग्छ। साथै राजनैतिक दलका जिम्मेवार युवाकार्यकर्ता एवम् अन्य शोधकर्ताहरुले यस विषयमा गहिरो अध्ययन अनुसन्धान गर्न गराउन जरुरी देखिएको छ।