लघुकथा : नेता

नेताजी असाध्यै व्यस्त देखिन्छन्, प्राय: नेताहरु व्यस्त नै हुन्छन् । रोग भोक केही भन्न नपाउने, कसैले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको लागि बोलाहट आएको हुन्छ, बोलाएको ठाउँमा `भ्याउँदिनँ´ भन्न सक्ने आँट पनि छैन र `हुन्छ´ भनिदिन्छन् । हस्याङफस्याङ गर्दै पुग्छन्, समय माग्छन्, भाषण ठोक्छन्, अनि अर्को कार्यक्रममा जान हतारिन्छन् ।

केही समय पहिला विभिन्न सङ्घ संस्थाका व्यक्तिहरूले लकडाउनबाट प्रभावित भएर रोजी-रोटी गुमाएकाहरूलाई ठाउँ ठाउँबाट राहत वितरणको लागि पनि सम्झन्थे, बोलाएको ठाउँमा पुग्थे ।

चेतनामूलक भाषण दिँदै हिँड्ने गर्थे । `यो कोरोनासँग डराउने होइन, सतर्क हुनुपर्छ´ भन्न भ्याउँथे ।

यदि तपाईं हाम्रा छोराछोरी विदेश छन् र स्वदेश आउँदैछन् भने अप्ठ्यारो नमानीकन स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइनमा दुई हप्ताको लागि निर्धक्कसँग पठाउनुपर्छ´ भनेर सबैलाई उपदेश दिन्थे ।यदि कोरोना लागेकै भए पनि यो अपराध होइन, त्यसैले कसैले कसैलाई तिरस्कार गर्नुहुँदैन´ भन्दै सम्झाउने काम पनि गर्थे ।

केही दिन भयो, नेताजीका छिमेकीहरू त्रसित देखिन्थे । गाइँगुइँ कुरा गर्थे- `हामीलाई बरवाद बनाउने भए क्या हो, के गरेका होलान् ?´

पछि कुरा बुझ्दै जाँदा के थाहा भयो भने मित्रराष्ट्रबाट मोटरमार्ग गरी आएका छोराछोरीलाई क्वारेन्टाइनमा‌ नपठाएर घरमै राखेका रहेछन्, नेताजीले ।

– व्यास नगरपालिका-४, दमौली तनहुँ (२०७७/०३/१४ )