बालुवाटारको नाटक र प्रचण्डको बडी ल्याङ्वेज

यतिबेला नेपाली राजनीतिक रङ्गमञ्चमा यो डायलग खुब चर्चित छ– बैठकबाट डराउने नेता र पानीसँग डराउने किसानको काम छैन । चालु नाटकमा कोरोना, बाढी पहिरो, जीर्ण अर्थतन्त्र, अथाह बेरोजगारीका कारण तीव्र बनेको डिप्रेषण एवम् त्यसको कारणबाट जनता भटाभट आत्महत्या गर्न विवश बनिरहेको सन्दर्भ छैन । छ त केवल राम, रामजन्मभूमि, अयोध्या र चितवनको माडीमा विशाल राममन्दिर बनाउने गुरुयोजना । छ त केवल सी, ट्रम्प र मोदीभन्दा ओली नै सर्वश्रेष्ठ विश्व राजनेता भएको जिकिर !

उतिबेला एउटै नाटक महिनौँसम्म प्रदर्शन हुन्थे । समय पनि प्रशस्त हुन्थ्यो । नाट्यकर्मी र दर्शक उद्दात्त भएर नाट्यमाहोलमा रम्थे । नाटकको समाप्तिपछिको बिदाइ माहोल झन् रोचक हुन्थ्योे । सबैमा तृप्तिको उत्कर्ष देखिन्थ्यो । यो उतिबेलाको कुरा थियो तर, यतिबेला पनि उतिबेलाकै झझल्को हुनेगरी बालुवाटारमा चलिरहेछ तर, कलाहीन, उत्साहहीन, दर्शकहीन र उद्देश्यहीन नाटक । नाटकको मुख्य भूमिकामा ओली र प्रचण्ड छन् ।

सहायक भूमिकामा झन्डै एकदर्जन कलाकार छन् । नेपथ्यमा त कति हो कति कलाकार । विभिन्न शक्तिकेन्द्रले नयाँ नयाँ पटकथा लेखिरहेका छन् । जे होस्, बालुवाटारको नाटक जति जति लम्बिँदो छ, उति उति दर्शक घट्दै छन् । नाटकमा पट्यारलाग्दो उही संवाद र उही दृश्य छ, “राजीनामा देऊ ।” “दिन्नँ ।” … “राजीनामा देऊ ।” “दिन्नँ ।” … “राजीनामा देऊ ।” “दिन्नँ ।”

डबल नेकपाका अध्यक्ष केपी ओलीले प्रचण्डलाई भनेछन्, “म कुनै पनि हालतमा कुनै पनि पदबाट राजीनामा दिन्नँ, बहुमत हुनेहरूले आफ्नो निर्णय लिएर अघि बढे भैगो नि त !” … “गैरजिम्मेवार मान्छे अन्त खोज्नैपर्दैन, मेरै पार्टीमा छन् ।” … “बहुमतको आडमा मलाई पेल्न खोज्ने ?” … “हुल्लडबाज स्थायी समितिका सदस्य र सडकछाप केन्द्रीय समतिका सदस्यले भन्दैमा किन बैठक बस्ने ?” “प्रचण्डलाई कोरोना लाग्यो कि के हो ? नाकमुखै देखाउन छोडे त !”

बालुवाटारको नाटक जति जति लम्बिँदो छ, उति उति दर्शक घट्दै छन् । नाटकमा पट्यारलाग्दो उही संवाद र उही दृश्य छ, “राजीनामा देऊ ।” “दिन्नँ ।” …

डबल नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि भनेछन्, “ओलीजी न राजीनामा दिनुहुन्छ, न बैठक बोलाउनुहुन्छ !” … “ओलीजी अरूको कुरा सुन्दै सुन्नुहुन्न, ओलीजीलाई अरूको कुरा सुन्यो भने सानो भइन्छ कि भन्ने लाग्छ ।” … “ओलीजी पार्टी फुटाउन चाहनुहुन्छ, हामी पार्टीलाई फुटबाट रोक्न चाहन्छौँ ।” … “पूर्व एमालेहरूलाई एक बनाउनुपर्छ । पूर्वमाओवादीमा पनि तान्नुपर्छ र प्रचण्डमाथि आक्रमण गर्नुपर्छ भनियो ।” यी संवाद बालुवाटारमा चलिरहेको नाटकका हुन् । यी संवाद नेपाली सञ्चार माध्यमका हेडलाइन समाचार बनेका छन् । यो आजको नेपाली संसदीय राजनीतिको यथार्थ चित्र पनि हो ।

‘प्रचण्डलाई हरिबोलको सुझाव’ भन्दै केही कुरा बाहिर आएका छन् । “एक्कासी दुवै पदबाट हट भन्ने कुरा आउँदा त टकराव हुने नै भयो । नक्साको विषय अनि राष्ट्रियताको विषयमा देश एकजुट हुँदै गर्दा प्रधानमन्त्रीबाट हट भनेको कुरालाई त जनताले राम्रो मानेनन् नि” भन्दै हरिबोल गजुरेलले प्रचण्डलाई सुझाव दिएका रहेछन्, “तपाईंले राजीनामा दिएरै भए पनि पार्टीलाई फुट्नबाट बचाउन अनि देश र पार्टीमा देखिएको गतिरोधलाई खोल्न पर्छ !” त्यसको प्रत्युत्तरमा प्रचण्डले पनि भनेछन्, “केही सीप लागेन भने हरिबोलजीले भनेझैँ गर्छु ।”

यो हो प्रचण्डको पछिल्लो राजनीतिक अवस्था र हैसियत । यसले के देखाउँछ भने नेपाली राजनीतिमा प्रचण्डको औचित्य करिब करिब समाप्त भयो । हरिबोलको सुझावसित केपी ओलीको कतै न कतै लिंक भएको अन्तर्वस्तु बुझ्न कुनै समस्या हुनुहुँदैन । आखिर ओली पनि त यही चाहन्छन् । फेरि, प्रचण्ड सकेसम्म तातो पानीले नुहाउने, नसके चिसै पानीले भए पनि नुहाउने मान्छे हुन् भन्ने कुरा कुनै नौलो विषय पनि होइन ।

प्रचण्ड सकेसम्म तातो पानीले नुहाउने, नसके चिसै पानीले भए पनि नुहाउने मान्छे हुन् भन्ने कुरा कुनै नौलो विषय पनि होइन ।

प्रचण्डको एउटा जब्बरको स्वभाव के छ भने उनी आफूबराबर अरूलाई हुनै दिँदैनन् । यो प्रचण्डमा गडेर बसेको गज्जबको सामन्तवादी चिन्तन हो । माओवादी आन्दोलनमा टावरिङ टसलको लामो बहस र इतिहास छ । यसकै कारण कतिले ज्यान गुमाए, कति अङ्गभङ्ग छन् भने कति बेपत्ता छन् । हुँदाहुँदा साथसाथै एमालेमा विलय भएका जनयुद्धकालीन साथीहरूले पछिल्लो चरणमा प्रचण्डलाई छोड्दै गएका छन् । लेखराज भट्टलगायतले यो कुराको पुष्टि गरिदिएका पनि छन् ।

केही ओली र प्रचण्डको बिचमा छन् । यो बिचको यात्रा मूलतः केपी र प्रचण्डमध्ये एक जो सत्ता र शक्तिमा भए पनि त्यसबाट लाभको पद पाउनुसित सम्बन्धित छ । वर्ग, दर्शन, विचार र सिद्धान्त छोडेपछि हुने यस्तै यस्तै हो । कोही कोही सिधा सिधा “जोगी बन्न राजनीति गरेको हो र !” भन्न थालिसकेका छन् । हेर्दाहेर्दै प्रचण्ड माकुराको बच्चाले माउ खाएजस्तो अवस्थामा पुगेका छन् ।
जनयुद्धका नायक प्रचण्ड कुनै बेला नेपालका समकालीन राजनीतिक नेताहरूभन्दा माथि थिए ।

नेपालमा मात्र नभएर उनको चर्चा–परिचर्चा विश्वव्यापी नै हुने गर्दथ्यो तर पछिल्ला दश वर्षको राजनीतिक सङ्क्रमणकालसँगै उनको उचाइ घट्दै गएकै थियो । एमालेमा विलय भएपछि त झन् करिब–करिब चर्चाशून्यको अवस्थामा पुगेको छ । उनको चर्चा भइहाले पनि त्यो नकारात्मक सूचकाङ्कयुक्त हुने गरेको छ । सङ्घर्ष, पार्टीको मुख्य राजनीतिक कार्यदिशा र लक्ष्यभन्दा बिल्कुल विपरीत दिशामा गएपछि प्रचण्डको राजनीति छबि धुलिसात् हुन पुगेको हो । प्रचण्डको राजनीतिक जीवनमा यत्ति छिट्टै भयानक उतार–चढाव आयो । कुनै बेला ‘हाई प्रोफाइल’ का प्रचण्ड यतिबेला ‘लो प्रोफाइल’ बाट गुज्रिरहेका छन् । नेपाली राजनीतिमा उनले शीघ्रोत्थान र शीघ्रपतनको परिचय बनाएका छन् ।

हेर्दाहेर्दै प्रचण्ड माकुराको बच्चाले माउ खाएजस्तो अवस्थामा पुगेका छन् ।
जनयुद्धका नायक प्रचण्ड कुनै बेला नेपालका समकालीन राजनीतिक नेताहरूभन्दा माथि थिए ।

यसका पछाडि सैद्धान्तिक, वैचारिक, राजनीतिक तथा दार्शनिक कारणहरू छन् ।
प्रचण्ड दर्शनमा सारसङ्ग्रहवादी बने । राजनीतिमा मध्यपन्थी–अवसरवादी हुँदै दक्षिणपन्थी सुधारवाद र राष्ट्रिय आत्मसर्मपणवादी बने । उनले भारतीय साम्राज्यवादको दलाल पुँजीपतिवर्गसँग प्रधान अन्तर्विरोध रहेको कुरा दस्तावेजीकरण गरे तर फेरि उनी आफैँ उसैसित घाँटी जोड्न पुगे । उनले पार्टीको पारित राजनीतिक प्रस्तावनाभन्दा विपरीत कार्य गर्न थाले । उनले विभिन्न समयमा विभिन्न घातक एवम् विषाक्त सम्झौता र सहमति गरेर आफ्नो पश्चगामी यात्रालाई पुनर्पुष्टि गर्दै लगे ।

उनले राष्ट्रिय स्वाधीनताको नारा उराले तर व्यवहारमा आफैँले त्यसको अवज्ञा गरे । उनले वामपन्थी, देशभक्त र गणतन्त्रवादीहरूसँग संयुक्त मोर्चा बनाउने कुरा गरे तर व्यवहारमा भारतीय साम्राज्यवादपरस्त र तिनका दलालसँगको सहकार्यमा जोड दिए । उनले कथित शान्ति र संविधानको नाममा क्रान्तिकारी स्पिरिटलाई स्वाहा पारे । उनी संसदीय भासमा उठ्नै नसक्नेगरी भासिए । उदेकको कुरा यो छ कि यतिबेला प्रचण्डको जोड अरूलाई पनि यही दलाल संसदीय व्यवस्थामा भास्नुमा देखिन्छ ।

प्रचण्डले जनतासित औपचारिक रूपमा नै जनतासित सम्बन्ध विच्छेद गरे । उनले माक्र्सवाद पनि छाडेर अध्यात्मवाद अँगाले । उनले माक्र्सवादको जग जनता हो भन्ने कुरालाई नजरअन्दाज गरे । लेनिनले एक सन्दर्भमा भन्न्ुभएको थियो, “सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ भने व्यवहारविनाको सिद्धान्त लङ्गडो हुन्छ ।” लेनिनको यो अभिव्यक्ति प्रचण्डको जीवन–व्यवहारमा सुन्दर ढङ्गले लागु भएको छ । उनले बुर्जुवा सांस्कृतिक झारपातलाई बढावा दिए । हुन त दुनियाँमा कसैले पनि ‘म दक्षिणपन्थी भएँ, म विर्सजनवादी भएँ, मैले जनताका सत्रुसँग सम्झौता गरेँ’ भन्दैनन् ।

प्रचण्डले पनि मुखले यसो भनिहाल्ने भन्ने आँट गरिसकेका छैनन्, तर व्यवहारले भनेको चाहिँ उहिल्यै हो । वर्गसङ्घर्षबाट वर्गसमन्वय हुँदै सम्झौतावादमा फस्नु बहुलवादी सौन्दर्यचिन्तनमा आधारित मान्यता हो । अहिले प्रचण्ड बहुलवादी सौन्दर्यचिन्तनका व्याख्याताजस्ता भएका छन् । यतिबेला जनताले प्रचण्डलाई लेन्डुपे देख्न थालेका छन् । शक्तिकेन्द्रका असली दलाल बन्न सफल भएकोमा गौरव गर्ने ठाउँमा पुगेका छन् यतिबेला प्रचण्ड ।

नले जनयुद्ध रणनीतिक रक्षा, सन्तुलन र प्रत्याक्रमणको शृङ्खला मात्र नभई सामाजिक रूपान्तरणको माक्र्सवादी अवधारणामा विकसित विचार पनि भएको यथार्थलाई बिर्सिदिए ।

यदाकदा मानिसहरूले भन्ने गरेको सुनिन्छ, “जनयुद्धदेखि जनआन्दोलनमा समेत सङ्घीयतासहित नयाँ संविधानको मुख्य मुद्दा उठान गरेको प्रचण्ड यतिसारो गल्नुको कारण के होला ?” नेपाली राजनीतिमा यो असामान्य प्रश्न हो र यसको उत्तर पनि असामान्य नै छ । यो विश्वदृष्टिकोणसित सम्बन्धित कुरा हो । प्रचण्डमा निजी पुँजी र परिवारप्रति चरम आसक्ति मात्र बढेन, उनले भ्रष्टीकरण र अपराधीकरणलाई संस्थागतसमेत गर्दै गए । उनले जनताको मुक्ति, सिद्धान्तप्रति निष्ठा, प्रतिबद्धतालाई आत्मसात् गरेनन् । उनले जनयुद्धमा वीरतापूर्ण सहादत प्राप्त गर्नुहुने महान् अमर सहिदहरूप्रति अपमान गरे । उनले जनयुद्ध रणनीतिक रक्षा, सन्तुलन र प्रत्याक्रमणको शृङ्खला मात्र नभई सामाजिक रूपान्तरणको माक्र्सवादी अवधारणामा विकसित विचार पनि भएको यथार्थलाई बिर्सिदिए ।

नेपालमा आमूल परिवर्तनकारी शक्ति माओवादीले नयाँ र जनपक्षीय राजनीतिक व्यवस्थाको स्थापना गर्न चाहेको थियो । माओवादीले नेपालमा राजनीतिक स्थिरता, आर्थिक समृद्धि, जनताका अधिकारको सुनिश्चितता र राष्ट्रिय स्वाधीनताको माग यसै उठाएको थिएन । तर, आमूल परिवर्तनकारीहरूको सुनिएन । भयानक र कपटपूर्ण धोका भयो, जबरजस्ती प्रतिक्रान्ति लादियो । आज प्रचण्ड जनताका आवाज रत्तिभर पनि सुन्ने पक्षमा छैनन् । उनी जनविरोधी र प्रतिक्रान्तिकारी संविधानको विज्ञापन गरिरहेका छन् ।

क्रान्ति, क्रान्तिकारी आदर्श र क्रान्तिकारी आशावाद त झन् नहुने कुरै भएन । हामीलाई थाहा छ, यस्तो बेला प्रतिक्रान्तिको जवाफ क्रान्तिद्वारा दिनुको कुनै विकल्प हुँदैन ।

यद्यपि जनतासित जनयुद्धद्वारा अनुप्राणित नयाँ संस्कृति र नयाँ यथार्थ छँदै छ । माक्र्सवाद–लेनिनवाद–माओवादको अजेय हतियार एवम् जनयुद्धका विविध अनुभवसहित मुखरित साहस, वीरता, बलिदान र शौर्यको पवित्र भावना बाँकी नै छ । क्रान्ति, क्रान्तिकारी आदर्श र क्रान्तिकारी आशावाद त झन् नहुने कुरै भएन । हामीलाई थाहा छ, यस्तो बेला प्रतिक्रान्तिको जवाफ क्रान्तिद्वारा दिनुको कुनै विकल्प हुँदैन ।

भनिन्छ, नयाँ विचारले नयाँ पार्टी र नयाँ सङ्गठनको माग गर्दछ । क्रान्तिकारीहरूले त्यो मागलाई समय रहँदै ठीक ढङ्गले हल गर्न नसकेमा पुरानो पार्टी र सङ्गठनले नयाँ विचारलाई खाइदिन्छ र अन्ततः त्यहाँ पुरानै विचार हाबी हुन पुग्दछ । यसलाई क्रान्तिकारीहरूले विशेष ध्यान दिन आवश्यक छ । यतिबेला क्रान्तिकारीहरू उच्च मनोबलका साथ आक्रामक बन्न आवश्यक छ । यो आक्रामकता चाहे पार्टी र सङ्गठनभित्र होस् वा चाहे बाहिर नै किन नहोस्, सबैतिर हुन आवश्यक छ ।

हामीले क्रान्तिकारी हुनुमा गौरव गर्नैपर्दछ । धार्मिक एकेश्वरवादी दार्शनिक चिन्तनको ठाउँमा ऐतिहासिक भौतिकवादी चिन्तन, सामन्ती राजतन्त्रको ठाउँमा जनतन्त्र, दलाल–नोकरशाही राष्ट्रिय आत्मसर्पणवादको ठाउँमा अन्तर्राष्ट्रियतावादद्वारा आलोकित क्रान्तिकारी राष्ट्रियता, हिन्दू अधिराज्यको ठाउँमा धर्मनिरपेक्षता, जातीय–क्षेत्रीय एवम् लैङ्गिकलगायत सबैखाले उत्पीडनको ठाउँमा न्याय, समानता र कानुनी राज्यको निर्माणजस्ता विषय जनयुद्धले स्थापित गरेका ऐतिहासिक साक्ष्य हुन् ।

समाजमा वर्गहरू हुन्छन्, त्यसलाई प्रतिनिधित्व गर्ने विभिन्न पार्टी हुन्छन् । हामीले कम्युनिस्ट–सर्वहारावर्गको ऐतिहासिक कार्यभार पूरा गर्नुपर्दछ ।

माओले भन्नुभएको थियो, “सातपटक नाप र एकपटक काट ।” उत्पादनका निम्ति सङ्घर्ष, वैज्ञानिक प्रयोग र वर्गसङ्घर्षमा भाग नलिएसम्म कसैलाई पनि सच्चा ज्ञान प्राप्त हुँदैन । नेपालमा फेरि एकपटक वर्गसङ्घर्षलाई चर्किंदै छ । भुत्ते, भद्दा, ढिलाढाला, वर्गदुश्मनसँग मिलिजुली बस्ने र बाँडीचुँडी खाने संस्कृतिको अन्त्य हुँदै छ । दलाल तथा नोकरशाही पुँजीपति र तिनीहरूको नेतृत्व गर्ने राजनीतिक पार्टीहरूसँग राजनीतिक एवम् वर्गसङ्घर्ष चलाएर अगाडि बढ्नु आजको आवश्यकता हो । समाजमा वर्गहरू हुन्छन्, त्यसलाई प्रतिनिधित्व गर्ने विभिन्न पार्टी हुन्छन् । हामीले कम्युनिस्ट–सर्वहारावर्गको ऐतिहासिक कार्यभार पूरा गर्नुपर्दछ ।

नेतृत्व धेरै गम्भीर विषय हो भन्ने कुरा प्रचण्डको विचलन र त्यसबाट सिर्जित परिस्थितिले दिएको महत्वपूर्ण शिक्षा हो । केही वर्षअघि तत्कालीन एमालेनिकट एक बुद्धिजीवीहरूले सामाजिक सञ्जालमा लेखेका थिए, “म्याउवादी यान्ड कम्पनी प्रालि बौद्धिक र सांस्कृतिक रूपले टाट पल्टिएको हुनाले लिक्विडेसनमा लैजान समिति गठन गरियो भन्ने समाचार सुन्नु नपरोस् !” तत्कालीन एमालेहरूले प्रचण्ड र उनको मण्डलीको डरलाग्दो राजनीतिक, वैचारिक र सांस्कृतिक स्खलनको पहिरोरूपी बडील्याङ्वेज देखेर यस्तो अभिव्यक्ति दिएको हुनुपर्दछ

जतिखेर बाग्लुङको उपनिर्वाचनमा तत्कालीन एमाओवादीको जमानत जफत भएको थियो । प्रचण्डहरूले अध्यात्मवाद र भौतिकवादको संयोजन गर्ने, राजनीतिक क्रान्ति र आर्थिक क्रान्तिलाई अलग–थलग गर्ने, शाही सेनामा जनसेनाको विलय गर्ने, जनसत्ता र जनअदालत विघटन गरी सम्झौतावाद र संसद््वादको अभ्यासलाई एक्काइसौँ शताब्दीको लोकतन्त्र ठहर गर्ने, बिप्पापन्थबाट नोकरशाही पुँजीपतिको दलाली गर्ने काम गरेकै हुन् । हामीलाई यो कुरा पनि थाहा छ कि कागजका घोडाभन्दा जमिनका कुखुरा गतिशील हुन्छन् ।

‘अमाक्र्सवादी’ ह्युगो चाभेजले राष्ट्रसङ्घको महासभामा अमेरिकी राष्ट्रपतिलाई इङ्गित गर्दै भनेका थिए, “भर्खरै सैतान बोलेर गएको छ, यसको दुर्गन्धित हावा अझै चलिरहेको छ ।” ‘माक्र्सवादी’ प्रचण्डले ओबामाको ‘बडील्याङ्वेज सकारात्मक’ देखेका थिए । आजका राजनीतिक विश्लेषकहरूले ‘अमाक्र्सवादी’ ह्युगो चाभेज र ‘माक्र्सवादी’ प्रचण्डको तुलनात्मक विश्लेषण कसरी गर्लान् ! यतिबेला प्रचण्डको बडील्याङ्ग्वेज भयानक सङ्कुचनबाट गुज्रिरहेको छ । हेटौँडा महाधिवेशनमा ‘सार्वभौम’ मुलुक नेपालको सीमा विवाद जनमत–सङ्ग्रहबाट टुङ्ग्याउने ‘सिक्किमेली क्रान्तिकारी दस्ताबेज’ के प्रचण्डले पारित गराएका होइनन् र !

हामीलाई यो कुरा पनि थाहा छ कि कागजका घोडाभन्दा जमिनका कुखुरा गतिशील हुन्छन् ।

आज प्रचण्डको बडील्याङ्वेजमा तनाव, महत्वाकाङ्क्षा, प्रतिशोध, निराशा, अकर्मण्यता, कायरता र आत्मसमर्पणवाद प्रस्टसित देख्न सकिन्छ । सत्तामा दलालहरू भरिभराउ छन् । सत्तारुढ पार्टी कुर्सीको छिनाझम्टीमा व्यस्त छ । शासकहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । यतिबेला स्वयम् प्रचण्डकै सहमति र सम्मतिमा महान् जनयुद्धबाट आर्जित सारा सहमति–सम्झौता उल्ट्याउँदै राज्यसत्ता चरम फासिवादी दमनमा उत्रिएको छ । ओली सरकार देशमा राजनीतिक प्रतिबन्ध लगाएर, नेता तथा कार्यकर्तालाई जेल–हिरासतमा थुनेर क्रान्तिलाई निस्तेज पार्न चाहन्छ । तर पनि सामाजिक फासिवादी दलालहरूको चिहानमाथि रातो झन्डा फहराउने घडी नजिकिँदो छ । बालुवाटारको कलाहीन नाटक र प्रचण्डको बडील्याङ्वेजले यही दिशातर्फ इङ्गित गरेको छ ।