“मेड इन चाइना:
हिजो पनि थियो,
आज पनि गएन ।”
“अरे ए कोरोना !
यसरी त भएन हौ ।”
खुंडाले सकेन
ख़ुदाले सकेनन्
संसार नै मारमा पर्यो
“मै हुँ” भन्ने राष्ट्रले
“संसार ध्वस्त पार्न सक्छु” भन्नेले
सूक्ष्मातिसूक्ष्म भाइरस मार्न
खोइ, कहाँ सक्यो ?
अग्ला-अग्ला महलहरू
ठूला-ठूला हलहरू
आसपासका ठूला-साना, अग्ला-होचा घरहरू
घरहरू भित्रका भित्ताहरू
अनि भित्ता भित्र थुनिएका छायाँहरू—
ती घरहरू हुन् कि जेलहरू?
ती छायाँहरू हुन् कि कैदीहरू?
श्मशानमा मलामी पुगेन
मण्डपमा जन्ती पुगेन
हिजो जातभातसँग डर
आज आफ्नै हातसँग पनि
हिजो पराइसँग डर
आज आफ्नैसँग पनि ।
निडर हो कि मूर्ख हो कोरोना?
मन्दिर मानेन, मस्जिद मानेन
चैत्य र चर्च चिन्दै चिनेन ।
कस्तो निर्दयी यो कोरोना !
के नाबालाक, के बयोवृद्ध
अरू त अरू स्वास्थ्यकर्मीसुद्ध
कसैलाई छोडेन ।
तँ नीच कोरोना मरिजा !
भगवानको नाममा मरिजा !




