छन्द बचाऊँ अभियान : एक सामान्य बुझाइ

सबैभन्दा सजिलो भीडको पछि दौडिन हुन्छ, भीडको मान्यतासित, भीडको अवधारणासित हाँ मा हाँ मिलाउनु हुन्छ । सत्य र क्रान्ति सबैको वशको विषय होइन, चाहे त्यो राजनीतिक क्रान्ति होस्, चाहे सामाजिक र चाहे साहित्यिक नै किन नहोस् ।

नेपाली साहित्यको भीडभाडमा एउटा त्यस्तै अवधारणाको हुन्डरी आयो । काव्यलेखनको सुरुवातदेखि प्रयोग हुँदै आएको शास्त्रीयताबद्ध लयचेतनालाई मानिसहरूले उपहास गर्न थाले । मात्रा मिलाउनुपर्ने, ह्रस्व दीर्घको व्यवस्थालाई शतशः अङ्गीकार गर्नुपर्ने र भाषालाई बिगार्न पनि नपाइने नीति–नियमका अतिरिक्त मुक्त लयको संरचना नै त्योभन्दा उत्तम छ भन्नेहरूको बोलाबाला चल्न थाल्यो । यही भन्नु सजिलो थियो, भीडले यही भन्यो । त्यस समयमा छन्दमा रचना गर्नुपर्छ भन्नेहरू र छन्दमा रचना गर्नेहरू दुवै ‘छन्दे’ नामले पुकारिन थाले । छन्दका कविताहरू वाचन गरिसकेपछि अन्त्यमा ‘स्वाहा’ भनेर उडाउन थालियो ।

नेपाली छन्दको प्रयोग दुब्लाउँदै–दुब्लाउँदै गएर कतै सुकिहाल्ने पो हो कि भन्ने स्थितिमा पुग्यो ।

छन्दको तिरस्कारको यो वातावरण अविवेकपूर्ण हो भनेर पहिचान गर्न नसक्नेहरू छन्द छोडेर मुक्त लयतिर लागे । हजारौँ वर्षअघिदेखि संस्कृत साहित्यले प्रयोग गरेको र नेपाली साहित्यले पूर्णतः अङ्गीकार गर्न सकेको शास्त्रीय छन्दको पक्षमा अनेकन तितो सहेर पनि, अनेकन लाञ्छना खेपेर पनि अङ्गीकार गर्ने र वकालत गर्नेहरू कमै रहे । त्यसबेला पत्र–पत्रिकाहरूले पनि र सभासमारोहहरूले पनि ‘बलेकै आगो ताप्नुपर्छ’ भन्ने सामाजिक उक्तिलाई चरितार्थ गरे । सभा–समारोहमा गएर म छन्दकविता सुनाउँछु भन्नु ठुलै साहसमा दरिन थाल्यो । नेपाली छन्दको प्रयोग दुब्लाउँदै–दुब्लाउँदै गएर कतै सुकिहाल्ने पो हो कि भन्ने स्थितिमा पुग्यो ।

माधव वियोगी

संस्कृत भाषापछि नेपाली वाङ्मयले मात्र सही रूपमा आत्मसात् गर्न सकेको शास्त्रीय छन्दको तेज खरानीभित्र लुकेको केही स्रष्टाहरूलाई मन पर्दैनथ्यो । तिनैमध्ये लेखनाथ पौड्यालको गाउँ कास्कीमा जन्मिएका माधव वियोगीलाई पनि छन्दको दुब्लो र मलिन चेहरा देख्न थालेपछि साह्रै असह्य भयो । अनि उनी समाजमा ‘छन्द बचाऊँ’ अभियान लिएर अघि बढे । आखिर अभियान चाहिने कुनै कुरा अस्ताउन लागेको बेलामा हो, आखिर आन्दोलन चाहिने कुनै कुराको अभाव भएको बेलामा हो ।

अस्ताउन लागेको र अभाव भएको चिजको महत्त्व बुझ्नेहरू नभएको र ‘प्रगतिशीलता भन्नु पुराना चीजको विस्थापन हो’ भन्ने सङ्कीर्ण मानसिकता बोकेकाहरूबीच उनको पनि उपहास भयो । आखिर यो हरेक अभियन्ताहरूले भोग्नुपर्ने नियति थियो । त्यो उपहासलाई पनि उपहास गरेर अघि बढ्न सक्नु सामान्य कुरा थिएन । छन्दको प्रयोग बचाउनका लागि वियोगीले पनि त्यो अवस्था पक्कै सहनुपऱ्यो । आफू छन्दमय बनेर नबाँचेको भए वियोगी पनि पन्छिन्थे होलान् ।

फलतः वियाेगीले अभियानकाेे तर्फबाट प्रस्ताव राखेकाे लामाे समयपछि  पञ्चाङ्ग निर्णायक समितिले समेत पात्रोमा छन्द दिवसलाई आधिकारिक मान्यता दियो ।

छन्दलाई आत्मसात् गर्ने सन्दर्भमा उनले छोरीको नाम फेरेर छन्दिका बनाए, ज्वाईंको नाम फेरिदिएर छन्दमणि बनाए ।  अन्य केहीका नाम पनि छन्द जाेडेर राखिदिए सँगै आफ्नो घरलाई नै छन्द प्रशिक्षणको पाठशालाका रूपमा विकसित गरे, आफू छन्दगुरुका नामले चिनिए । अभियन्तामा हुनुपर्ने गुण हो यो । शङ्कराचार्यले सबैलाई ब्रह्मदृष्टिले हेरे होलान्, डार्बिनले सबैलाई कोशीय जीवहरूको रूपमा । दृष्टिअनुसारको सृष्टि रचना गर्ने काममा वियोगी पनि चुकेनन् । उनले आफ्नो सृष्टि नै छन्दोमय बनाए । अर्कातिर कमलमणि दीक्षित, रमेश खकुरेल लगायत अग्रजहरूको नेतृत्वमा सञ्चालित कोकगोष्ठीले छन्दका कविताहरू लेख्ने र वाचन गर्ने परम्परा चलायो ।

डा. रामप्रसाद ज्ञवाली, देवी नेपाल लगायत अध्येताहरूले छन्द प्रशिक्षण अभियान चलाए । देशभर छन्दको संरक्षण एवं संवर्द्धनका लागि संस्थाहरू खुले । पुस्तक एवं पत्रपत्रिकाहरूले पनि छन्दलाई महत्त्वका साथ हेर्न लागे । लोचन भट्टराईजस्ता सङ्गीतज्ञहरूको प्रयासमा छन्द एलबमहरू प्रकाशित हुन लागे । छन्दकविताको सङ्गीतमय वाचनको लहर चल्न लाग्यो । फलतः वियाेगीले अभियानकाेे तर्फबाट प्रस्ताव राखेकाे लामाे समयपछि  पञ्चाङ्ग निर्णायक समितिले समेत पात्रोमा छन्द दिवसलाई आधिकारिक मान्यता दियो ।  यसका लागि  यी सबैलाई पनि यसै अभियानसितको सहयात्रा मान्न सकिन्छ ।

पछिल्लो पाँच वर्षमा प्रविधिसँगैको छन्दको यात्रा झन् उल्लेख्य छ । छन्द चौतारीभित्र माृत्रै लगभग पचास हजार व्यक्तिहरू जोडिएका छन्, तीमध्ये बीस हजार व्यक्तिहरू छन्दमा राम्ररी कलम चलाउन सक्नेहरू छन् । फेसबुक मेसेन्जरमा छन्द सिकाउनका लागि धेरै समूहहरू खोलिएका छन्, जसले पाठशालाको काम गरिरहेका छन् । अहिले छन्द कुनै जात र वर्गको घेराबाट निस्किएर सर्वाङ्गीण र सर्वतोमुखी बनेको छ ।

सधैँ भीड सही हुँदैन । अझ भनौँ अधिकतर भीड सही हुँदैन । वियोगी लगायतका छन्दका अनुरागीहरूले प्रतीक्षा गर्नुपऱ्यो ।

सधैँ भीड सही हुँदैन । अझ भनौँ अधिकतर भीड सही हुँदैन । वियोगी लगायतका छन्दका अनुरागीहरूले प्रतीक्षा गर्नुपऱ्यो । तर जीवनको उत्तरार्धमा वियोगीले छन्दको लहर राष्ट्रव्यापी बनेको देख्न पाए, जीवनको चतुर्थ प्रहरमा रमेश खकुरेलले ऋषिको स्थान पाए । यो निरन्तर साधना र तपोबलको फल हो । त्यतिमात्र नभएर विश्वमा छरिएर रहेका नेपालीभाषीहरूमाझ छन्दविना कविता सम्भव छैन भन्ने चेतना जागेको स्थिति देखिन थाल्यो । यस अर्थमा अहिले ‘छन्द बचाऊँ’ अभियन्ताको दृढ व्रत सफल भएको छ । अहिले ‘छन्द बचाऊँ’ भन्नुपर्ने स्थिति छैन ।

तर जनलहरका कमजोर पक्षहरू धेरै हुन्छन् । वियोगीको एउटा धारणा छ, गद्य कविता होइन । तर वियोगीले छन्दका अनुयायीहरूलाई छन्दमात्र कविता होइन भन्न पनि हिच्किचाउनु हुँदैन । सामान्य कुराकानी छन्दमा गर्दैमा त्यो कविता हुँदैन । गद्य कविता होइन भन्नुमा विशिष्ट अर्थ अलग होला तर यसको भाव गद्यमा कविता लेखिँदैन भन्ने हो भने चाहिँ देवकोटाका ‘पागल’ लगायत कैयौँ र समका ‘स्वर्ग र देवता’ लगायत कैयौँ कविताहरूलाई अस्वीकार गर्नु हो ।

भूपी शेरचन लगायत कविकै रूपमा स्थापित सशक्त प्रतिभाका रचनाहरूमाथि औँला तेर्स्याउनु हो । समकालीन कैयौँ स्रष्टाहरूको खिल्ली उडाउनु हो । उनीहरूले उडाए, हामी पनि उडाऔँ भन्नेतर्फ पक्कै अभियन्ताहरू लाग्दैनन् होला । तिनीहरूमा पनि मात्राको मिलान छ, भनेर छन्द खोज्न सकिएला । छन्दशास्त्रमा रहेका वृत्त र जाति, वृत्तमा पनि समवृत्त, अर्धसमवृत्त र विषमवृत्तले समेट्ने करोडौँ भेदहरूको व्यापक आकाशमा थोरै त्रुटिपूर्ण पद्यको रूपमा तिनीहरूलाई अटाउन सकिएला, तर त्यसो गर्नु तर्क मात्र हो, अनि सबै तर्क सत्य हुँदैनन् ।

वियोगीको एउटा धारणा छ, गद्य कविता होइन । तर वियोगीले छन्दका अनुयायीहरूलाई छन्दमात्र कविता होइन भन्न पनि हिच्किचाउनु हुँदैन ।

असलमा छन्द भनेको वृत्त र जातिको साँचोभित्र अटाउने नै हो । देवकोटाको ‘पागल’ र भूपीको ‘मैनबत्तीको शिखा’ पनि छन्द नै हो भन्ने तर्क दिइरहनु उचित हो भन्ने मेरो काँचो दिमागलाई लाग्दैन । जीवनभर पद्यमा कविता लेखेर ‘गद्य पनि कुनै कविता हो र ?’ भन्ने खुला अभिव्यक्ति दिने राष्ट्रकविले समेत समारोहमा ‘म आफ्नो अभिव्यक्ति फिर्ता लिन्छु, गद्यमा पनि सुन्दर कविता हुन्छ’ भन्नुपर्ने स्थिति आउनुले पद्यमात्र कविता होइन भनेको हो कि ? भन्ने मेरो अपरिपक्व दिमागको ठहर छ ।

छन्द कविताको प्राथमिक र नितान्त प्राथमिक र प्राविधिक पाटो हो । लय सिकेपछि कविताको विश्वविद्यालयमा स्रष्टाको भर्ना हुन्छ । तर छन्दका अनुयायीहरूको भीड अहिले जुन आँधीबेहरीका साथ दौडिरहेको छ, त्यसमध्ये कति प्रतिशत भीडले कविता बुझ्न सकेको होला ? नबुझ्नेहरूको र  यो प्रश्न पनि उत्तिकै जटिल छ ।

माधव वियोगीको अभियान छन्द सिकाउनु र लहर ल्याउनु मात्र भए पक्कै उनी महाकाव्यलेखनको अर्को अभियान साथ लिएर हिँड्ने थिएनन् । यदि छन्द सिकाउनुको अर्थ कविता लेखाउनु पनि हो भने वियोगी र वियोगीको बाटो पछ्याउनेहरूले छन्द मात्र सिकाएर पुग्दैन । छन्दमात्र कविता होइन भन्नेसमेत सिकाएर कविता बुझ्नका लागि अग्रसारित गराउनुपर्छ । छन्दमा कुराकानी गर्न सक्ने प्रतिभाहरूसमेत निस्किसकेको स्थितिमा सामान्य कुराकानीमात्र कविता हुँदैन भन्ने पनि सँगै सिकाउनुपर्छ ।

गद्य कविता पो असली कविता हो त, भन्नेहरूले लगाउने गरेको आरोप पद्य कवितामा बिम्ब हुँदैन, प्रतीक हुँदैन आदिलाई तोड्नका लागि बिम्बात्मक प्रयोगतर्फ समेत सचेत गराउनुपर्छ ।

गद्य कविता पो असली कविता हो त, भन्नेहरूले लगाउने गरेको आरोप पद्य कवितामा बिम्ब हुँदैन, प्रतीक हुँदैन आदिलाई तोड्नका लागि बिम्बात्मक प्रयोगतर्फ समेत सचेत गराउनुपर्छ । हुन त संस्कृत काव्यशास्त्रले ध्वनिको रूपमा स्वीकार गरेको प्रयोगलाई गद्यकविताको वकालत गर्नेहरूले बिम्ब र प्रतीकमार्फत् अभिव्यक्त गरे पनि संस्कृतका उत्कृष्ट पद्यकविताहरू र नेपालीका बिम्बात्मक कविताहरूलाई नबुझेको हुनुपर्छ ।

छन्दमा दोष खोज्ने निहुँमा गद्यमा पनि प्रशस्तै गफहरू कविताको नाममा राष्ट्रिय स्तरका पत्रिकामा छापिएका छन् भन्ने कुरा छन्दमा दोष खोज्नेहरूले बिर्सिनु हुँदैन । पारस्परिक दोषारोपणको वातावरणबाट छन्दानुयायीहरू जोगिनु जरुरी छ । भीड छन्दको भएका कारण छन्दतर्फ आकर्षित भएकाहरू पनि छन्, तर एक्लो हुँदा पनि यसको मधुरिमा बुझेर यसलाई लिएर अघि बढ्ने क्रान्तिचेत र दृढ सङ्कल्प लिनका लागि चाहिने विवेक हामीमा पनि विकसित हुनुपर्छ र विवेकहीन दौडाइबाट जोगिनुपर्छ ।

‘नस्वीकारे असामाजिक भइन्छ कि ?’ भन्ने भयले भन्दा हृदयले आत्मसात् गरेर स्वीकार गर्ने पथमा लम्किनुपर्छ । ‘छन्द बचाऊँ’ भन्ने अभियान सफल भएसँगै अब छन्दका प्रयोक्ताहरूलाई छन्दमा कविता लेख्न अब्बल बनाउने जिम्मेवारी समेत यसै अभियानको छ । अस्तु !