कविता : बाबा

झाले माले गोरु नारी, ज्वाली र हलामा
पसिनाले भिजायर, बिऊ रोपी गह्रामा
नथाकेर गोडमेल, गर्दै बाली सपार्दै
परिवारको सुखका गीत, गाउँछन् बाबा गलामा

रिणको बोझ भए पनि, दुःख लुकाइ हाँसेर
सन्ततिका लागि आफू, मरेसरी बाँचेर
मर्न दिन्नन् बाबा कहिल्यै, सन्ततिका सपना
परिवारको खुशी किन्छन्, थोपाथोपा साँचेर

हाम्रा लागि अभावको, आँधीबीच लड्छन
गन्तव्यमा पुर्याउन, निरन्तर भिड्छन्
बाबा यदि साथै भए दुनियाँमा कसैका
दुश्मन पनि हार मानी सारथि भइ हिड्छन्

दुष्टबाट देश बचाउन, खुकुरीको धारमा
सन्ततिको भोक मेटाउन, माहुरीको घारमा
हरपल संघर्षमै, लडाइँ उनको अर्को नाम
बाबा जस्तो हुन्न कोही, सिपाही संसारमा

अनुशासन, स्वास्थ्य, शिक्षा, परिवारका गौरव
घरका ईट्टा खेतका आली, बाबाकै हुन् पौरख
हाम्रो मान, अभिमान, मर्यादा र पहिचान
बाबा नै हुन् सीप, दीप, घरको शान र शौरभ