अथक भाषा सेवक ठाकुर चन्दनसिंह

(भारत स्वतन्त्रपूर्व सन् १९२९ मा नै साइमन कमिसनसमक्ष नेपाली भाषा मान्यताको माग गर्ने ठाकुर चन्दनसिंहले सन् १९२४ मा नै ‘अखिल भारतीय गोर्खालिग’ नामक सामाजिक संगठनको स्थापना गरेका थिए ।)

नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा अन्तर्भूक्त गरिनुपर्छ भन्ने आधिकारिक मागका प्रणेता देहरादूनका आनन्दसिंह थापालाई मानिएतापनि भारतमा नेपाली भाषालाई मान्यता दिइनुपर्छ भन्ने मागको उठान यसभन्दा धेरैअघि स्वतन्त्रपूर्वकालमा नै देहरादूनकै ठाकुर चन्दनसिंहबाट भएको थाहा पाइन्छ ।

आनन्दसिंह थापाले १८ जनवरी १९५६ का दिन भाषा मागको पहिलो मागपत्र तत्कालिन राष्ट्रपति राजेन्द्रप्रसादसमक्ष चढ़ाएका थिए भने यसभन्दा २७ वर्षअघि नै अर्थात् २५ फरवरी १९२९ –का दिन नै ठाकुर चन्दनसिंहले साइमन कमिसनसमक्ष भारतमा नेपाली भाषालाई मान्यता दिइनुपर्छ भनी कुराकानी गरेको थाहा लाग्दछ ।

दार्जिलिङमा डम्बरसिंह गुरुङको नेतृत्वमा अखिल भारतीय गोर्खालीग पार्टीको स्थापना हुनभन्दा १९ वर्षअघि नै सन् १९२४ को १५ फरवरीका दिन ठाकुर चन्दनसिंहले देहरादूनमा ‘अखिल भारतीय गोर्खालीग’ नामक सामाजिक संगठनको स्थापना गरिसकेका थिए । भारतमा रहेका गोर्खाहरूलाई राष्ट्रिय मूलधारमा जोड्दै, उनीहरूमा सामाजिक, सांस्कृतिक, शैक्षिक र भाषिक चेतनाको विकास गराउँदै उनीहरूको हक-अधिकार दिलाउने काम नै गोर्खालीगको मूल उद्देश्य रहेको थियो ।

प्रो. डा. राजेश गौतम र शिवहर सिंह प्रधान ‘पागल’ –को सहलेखनमा प्रकाशित ‘ठाकुर चन्दन सिंह र उनको योगदान’ नामक पुस्तकअनुसार भारतमा नेपाली भाषालाई मान्यता दिलाउने माग गर्नेहरूमा अखिल भारतीय गोर्खालीग नै पहिलो संस्था थियो भने ठाकुर चन्दन सिंह नै पहिलो भारतीय नेपाली/व्यक्ति थिए ।

आधिकारिकरूपमा नेपाली भाषा मान्यतासम्बन्धित उनीद्वारा प्रेषित कुनै पत्र प्राप्त नभएपनि स्वतन्त्रपूर्वकालदेखि नै भारतीय गोर्खाहरूको निम्ति राष्ट्रिय स्तरको संगठन स्थापना गरेर सरकारसमक्ष गोर्खाहरूको पक्षमा पटक-पटक भेटघाट र पत्राचार गर्ने ठाकुर चन्दनसिंहको योगदान स्तुत्य छ । उनले गोर्खालीगको मुखपत्र ‘गोर्खा संसार’ (सन् १९२६ देखि प्रकाशित), ‘तरुण गोर्खा’ साप्ताहित पत्रिका (८ अगस्त १९२८ देखि प्रकाशित), The Himalayan Review (२५ जनवरी १९३३ देखि प्रकाशित) र ‘स्वतन्त्र नेपाली’ (सन् १९५५ देखि प्रकाशित ) आदि पत्रिकाहरूको सम्पादन पनि गरेर पनि नेपाली समाजमा भाषा, साहित्य, शिक्षा र चेतनाको बिउ छर्ने काम गरेका थिए ।

उनले ब्रिटिश सरकारका भाइसरायसमक्ष गोलमेच सम्मेलनमा भारतीय गोर्खाहरूलाई सहभागी बनाउनुपर्छ भन्ने माग बारम्बार गरेका थिए भने नेपाली चेली मैया राजकुमारीलाई यौनबन्दी बनाई शारीरिक शोषण गर्ने कलकत्ताका हिरालाल अग्रवाललाई खुकुरीले छप्काएर उद्धार गर्ने गोर्खा वीर सपूत खड़कसिंह विष्टलाई जेलमुक्त गर्न पनि उनले रातदिन एक गराएका थिए ।

उनले स्थापना गरेको अखिल भारतीय गोर्खालीगका शाखाहरू देहरादूनबाहिर दार्जिलिङ, खरसाङ, असम, वर्मालगायत अन्य धेरै ठाउँहरूतिर पनि खोलिएका थिए भने सन् १९२६ को सेप्टेम्बर महिनामा आयोजित यसको तेस्रो केन्द्रीय सम्मेलन बमोजिम कालेबुङका बाबु डम्बरसिंह गुरुङ, दार्जिलिङका कवि धरणीधर शर्मा र पारसमणि प्रधानलाई गोर्खालीगको सल्लाहकार समितिमा राखिएको थियो ।

पछिबाट दार्जिलिङमा बाबु डम्बरसिंह गुरुङको अध्यक्षतामा गठित ‘अखिल भारतीय गोर्खालीग पार्टी’-लाई ठाकुर चन्दनसिंहकै नेतृत्वमा स्थापित गोर्खालीगको राजनीतिक संस्करण पनि मान्न सकिन्छ ।

यसरी ठाकुर चन्दनसिंहले सोझैरूपमा नेपाली भाषाको संवैधानिक मान्यताको माग नगरेतापनि यो मागको सुत्रपात हुनुभन्दा २९ वर्षअघिदेखि अर्थात् भारत स्वतन्त्रपूर्वकालदेखि नै नेपाली भाषाको मान्यता, भारतीय नेपालीहरूको सामाजिक, सांस्कृतिक, राजनीतिक हक-हितको निम्ति बोल्नु अनि नेपालीहरूलाई सांगठानिकरूपमा एकीकृत गर्दै लानु सानो काम थिएन ।

उनीद्वारा सम्पन्न यस्ता कामले तत्कालीनरूपमा भारतीय नेपालीहरूमाझ एकताको भाव मात्र सिर्जना गरेनन् तर समकालीन र आगत पुस्तासमक्ष पनि गोर्खा जाति, भाषा, साहित्य, संस्कृति र राजनीतिको निम्ति चिन्तन गर्ने, संगठित हुने र सङ्घर्ष गर्ने आधार तयार पारिदिए । यसैकारण नेपाली भाषाको संवैधानिक मान्यता मागको प्रसंगमा पनि ठाकुर चन्दनसिंहले तयार पारिदिएको पृष्ठभूमि सदैव प्रात:स्मरणीय रहनेछ ।