तिम्रो काँधको कन्चनजङ्गा चढेपछि नै
जागेको हो म मा उचाइको मोह
तिम्रो औँलाको अंकुसे साथ छुटेपछि नै
बुझेको हुँ छुटाईको अर्थ
तिम्रो छातीमा सिउरी खेल्दै
घाँटिमा पिङ खेल्न पाएपछि मात्रै
बल्ल दसैँ आउने गर्थ्यो मेरो
तिम्रो दौराको खल्तिबाट
पिपलगेडी निस्केपछि बल्ल
चाडपर्व सुरु हुन्थ्यो मेरो ।
बा! आमा सधैँ झुटो बोल्छिन म सँग
`बा खै` आमा भन्दा
तारा देखाउँदै भन्छिन्
उ तेरो बा!
बा, तिमी साँच्चै तारा बनेका हौ भने
किन चम्कन्नौ मेरो चकमन्न रातमा
बा, तिमी साँच्चिकै आकाशमा छौ भने
भिज्दा निथ्रुक्क वियोगको झरीले
किन ओडाउन्नौ छाता सान्त्वनाको ।
बा!
तिमी जहिले देखि दैलो माथिको सिसाको फ्रेममा बस्न थाल्यौ
हो त्यतिखेर बाटै बिद्रोही भएको हूँ म
तिमीलाई के थाहा
तिमी बोलेनौ भन्ने रिसले
कतिचोटि फुटाएँ फोटाको फ्रेम
मन नपरेर आमाको सेतो सारी
कत्ति चोटि रँगाइदिएँ
मेरो अौँलाको रातो रगत छिर्केर
मलाई सबैभन्दा मन पर्ने गीत गाउने
आमाका चुरा बज्न छाडेपछि
चुरा किन्दिन्छु आमालाई भन्दै
कत्ति चोटि फुटाइदिएँ खुत्रुके ।
बा! तिमीले अोइलाएको फूलको
माला लाउन थालेपछि हो
मेरी आमा दिनदिनै सुक्सुकाउन थालेकी
तिमीलाई बाँसका खाटमा हालि
काकाहरुले नब्युँझाइ लगेपछि हो
खै किन हो मेरी आमाले
चुरा र सिन्दुरको बट्टा फुटाएकी ।
तपाईं सधै `म गएँ है बाबू´ भनेर घरबाट निस्कँदा
प~र सम्म पछ्याउँदै कुद्थेँ म
बुझ्न सकिरहेको छैन अहिलेसम्म
कहिल्यै नरिसाउने मेरा बा
किन रिसाए होलान् त्यति औधी
र गए,`जान्छु´ सम्म पनि नभनि ।
आऊ बा! निस्क अब त्यो सिसाको फ्रेमबाट
भयो बा ! अब झर त्यो आकाशका ताराबाट
ऊठ बा! ब्यूँझ अब त्यो बाँसको खाटबाट
भुलेको छैन तपाईँले सुनाएको श्रवण कुमारको कथा
मलाई तपाईं बूढो भएको देख्ने मन छ
मलाई तपाईंको हात डोराउँदै हिड्ने मन छ ।
२०७७/०५/०३/०४









