सम्झनामा शुशील

आफ्नो शरीर त्यागेर गयौ
दुख्ने मन जलाएर गयौ
तिमी त गयौ
तर यो जिन्दगी भरलाई पोल्ने गरी
कहिल्यै ननिभ्ने आगोले दन्काएर गयौ

दिमागमा धेरै कुरा खेल्छन् । यो लेख्छु, त्यो लेख्छु । हुन त तिम्रोबारे जति कुरा गरे पनि कहिल्यै थाक्ने त होइन म, तर लेख्न बसेपछि निशब्द हुन्छु । आज तिमी जन्मिएको दिन मेरा लागि थप जिम्मेवारी थपिएको दिन । आजै मैले दिदी जो बन्ने सौभाग्य पाएकी थिएँ ।

तिमी जन्मदाको क्षण त मलाई याद छैन तर तिमीसँग बिताएका हरेक पल मेरो मनसपटलमा अझै ताजा नै छन् । तिम्रो मुखबाट निस्केका हरेक आवाज, तिमीले गुन्गुनाएका धुनहरु आज पनि मेरो कानमा अझै गुन्जिइरहन्छन् । गोरो वर्ण, अग्लो शरीर, हल्का चुच्चे नाक, खिसिक्क हास्दा देखिने दाँत, मभन्दा उमेरमा ३ वर्ष २ महिना १२ दिनले कान्छो ।

खै तँ सगँसगै हिड्ने साथी कहाँ गयो भनेर जिस्क्याउँछन् मलाई गल्लीहरुले । मैले त ती बाटा हिड्न नै छाडिदिएँ, जहाँ हामीसँगै हिड्ने गथ्र्यौं । तिम्रा साथीहरुलाई देख्दा तिमी पनि त्यही भीडमा पो छौ कि जस्तै लाग्छ । टाढैबाट चिहाउँछु तर तिमीलाइ देख्दिनँ ।

मैले त ती बाटा हिड्न नै छाडिदिएँ, जहाँ हामीसँगै हिड्ने गथ्र्यौं ।

तिमी गएदेखि त म एक्लै भएकी छु, चुपचाप बस्न थालेकी छु । हुन त धेरै बोल्ने बानी थिएन तर पनि तिमी गएदेखि धेरै दिनसम्म मैले आफ्नो आवाज आफैंले नसुनी पनि समय कटाएकी छु । तिमी गएदेखि एक्लोपन, एकान्त र आँसु मेरो साथी भएको छ । न कसैको साथ अनिवार्य लाग्छ । कोही राम्रोसँग बोल्दा पनि त्यो देखावटी आफ्नोपनपछि के स्वार्थ लुकेको छ ? अब यसलाई के चाहियो जस्तो लाग्छ ।

लाग्थ्यो, तिमी गएपछि म पनि बाच्नँ सक्दिनँ होला । तर दिनहरु जसोतसो कटाउनैपर्ने रहेछ । म रहरको भन्दा पनि बाध्यताको जीवन बिताइरहेकी छु । सब थोक छाडेर तिमीसँग जाऊँ जस्तो लाग्छ तर मैले सुनेको तिमी भएको ठाउँमा जान वा तिमीलाइ भेटाउन धेरै मुस्किल छ रे ।

त्यतिमात्र कहाँ हो र ? त्यो ठाउँ त एकदम सुन्दर पनि छ रे । जो जान्छ त्यो कहिल्यै फकिन्न रे । मलाइ पनि नफर्कने गरी तिमी हराएको सहरमा गएर तिमीलाई खोज्न मन छ ।

तर तिमीले देखेका सपना पनि त पूरा गर्नु छ । फेरि आर्यानलाई पनि त बैरीको नजरबाट बचाउनु छ । सबै कर्तव्य निभाएपछि मात्र खोज्न आउछु नि है । दिदीले माया गर्दिने नभन है भाइ । छोटो जीवनको यात्रामा लामो याद छाडेर गयौं तिमी ।

जीवनमा सफलता हासिल होला/नहोला तर एउटा कमी अवश्य रहनेछ । मलाई सधै तिम्रो अभाव महसुस हुनेछ ।

आत्माले शरीर त्यागेपछि त आगोले पोल्दा पनि दुख्दैन होला है भाइ ?
तिमी जाने बेलामा कति बोलाएँ तर तिमीले सुनेनौ नि । म रुँदा मलाई गाली गर्ने तिमी त्यो दिन केही नभनी गयौ । हुन त किन सुन्थौं होला र मेरो आवाज ? तिमी त हामीलाइ छाडेर कहिल्यै नफर्कने गरी पो जाँदै थियौं ।

म त कति पापी रहेछु । तिमीलाई जाने बेला हेर्न पाइनँ, छुन पाइनँ । सबैले हेरे तिमी बिदा भएको तर मैले त तिमीलाइ अन्तिम पल्ट राम्रोसँग हेर्न पनि पाइनँ । उमेरले १९ काटेर सधैका लागि साथ छाडेर गएको पनि आज ३ वर्ष १० महिना २५ दिन भयो ।

न त अब कतै भेट्न नै पाइन्छ, न त महसुस गर्न नै । बाँकी छन् त केबल कहिल्यै निको नहुने सम्झनाका आला घाउहरु । दिन, महिना, वर्ष बितेको ३ वर्ष भैसके पनि तिमी यतै कतै छौ । कुनै दिन फर्किएर दिदी सुन न भन्दै आउने छौं । के के भयो, सबै सुनाउने छौं जस्तै लाग्छ अझै पनि ।

मृत्युपछि भेट हुने भए त हामी पनि आउने थियौं होला । तर अफसोच तिमीलाई मैले अब कहिल्यै भेट्न पाउने छैन । कति कुरा गर्नु थियो, कति मान्छे भेटिए, कति छुट्टिए सुनाउनु थियो । सबैको हासो, खुसी सबै लिएर गयौ । जीवनमा सफलता हासिल होला नहोला तर एउटा कमी अवश्य रहनेछ । मलाई सधै तिम्रो अभाव महसुस हुनेछ ।

नेकपा नेता एवं प्रतिनिधिसभा सदस्य मना केसीका छोरा शुशीलको दुर्घटनामा मृत्यु भएको थियो । शुशीलकी दिदी सन्ध्याले भाइको सम्झनामा यो संस्मरण लेखेकी हुन् ।