साहुको खेतबारी
जोते पनि / नजोते पनि
गोरु भनेको गोरु नै हो
त्यो क्रमशः बुढो हुन्छ
कमजोर, निकम्मा र बेवारिस हुन्छ ।
वैंसमा
बहर हुँदा
जुरो हल्लाउँदै
गाउँ, डहर र फाँट डुलेकै हो
बारीका कान्लाहरुमा
सिँगौरी खेल्दै
केटाकेटी र बुढाबुढी तर्साएकै हो
गोठ नै उचालौंला झैँ गरी
डुक्रेको पनि त उबेला
अहिले पो
गोठ पनि आफ्नो भएन ।
झरी भनेन
बादल र वर्षा भनेन
चर्को घाम या हावाहुरी भनेन
प्राययाम परालको भरमा
धान फलाउने यात्रामा जुटिरह्यो
ढोड र डाँठको भरमा
मकै फलाउने यात्रामा जुटिरह्यो ।
लटरम्म घाँस फलेको
साउने बारीमा
मुखभरि मौलो भिरेर
जुवामा नारिइरहँदा
के सोच्दो हो गोरू !
नारिएर जुवामा हरदम्
हराभरा बनाइरह्यो फाँटहरू
छाती फुट्ने गरी कुँध्दा पनि
पुच्छर निमोठ्न नछाड्ने हलीहरूलाई
केही गर्न सकेन उस्ले
सिवाय लठ्ठीको प्रेम
स्वीकारी रह्यो ढाडमा ।
दिनभर एकतमासले
मियोको वरिपरि लहरै घुमेर
मुखियाको खलेयानमा
कुन्यूँ महोत्सव गर्ने / गराउने
ऊ र उस्का हितैषीहरू त हुन्
अहिले
गोठको किलो पनि पराई हुँदा
के ठान्दाहुन् उनीहरू !




