माधव घिमिरेप्रति कम्युनिस्टको असीम श्रृद्धा किन ?

मैले बुझ्न सकिनं ।
राजा ज्ञानेन्द्र शाहीले प्रदान गरेको ‘राष्ट्र कवि’ को पगरीलाई शानका साथ लाएर हिँडेका कवि माधव घिमिरेको निधन भएको छ । कोही पनि मानवको मृत्युमा श्रद्धाञ्जली अर्पण गर्नु शोभनीय नै होला । तर, प्रस्तुतिको स्तर र शैलीले भावी पुस्तालाई हामी केही सन्देश दिइरहेका हुन्छौं । उनीप्रति असिम भावको श्रद्धाञ्जली व्यक्त गर्नाले भावी पुस्तालाई ‘मार्क्सवादी’ र ‘कम्युनिस्ट’ हरुले के सन्देश दिन खोजेका हुन्, केही बुझ्न सकिनं ।

मार्क्सवादले के सिकाएको छ भने सभ्यताको सुरुदेखि मानव समाज वर्गीय छ । वर्गीय समाजमा राज्यसत्ता जुन वर्गको हातमा हुन्छ, राज्यले त्यही वर्गको सेवा गर्दछ । हिजोको राजतन्त्रात्मक राज्यसत्तामा राज्यले सामन्त वर्ग र दलाल पुँजीजीवि वर्गको सेवा गर्यो । राजतान्त्रिक नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाही थिए । उही राजा ज्ञानेन्द्रले कवि माधव घिमिरेलाई ‘राष्ट्र कवि’ को पगरी दिए । त्यसलाई वडो ठाँटका साथ शीरमा लाएर उनी हिँडे । देशमा राजा ज्ञानेन्द्र शाहीको निरंकुश शासनबिरुद्ध नेपाली जनताले जनयुद्ध र जनसङ्घर्ष गरे ।

त्यतिखेर कवि माधव घिमिरे राजा ज्ञानेन्द्रले दिएको शाही प्रज्ञा प्रतिष्ठानको उच्च पदमा आसिन भई राज्यको भत्ता खाई बसे । उनी २०६२/६३ को लोकतान्त्रिक आन्दोलनको पक्षमा उभिएको दृष्टान्त छैन । उनी नेपाली भाषाका कवि पक्कै हुन् । तर, आम नेपाली श्रमिक वर्ग र सर्वसाधारणको हितमा उभिएका कवि भएको थाहा भएन । वरु राजतन्त्रको छत्रछाँयामा हुर्के बढेका कवि हुन् उनी ।

२०३८ सालमा नेपाली रङ्गमञ्चमा एउटा लोकप्रिय गिती नाटक मञ्चन हुन्छ । त्यो थियो सीम्मा गिती नाटक । मुग्लान पसेका गोर्खाली सेनाहरुलाई विदेशीको गुलाम गर्नुभन्दा नेपाल भित्रकै शत्रु तत्कालीन निरंकुश सामन्ती राजशाही एवं पञ्चायती व्यवस्थाविरुद्ध लड्न स्वदेश फर्कन आह्वान गरेको साहित्यकार रायन श्रेष्ठद्वारा रचित र हरिकृष्ण दर्शनधारीद्वारा निर्देशित प्रगतिवादी सीम्मा गिती नाटक थियो सीम्मा गिती नाटक । त्यो गिती नाटक मञ्चन हुँदा त्यसले हजारौं सर्वसाधारणलाई आकर्षित गरेको थियो ।

कवि माधव घिमिरे अब्बल दर्जाका नेपाली साहित्यका कवि पक्कै थिए, तर उनी नेपाली श्रमिक वर्गीय बिचारका नभई यथास्थितिवादी बिचारका थिए ।

त्यसबाट आत्तिएर तत्कालीन सामन्ती राज्यले सीम्मा गिती नाटकको काउन्टरमा प्रज्ञा भवनमा प्रेम कहानीमा आधारित माधव घिमिरेको ‘मालती मङ्गले’ गिती नाटक मञ्चन गरेको अहिले पनि झल्झल्ती सम्झन्छु ।

कवि माधव घिमिरे अब्बल दर्जाका नेपाली साहित्यका कवि पक्कै थिए, तर उनी नेपाली श्रमिक वर्गीय बिचारका नभई यथास्थितिवादी बिचारका थिए । अहिले उनको निधनमा मानौं कि गोर्की वा लूशुनको मृत्यु भएको झैं नेपाली ‘मार्क्सवादी’ र ‘कम्युनिस्ट’हरुले भाव विभोरका शब्दहरु खर्चिरहेको देख्दा उनीहरुले श्रमिक वर्गीय आन्दोलनका लागि भावी पुस्तालाई के सन्देश दिन खोजेका हुन् केही बुझ्न सकिन ।