पाेखरेली माटाेका पिङ्गल : माधव वियाेगी

लेखकहरू जिउँदै  स्वर्ग गए भने उत्तरी एटलाण्टिक र आर्टिक महासागरको बीचमा पर्ने प्राकृतिक हिसाबले अति सुन्दर देश आइस्ल्याण्ड पुग्छन् । विश्वमा सबैभन्दा धेरै लेखक,आइसलेण्डिक भाषामा  छन् भनिन्छ  जहाँ १० प्रतिशत जनसङ्ख्या लेखक छन्  । जहाँ जीवजन्तु,स्थल र भाँडाकुँडा नाम समेत कविका नामबाट राखिन्छ ।

साहित्यकारलाई बहत महत्व दिने साे देशकाे  चलन पनि एक किसिमको छन्दात्मक  कार्य हाे । नेपालका छन्दनायक कवि माधव वियाेगीले छन्द जाेडेर निवास,बाटाे,चाैतारी,फाँट, पहाड ,व्यक्ति, बस्तु र  नाम  राख्न घाेषणापत्रमै अाग्रह गरी  त्यस अन्तर्गत न्यून रूपमा भएपनि काम भएकाे सन्दर्भसँग याे प्रसङ्ग यहाँ जाेड्न खाेजिएकाे हाे । मूलत; याे अालेख “छन्द बचाऊँ अभियान- २०५३” सँग सम्बन्धित छ ।

 पद्य रचनाको यथार्थ ज्ञान हाँसिल गर्न छन्दशास्त्र अध्ययन नगरिकन संभव हुँदैन । संस्कृत वाङमयमा लयको भाव बुझाउन छन्द शब्दको प्रयोग गरेको पाइन्छ । काव्यको लयात्मक,नियमित र अर्थपूर्ण शब्द योजनानै छन्द हो । साधारणतया यति,गति,मात्रा,वर्ण,लय,चरण आदि नियम अनकूल भएको रचनालाई  छन्द भनियो । जस्तो गद्यलाई नियमन गर्न व्याकरणको  प्रयोग हुन्छ त्यस्तै पद्यलाई छन्दको । यही छन्दले कवितामा मिठास,रन्जकता र पाठकको मनलाई आल्हादित बनाउँछ,काव्य सौष्टव बढाउँछ। त्यसैले भनिन्छ “गद्यशास्त्रको कसौटी व्याकरण हो भने कविताको कसौटी छन्दशास्त्र हो”।

छन्द शास्त्र दैवीय दिव्य विद्या हो । छन्दमुक्त कविता लेख्न,पढ्न सकिन्छ तर कविताको आत्मा बोल्दैन। कविताको आत्मा त छन्दको बगैंचामा आकर्शित हुन्छ । जसरी महुरीलाई फूलको आन्तरिक गुण”गुलियो पन”ले लोभ्याउँछ त्यस्तै छन्दबद्ध शब्द योजनाले पाठक वा श्रोतालाई मोहित पार्दछ,मुग्ध बनाउँछ। जसलाई छन्दोबद्ध कविता लेख्ने अभ्यास छैन उसले छन्दमुक्त कविता पनि लेख्न सक्दैन । त्यही कविता जीवित रहन्छ जुन कविता गेयात्मक छ । गेयात्मकतानै छन्दबद्धता हो । छन्दबाटै कवितामा चमत्कारिता पैदा हुन्छ,अनि पाठक वा श्रोतामा एक प्रकारको अभिरुचि उत्पन्न हुनजान्छ। लयबद्ध बाक्यलेनै जनताको मनलाई पुलकित बनाउँछ।

छन्द वेदको छ अंग मध्य एक हो। यसको उत्पत्तिको विषयलाई लिएर नागराज र गडुर राजको कथा तथा क्रौंच पंक्षीको जोडी,व्याधा र महर्षि वाल्मीकिलाई जोडिएको किंवदन्ती पनि विविध रचनामा पढ्न पाइन्छ । खास गरेर छन्दका प्रणेता आचार्य पिङ्गललाईनै मानिएको छ । उनीद्वारा रचित “छन्दशास्त्र” सबैभन्दा प्राचीन मानिन्छ,जसलाई “पिङ्गलशास्त्र” पनि भनिन्छ । विश्वमा प्रचलित रहेका जुनसुकै मूख्य भाषामा कविताको लागि छन्दका नियमहरू व्यवहारमा आएका छन् । अहिले आएर पश्चिमी लेखकहरु चिन्तित छन् । भाषा,छन्द र विम्वको विषयमा पश्चिमी समाजले विविध प्रयोग गर्‍यो । छन्दलाई  अङ्ग्रेजी  बोल्नेहरूले Verse,Stanza,Metres आदि शब्दको प्रयोग गर्दछन् । 

 सन् १९५०-६०को दशकतिर अमेरिकामा एउटा साहित्यिक आन्दोलन शुरूभयो । यसलाई  बीट पिढी (Beat Generation) पनि भनिन्छ। यसले अमेरिकी समाज र संस्कृति प्रति भिन्न दृष्टिकोण राख्दथ्यो। प्रचलित सामाजिक धारणा प्रति अस्वीकृत आध्यात्मिक  तलाश र भौतिक वादको समर्थन हो ,यो। यस समयमा बीट साहित्यका धेरै न पुस्तकहरू  प्रकाशित भए ।

यो विषय  बीटनिक र विद्योचित  छन्दबद्ध  लेखनमा विश्वास गर्ने साहित्यकारहरुको बीचको द्वन्द हो । बीट पिढीका अधिकांश कविहरुले साहित्यमा जीवन र यथार्थसित नजिक हुने क्षमता नराखेको पनि देखा पर्‍यो। वर्तमान समयमा नयाँ प्रतिभाहरुले  पूर्ववर्ती कविहरुको पाण्डित्यपूर्ण तथा जटिल शैलीलाई त्यागेर साहित्यमा चलिआएको  सजिलो पन र छन्दबद्ध शिल्प  समावेश  गरी व्यवहारिक काव्य निर्माण  गरेका छन् । यो प्रयोगवादसँग मेल खाँदैन ।

मुक्तछन्दको प्रयोग नेपाली साहित्यिक जगतमा एक विद्रोहको प्रतीक मानिन्छ । मुक्तछन्दले छन्दशास्त्रको मानक सिद्धान्तको उल्लङ्घन गर्दछ। यसलाई हाम्रो परंपरागत  सिद्धान्तले  स्वीकार गरेको छैन । छन्द  साधना  गर्न नसकेर एउटा वर्ग मुक्तछन्दतिर आकर्शित भएको पनि हो। २०२० को  दशकमा दुईपक्ष बीच पानी बाराबारको स्थिति उत्पन्न भएको थियो । त्यसैले मुक्तछन्दका  कविहरुले  धेरै प्रकारका लान्छनाहरु व्यहोर्न परेको छ। यो सोचाइ  वा  प्रयोगलाई  “पश्चिमी वीजको पूर्वी अंकुर” भन्ने संज्ञा दिने गरिन्छ।

जब  परंपरादेखि  चलिआएको  सिद्धान्त तथा स्थापित मान्यतामा  आँच आउने लक्षण देखा पर्दछ अनि त्यस मान्यतालाई  जोगाइराख्न एउटा संरक्षक वा आन्दोलनको आवश्यकता पर्दछ। श्रीमद् भवगद्गीतामा एउटा स्लोक छ- 
यदा यदा हि धर्मस्य  ग्लानिर्भवति  भारत।
अभ्युत्थानम् स्वधर्मस्य तदात्मानं  सृजाम्यहम्।।

समयले नेता जन्माउँछ । त्यही नेतालाई नायक भनिएको हो । नेपालको कास्की जिल्लाको अर्घौ कालिकामा २०१८ कार्तिक २९ गते प्राकृतिक जन्म लिनु भएका एउटा सानु बालकलाई  २०५३ साल वैशाख ८ गते समयले फेरि जन्मायो साहित्य सेवा र लोपोन्मूख हुने खताराको सामना गरिरहेको छन्दलाई बचाउनको लागि ।

नेपाली कवितामा छन्दको प्रयोग क्रमश लोप हुँदै गएको ,साहित्यमा छाडापन फष्टाएको र प्रचलित मानकतामा आक्रमण भएको सहन नसकेर छन्दको प्रयोगलाई यथास्थानमा ल्याउने अभिप्राय बोकेर यिनै छन्द योजनाकार  माधव वियोगीले  छन्दानुशासनको एउटा  राष्ट्रव्यापी  आन्दोलन चलाए ,जसलाई “छन्द बचाऊँँ अभियान- २०५३ “भनिन्छ । सेवाभावले ओतप्रोत भएर कविता तथा महाकाव्यको लेखनसँगै छन्द  बचाउन समाजमा एउटा वैचारिक क्रान्तिको जन्म दिए उनै छन्दनायक वियोगीले।

छन्दक वियोगीसँग मेरो सम्पर्क  बि स २०५७ -५८तिर भएको हो । त्यसभन्दा पहिले पनि उहाँको बारेमा प्रशस्त जानकारी थियो । उनी एक महाकवि  हुनाको साथै सफल पत्रकार पनि हुन ।  उनकै प्रधान सम्पादकत्वमा प्रकाशित हुने “चेतनापत्र दैनिक”मा मेरो दोश्रो कवितासंग्रह  “ऐना” काे मिठो समीक्षा गरी  मलाई उत्प्रेरित गरेका थिए । म लम्जुङ्गे हुँ,पोखरामा प्राय धेरै बस्दछु । लम्जुङ्ग –पोखरा सम्पर्क समितिको साधारण सभामा उनलाई निम्तो जान थाल्यो । आपसी सम्बन्ध प्रगाढ हुँदै गयो ।

उनलाई नजिकबाट चिन्ने अवसर धेरै न मिल्यो । उनले कार्यक्रममा छन्दबारे बाेलेर धेरैलाई छन्दकाे बाेध पनि गराए । एक निस्वार्थ छन्दतपस्वी पो रहेछन् उनी । ठूला ठूला ऋषि-मुनि,पौराणिक राजा महाराजाहरू स्वार्थको लागि,शक्ति आर्जन गर्नको लागि ,अभीष्टसिद्धिका लागि तपस्या गर्ने गरेको पढे सुनेको हुँ  तर यी छन्दका धीरोदात्त नायक  छन्दसाहित्यको उन्नयनको लागि,परंपरा कायम राख्नको लागि साच्चैं भन्दा शास्त्रीय छन्द जीवित रहोस भनेर तपस्या गर्दा रहेछन् ।  हुनत यिनले वरदान नपाएका पनि त होइनन्,जनस्तरबाट धेरै उपाधिले सुसज्जित छन् उनी । छन्द सर,छन्दगुरु,छन्द नायक,छन्दसम्राट,छन्द शिरोमणि ,छन्दकेशरी,आधुनिक पिङ्गल,महाकवि यी सबै उनैसित जोडिएका विशेषण हुन् ।  हुन पनि हो, छन्दलाई कण्ठस्थ गर्ने नागराजको  प्रतिनिधि हुन् कि ? भन्ने भान लाग्न थालेको छ यी छन्दका दुर्लभ शिक्षकलाई ।

“मानव जीवनको संपूर्ण  असल व्यवहार छन्द हो” भन्ने उनको मान्यता हो । छन्द  बचाउने गन्तव्य रोजेका माधव वियोगीले आफ्नो निवासलाई समेत “छन्दनिवास”  नामकरण  गरेका छन् । त्यस्तै घरलाई छन्दप्रशिक्षण केन्द्र घाेषणा गरी कार्यसम्पादन समेत गरेकाे   पाइन्छ । कतिपय आफन्त र अन्यहरूको नाम छन्दसित जोडेका छन् ,पाठ्यपुस्तकहरूमा छन्दका कविताहरू समावेश गराउन पहल गरेका छन् भने छन्दमा कविता लेख्नेकाे सङ्ख्या बढाउनेअभिप्रायले  विभिन्न ठाउँ पुगी छन्दप्रशिक्षण  कक्षा सन्चालन गरेर देशका हजारौं स्रष्टाहरूलाई  छन्दज्ञान दिइसकेका छन् ।

अान्दाेलनपूर्व वि. स २०४४ मैं औपचारिक छन्दप्रशिक्षण शुरू गरेका वियोगीका छन्दका दर्जनौं फुटकर कविता प्रकाशित छन् । उनले शिक्षण पेशाबाट प्राप्त कमाइको ठूलै भाग छन्दसेवामा लगानी गरेर  छन्दानुवृत्ति गरेका छन् । आफू सुर्खेतमा कार्यरत रहँदा होस् वा माउण्ट अन्नपूर्ण बोर्डिङ्ग स्कूलमा रहँदा होस फुर्सदको समयमा छात्र-छात्रालाई समेटेर छन्द प्रशिक्षण दिने तथा छन्दमा कविता लेखनमा नवीन पिंढीलाई प्रेरणा दिएर नवोन्मेष आत्मचेतनाको लहर फैलाउने उजको नियती रह्यो ।

यद्यपि मभन्दा डेढ दशक कान्छा भएतापनि  मेरा साख्खै गुरु हुन् माधव  वियोगी । छन्दमा कविता लेख्न प्रेरित गर्दै वार्णिक छन्दको एउटा सूत्र टिपाएका थिए “यमाताराजभानसगला”। यो सूत्र म आँखा छोपेर पनि भन्न सक्दछु । यस अर्थमा म छन्दको मामलामा उनी बाट आंशिक रूपमा दीक्षित भएको हुँ। म जस्ता अघोरी साहित्यकारलाई कति सिकाए कति बुझाए ।यसको नालीबेली खोज्नु भन्दा यिनको अभियानले समाज तथा देशले के पायो र नेपाली साहित्यलाई  के दियो भन्ने विशेष महत्वको कुरा हो।

उनकै पहलमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले वैशाख ८ गतेलाई  छन्द दिवसको रूपमा मनाउने निर्णय गर्‍यो । पाठ्यक्रमहरूमा छन्दका कविताहरू केही  बढी समावेश भए, देश विदेशमा छन्द कविताको परंपरामा अन्तर्राष्ट्रिय छन्दकवि संमेलनहरू हुन थाले, छन्द बचाउको साथसाथै यसको महत्व बोधको कुरा पनि अगाडि आउन थलेका छन् । विभिन्न देशबाट छन्दको बारेमा जिज्ञाशा  राखेर साहित्यकारहरू वियोगीको निवास सोद्धै खोज्दै आउन थालेको उदाहरण २०७२ भाद्र ३१ को आदर्श समाज राष्ट्रिय दैनिकले बताउँछ । छिमेकी राष्ट्र भारतबाट प्रशिद्ध गजलकार आवाज शर्माको संयाेजनमा वियाेगीसँग छन्द विषयक साक्षत्कार गरेको थियो । यसले भारतमा छन्ल बचाऊँ अभियानकाे  प्रभावलाई देखाउँछ ।

पोखरालाई छन्द शहर बनाउने तथा पोखरामा एउटा छन्दबाटिका बनाउने चर्चा चलिरहेको छ । छन्द विश्वविद्यालयको स्थापना हुनु पर्ने भन्ने आवश्यका महसुस भैरहेको छ उनलाई । विश्वव्यापी रूपमा छन्द साधना,छन्द चौतारी जस्ता  सकृय साहित्यिक संस्थाहरु खुलेका छन् । पूर्वीय तथा पाश्चात्य छन्दपरम्परामा समानता र भिन्नता विषयक गोष्ठी सन्चालन् हुँदैछ ।  यी सबै वा केही उपलब्धीहरू “छन्द बचाऊँ अभियान” का उपज हुन् । समग्रमा उनी पाेखरेली माटाेका पिङ्गल हुन् ।  यी पिङ्गलले ती पिङ्गललाई उच्च सम्मान दिंदै छन्ददिवसलाई पिङ्गल जयन्तीका रूपमा मनाउन प्रेस विज्ञप्ति मार्फत् अाग्रह गरी रहेका छन् । अग्रजप्रति अति श्रध्दा गर्ने पाेखरेली पिङ्गल एवम् छन्दनायक   माधव वियाेगीले छन्दमा व्यक्तिका नाममा धमाधम महाकाव्य लेखी रहेका छन् । यसका लागि पाेखराले जन्माएका पिङ्गल ऋषि एवम्  छन्दनायक माधव  वियोगीलाई हार्दिक अभिवादन गर्दछु ।

        कार्यकारी सदस्य, बोर्ड अफ् ट्रष्टिज,
        अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,
            संयुक्त राज्य अमेरिका)