वडाध्यक्षको राजनीतिक पूर्वाग्रह : कांग्रेसको जग्गा जोगाउने, नेकपाको बिगार्ने

साँधमा बन्ने बाटो एक जनाको जग्गामा मात्रै बनाउन मिल्छ ? व्यक्तिको जग्गा धम्क्याएर बलजफ्ती उपयोग गर्न मिल्छ ?

मिल्दै, नमिल्ने यही काम गर्दै छन् पोखरा महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला । पोखरा ११ काहुँको स्वास्थ्यचौकी जाने बाटो गएको आर्थिक वर्षमा बन्न सकेन । २५ लाख बजेट भए पनि काम नहुनुको मुख्य कारण भने वडाध्यक्षको राजनीतिक पूर्वाग्रह र अराजक शैली हो ।

काहुँ धरहरा जाने पीच बाटोबाट स्वास्थ्यचौकीसम्म जाने बाटो बनाउनका लागि सोलिङ भइसकेको छ । यो बाटोमाथि नन्दराज आचार्यको जग्गा छ । बाटो बनाउन ढुंगा बिच्छाइएकोसहित तलपट्टिको जग्गा मुक्तिनाथ आचार्य र विष्णुप्रसाद आचार्यको हो । नन्दराजको जग्गा कतै नछोई एकातर्फको जग्गामा मात्रै बाटो बनाउन लागिएपछि विवाद भएको हो ।

‘हामी बाटो दिन सधै तयार छौं तर साँधमा बन्ने बाटोका लागि दुवैतिरका जग्गाधनीले जग्गा दिनुपर्छ ।’

३ सय हात जतिको यो बाटोमा २ सय २० हातमा मुक्तिनाथ÷विष्णुको जग्गामा बाटो बनाउन लागिएको छ । मुक्तिनाथले आफूहरु बाटोका लागि जग्गा दिन तयार रहेको बताए । उनले भने, ‘हामी बाटो दिन सधै तयार छौं तर साँधमा बन्ने बाटोका लागि दुवैतिरका जग्गाधनीले जग्गा दिनुपर्छ ।’

सहमति नगरी मुक्तिनाथ र विष्णुको मात्रै जग्गामा बाटो बनाउन लागिएपछि उनीहरुले केही भाग सोलिङ उप्काएर फालिदिएका छन् । पोखरा महानगरपालिकाले सहमति कायम गरेरमात्र बाटो निर्माण गर्न वडा कार्यालयलाई पत्राचार गरिसकेको छ । एक साताअघि मेयर मानबहादुर जिसीले बाटो अवलोकन गरेका थिए ।

महानगरको निर्देशन विपरीत वडाध्यक्ष बास्तोला भने जसरी पनि एकातिरका जग्गाधनीको जग्गामा मात्रै बाटो बनाउने पक्षमा छन् । बास्तोलाले भने, ‘११ वर्षअघि ट्रयाक खोलिएको हो । त्यही ट्रयाकमा बाटो जसरी पनि बाटो बन्छ ।’

यहाँ मुक्तिनाथ र विष्णुको ५ रोपनी १३ आना जग्गा छ । बाटो पूरै उनीहरुको जग्गाबाट बन्ने हो भने यो जग्गाको पिछाड १५, १७ हातमात्रै बाँकी रहन्छ । मुक्तिनाथ भन्छन्, ‘अहिले बनाउन लागिएको जसरी बाटो बने हाम्रो जग्गा उपयोगमा नआउने गरी बिग्रिन्छ ।’

पोखरा ११ मेलबोट भनिने यहाँ अहिले जग्गा आनाको ७–८ लाखमा बिक्री भइरहेको छ । एकातिरमात्रै बाटो बनाउने र जग्गा काम नलाग्ने बनाउनुको मुख्य कारण भने राजनीतिक पूर्वाग्रह रहेको मुक्तिनाथ दाबी गर्छन् ।

उनी भन्छन्, ‘त कम्निस्ट बूढो, तँलाई थुनेर भए पनि विकास गर्छु भनेर अध्यक्षले पटक पटक धम्की दिएका छन् ।’ आफूलाई नन्दराजले समेत पटक पटक धम्की दिने र अश्लील गाली गर्ने गरेको मुक्तिनाथले सुनाए ।

बाटोमाथि जग्गा भएका नन्दराज आचार्य कांग्रेस समर्थक हुन् भने मुक्तिनाथ र विष्णु नेकपा समर्थक हुन् । मुक्तिनाथ साबिक काहुँ गाविसका पूर्व जनप्रतिनिधि पनि हुन् । बास्तोला नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।