प्रिय दुश्मन ! -४

प्रिय दुश्मन !
तिमीले यतिबेला आफैंलाई
भानुभक्त सम्झिदैगर्दा
बिर्सिएको / नबुझेको अथवा बुझेर पनि बुझ पचाइरहेको
एउटै कुरा के हो भने –
म पनि त हुनसक्छु नि यार !
कुनै दिन मोतीराम ।

प्रिय दुश्मन !
तिमी आफैंले आफैंलाई
वाल्मीकि सम्झिन्छौ
तर सबैभन्दा दुखको कुरा
चटक्कै बिर्सिन्छौ
रत्नाकरको वास्तविक अनुहार … !

तिमी आफैंले आफैंलाई
द्रोण सम्झिन्छौ
तर तिम्रै दुर्भाग्य
चटक्कै बिर्सिन्छौ
म पनि त हुनसक्छु नि यार !
कुनैदिन एकलव्य ।
र दिनेछु तिम्रो प्रिय चेलो अर्जुनलाई
ठाडो चुनौती – गुरु दक्षिणाको रूपमा …
हराएर देखाइदिनेछु तिम्रै नाङ्गो आँखा अगाडि
धुलो चटाइदिएर तिम्रो दाहिने हातरुपी अर्जुनलाई … ।

प्रिय दुश्मन !
तिमीले मलाई पर्दाभित्र नेपथ्यमा अल्झाउन खोजिरह्यौ
मैले तिमीलाई पर्दाबाहिर रंगमंचमा उभ्याउन खोजिरहे ।

तिमीले सदैव मेरै बाटो छेकिरह्यौ
मैले सदैव तिम्रै बाटोका काढाहरु हटाइरहे ।

तिमीले सदैव मेरो अपमान गरिरह्यौ
मैले सदैव तिम्रो सम्मान गरिरहे ।

प्रिय दुश्मन !
तिमीले मेरो लेखनमा कुनै दम छैन भनिरह्यौ
मैले तिम्रो लेखनमा कुनै कम छैन भनिरहे ।

तिमीले मलाई हरेक सन्दर्भमा लखेट्न खोजिरह्यौ
मैले तिमीलाई सदैव समेट्न खोजिरहे ।

तिमीले मलाई सदैव आफैंभित्रबाट हटाउन खोजिरह्यौ
मैले तिमीलाई सदैव आफैंभित्र अटाउन खोजिरहे ।

तिमीले सदैव मेरो सर्वस्व सिध्याइदिन खोजिरह्यौ
मैले सदैव तिम्रो सर्वस्व जोगाइदिन खोजिरहे ।

तिमीले मलाई भालु पहाडमा पुर्याएर घुचेट्न खोजिरह्यौ
मैले तिमीलाई अझै माथि शिखरमा उठाउन खोजिरहे ।

तिमीले मेरो दुवै खुट्टा समाएर तानिरह्यौ
मैले तिम्रो दुवै हात समाएर तानिरहे ।

तिमीले मलाई सिध्याएर आफूलाई जोगाउन खोजिरह्यौ
मैले आफैंलाई सिध्याएर तिमीलाई जोगाउन खोजिरहे ।

तिमीले मेरो रिस / ईष्र्या बाहेक अरु केही गर्दै गरेनौ
मैले त्यसलाई उत्प्रेरणा बाहेक अरु केही सोच्दै सोचिन ।

प्रिय दुश्मन !
तिमीले आफुलाई पाण्डव सम्झिन्छौ
तर देखाउछौ मसङ्ग कौरवको चरित्र / व्यवहार ।

प्रिय दुश्मन !
गन्धे झारको सुगन्धसङ्गै
बोकेर कुरुप विचारको निकै गह्रुङ्गो भारी
सुन्दर अनुहार भएको अहंमा
रमाइरह्यौ अहिलेसम्म तिमी ।

उतार्दै सदैव अध्यारोको आरती
सातपत्रे मयल सजाउदै मनभित्रको मनमा पनि
देखाएर दुनियाँलाई उज्यालो अनुहार
पाथे भाइसाथीले केही गरेको देखि नसहेर
रिसैरिसले मुर्मुरिरह्यौ – अहिलेसम्म
ईष्र्याले छट्पटिरह्यौ – अहिलेसम्म
जलनले जलिरह्यौ – अहिलेसम्म
औडाहाले भुट्भुटिरह्यौ – अहिलेसम्म ।

प्रिय दुश्मन !
बलेको आगो मात्रै तापिरह्यौ तिमीले
त्यसैमा सेकाएर स्वार्थको रोटी
दुवै हात फैलाएर थापिरह्यौ
अल्छी पाइला नापिरह्यौ ।
तर सल्काउनै खोजेनौ निभेको दियो
एकोहोरो लिन मात्रै खोजिरह्यौ
अरुलाई दिनैपरे दुख दिन मात्रै खोजिरह्यौ ।

प्रिय दुश्मन !
अरु कसैको बदख्वाइ नगरी
चित्तै बुझ्दैन किन होला तिम्रो ?
खाएको पच्दैन कहिल्यै तिमीलाई ?
तर्नै सक्दैनौ आफ्नै उमेरको बैतरणी नदि … !

प्रिय दुश्मन !
तिमीले सदैव मेरो खेदो मात्रै खनिरह्यौ
आफुले गल्ती गरेर पनि फेरि मलाई दोषी भनिरह्यौ
अहिलेसम्म पानीमाथिको ओभानो झैँ बनिरह्यौ ।

प्रिय दुश्मन !
मेरो उठिबास लगाउनैका लागि
के मात्रै गर्न बाकी राख्यौ र तिमीले अहिलेसम्म ?
निकालेर न्वारानदेखिको बल
फु गरेर ठाउँको ठाउँ ढाल्न खोजिरह्यौ
जरैदेखि उखेलेर फाल्न खोजिरह्यौ
खाडल खनेर मलाई ज्युदै हाल्न खोजिरह्यौ ।

प्रिय दुश्मन !
तिमीले मेरो बारेमा गर्नै नहुने कुरा गरिरह्यौ
मुखमा रामराम बगलीमा छुरा गरिरह्यौ
अहिलेसम्म आफ्नै मात्र स्वार्थ पुरा गरिरह्यौ ।

तिमीले मेरो बारेमा सोच्नै नहुने कुरा सोचिरह्यौ
जङ्गली काढाले भन्दा अझै बढी दुख्नेगरी घोचिरह्यौ ।

तिमीले मेरो बारेमा बोल्नै नहुने कुरा बोलिरह्यौ
जानीजानी अमृतमा विष मिलाएर घोलिरह्यौ ।

तिमीले मसङ्ग गर्नै नहुने व्यवहार गरिरह्यौ
मेरो मात्रै होइन तिमी
दुनियाँको नजरबाट कसिङ्गर भइ झरिरह्यौ
मेरालागि त तिमी ज्युदै भएर पनि मरिरह्यौ ।

प्रिय दुश्मन !
जसरी धरधरी रुवाएका थियौ तिमीले मलाई
त्यसैगरी पोल्नेछ मेरो आँसुले कुनैदिन तिमीलाई ।

आत्मग्लानीले अत्याउने छ तिमीलाई
पछुताउन बाध्य बनाउनेछ परिस्थितिले
समयको आँखिझ्याल भित्रबाट चियाएर
आफैंले आफैंलाई धिक्कार्दै
पिढी कुरेर बस्नुपर्ने छ तिमीले
आफ्नै काल पर्खेर नितान्त एक्लै … !

प्रिय दुश्मन !
मेरालागि तिमी सबैभन्दा खतरनाक मित्र हौ
तिम्रालागि म सबैभन्दा प्रिय दुश्मन हुनसक्छु ।

प्रिय दुश्मन !
यतिबेला सबैथोक छ तिमीसङ्ग
तर केही पनि गर्नै सक्दैनौ
केही पनि छैन मसङ्ग
तर जे पनि आट्न सक्छु ।

प्रिय दुश्मन !
तिमीले जसरी बेकारमा झगडाको बीउ रोपिरह्यौ
त्यसैगरी मसङ्ग घरीघरी निहुँ मात्रै खोजिरह्यौ
तिमीले त्यसरी झगडाको बिउ नरोपेको भएदेखि
मसङ्ग घरीघरी निहुँ मात्रै नखोजेको भएदेखि
तिम्रो भित्री नियत र वास्तविक हैसियत देखिने थिएन
तिम्रै नाममा समर्पित भएर ” प्रिय दुश्मन ! ” लेखिने थिएन
तिमीले नै वैकल्पिक बाटोमा हिंड्न सिकायौ
तिमी आफैं जस्ता … सङ्ग भिड्न सिकायौ ।