अहिले प्रधानमन्त्री ओलीले विनासन्दर्भ राम जन्मभूमि सम्बन्धी कुरा उठाएपछि धर्मभिरु नेपाली र भारतीयहरु बीच चर्चा पाएको छ । यस्ता बेतुकका कुरा गर्नुको औचित्य हुँदैन, किनकि—
१—रामायण कुनै इतिहास ग्रन्थ वा इतिहास काव्य होइन, यो धार्मिक साहित्यको ग्रन्थ हो । यसमा वर्णन गरिएका घटना, पात्र र परिवेश सत्य वा यथार्थमा आधारित थिएनन् । संस्कृत साहित्यका आदिकवि मानिने बाल्मीकिले आजभन्दा करिव ३००० वर्षअघि आफूले सुन्दै आएका लोककथालाई तत्कालीन समय, समाज र परिवेशमा ढालेर सुन्दर काव्य रामायणको सिर्जना गरेका थिए ।
यसैले स्पष्ट हुन्छ । रामायणका पात्र र घटना कम यथार्थ र बढी कल्पनामा आधारित थिए । यसैले रामायणका प्रमुख चरित्र रामचन्द्र नै ऐतिहासिकभन्दा काल्पनिक पात्र भएको अनुमान गर्न सकिन्छ । रामायणका प्रक्षिप्त अंशहरु निकै पछि आएर थपिएका देखिन्छन् । रामायणको मूल कथामा पनि कतिपय घटना अतिशयोक्तिपूर्ण र स्वैरकाल्पनिक लाग्दछन् । पहाडको एउटा गुफाभित्र वैभवसम्मन्न भव्य नगरी देखाउनु स्वैरकल्पनामात्र हो ।
२— उनी ऐतिहासिक पात्र रहेछन् भने पनि तत्कालीन समयका स–साना थुप्रै जनपदहरु (नेपालका बाइसे–चौबिसे जस्तै) मध्ये एउटा जनपदका राजा मात्र थिए । त्यो जनपद अहिलेको राजनीतिक नक्सामा कता पर्छ महत्वको विषय नै होइन । ऋषिहरुलाई दुःख दिने राक्षसलाई मार्नु, बाबुको आज्ञा पालन गर्नु र अपहरणमा परेकी पत्नी सीतालाई फिर्ता ल्याउन रावणसँग युद्ध गरी विजय गर्नु एउटा स्वाभाविक कर्तव्य निर्वाहमात्र थियो । उनले जनतालाई सुख–सुविधा दिएका थिए भन्ने मान्ने हो भने पनि त्यस्ता राजाहरु इतिहासमा थुप्रै भेटिन्छिन् । उनले सीतालाई दिएको पीडा नारीप्रतिको अपमान र पुरुषसत्ताको निरङ्कुशता थियो ।
बाल्मीकिले आजभन्दा करिव ३००० वर्षअघि आफूले सुन्दै आएका लोककथालाई तत्कालीन समय, समाज र परिवेशमा ढालेर सुन्दर काव्य रामायणको सिर्जना गरेका थिए ।
३—उनलाई देवता वा कुनै महान् व्यक्तित्व मान्ने हो भने पनि त्यस्तो व्यक्तित्वको पूजा गर्ने होइन, उसका राम्रा विचार र कार्यहरुको अवलम्बन गर्ने हो । त्यस्तो व्यक्ति संसारको जुनसुकै ठाउँमा जन्मे पनि फरक पर्दैन । बुद्ध, गान्धी, माक्र्स, डार्विन,आइन्सटाइन जस्ता चिन्तक र वैज्ञानिक जुनसुकै ठाउँमा जन्मे पनि संसारभरिका मानिसले तिनका कार्यहरुको सम्मान र विचारको अवलम्बन गरिरहेकै हुन्छन् ।
४— रामायणका चरित्र नायक रामचन्द्र कहाँ जन्मिएका थिए भनी वैज्ञानिक प्रमाण खोज्न उत्खनन गरी भग्नावशेषको सहारा लिन सकिँदैन । त्यसको आधार भनेको रामायण र केही पुराणमात्र हुन् । त्यस्ता ग्रन्थमा ऐतिहासिक तथ्य होइन, मिथक (मिथ्या कथा) मात्र भेटिन्छन् । रामायणमा वर्णित घटना र परिवेशलाई हेर्दा त्यस्ता नदी, गुफा, जङ्गल, हिमाल–पहाड तथा अन्य भौगोलिक परिवेश धेरैतिर भेटाउन सकिन्छ । अझ भारत र नेपालको भौगोलिक परिवेश मिल्ने भएकाले रामायण वा अन्य पुराणहरुमा वर्णित मिल्दोजुल्दो प्राकृतिक–भौगोलिक परिवेश धेरैतिर भेटाउन सकिन्छ ।
५— रामायण जस्ता धार्मिक–साहित्यिक ग्रन्थका पात्रहरुको ऐतिहासिकता प्रमाणित नहुने भएकाले धार्मिक आस्था र विश्वास नै आधार बन्न पुग्दछ । सत्ता वा शक्तिमा रहेका व्यक्तिहरुले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि स्थापना गरिदिएका धार्मिक केन्द्र वा स्थानहरुलाई धर्मभिरु, निरीह व्यक्तिहरुले आफ्नो धार्मिक आस्थाको केन्द्र बनाउँछन् तर विज्ञान र तथ्यमा विश्वास गर्नेहरु सधैं त्यस्ता अन्धमान्यता र अन्धविश्वासको विरुद्ध सत्य र तथ्यको खोजीमा अघि बढ्ने गर्दछन् ।




