कविता : भात (सत्ता र शक्ति)

भात खानै नपाएपछि
हामीले विकल्प रोज्यौैँ

केही ताता शब्दहरू बटुल्यौँ
केही राता टालाहरू जोड्यौँ
कही घोचाहरू काट्यौँ
केही मोहराहरू बनायौँ

हातमा हात समाउँदै
काँधमा काँध मिलाउँदै
घर घर डुल्न थाल्यौँ
वस्ती वस्ती पुग्न थाल्यौँ

हे अँध्यारोका वासिन्दाहरू हो
हे चिसोका निवासीहरू हो
तिम्रो नामको घाम सधै सहरमा उदाउने गर्छ
तिम्रो नामको उज्यालो सबै सहरमा झर्ने गर्छ
तिम्रो नामको न्यानो जम्मै सहरमा पाखिने गर्छ
कदापी वस्न हुँदैन यो चिसो भूतलमा यसरी
कदापी वस्न हुँदैन यो कठ्याङरिदो वस्तीमा यसरी
कदापी वस्न हुँदैन यो शितोष्ण धरातलमा यसरी

जाग
उठ
पच्छ्याउ हाम्रा पदचापहरु
आज देशले बलिदान मागेको छ
स्विकार गर हाम्रा आह्वान हरु
आज देशले क्रान्ति मागेको छ

नराहरू घन्काउँदै
लाठीहरू बजार्दै
बन्दुकहरू पड्काउँदै
अघि अघि हिड्दै हामी सहर आइपुग्यौँ

हो
हामीसंग पछि पछि हिंडेकाहरू
कति बाटैमा ढले. कतिलाई बाटैले खायो
हामीसंग पछिपछि आएकाहरू
कति बाटै बाट ओझेल परे
कति बाटै बाट हराए
तर हामी सहर आइपुग्यौँ

ठम्याउदा नठम्याउदै सहरलाई
हामी सहर जस्तै बन्यौ
रमाउँदा रमाउँदै सहरमा
हामी सहर नै बन्यौँ

ओहो,
हामीले रोजेको विकल्प
यती अचुक भयो कि
आजकल हामीलाई भात खानै हुँदैन ।