कविता : हिउँ पग्लिनु हुन्न

हिउँका झुलनवागहरू हल्लिनु हुन्न
हिउँका ग्रेटवालहरू भत्किनु हुन्न
पानीजस्तै हिउँका मनहरू पग्लिनु हुन्न ।

श्रृङखलाबद्ध जगत्का झाँकीहरू
श्रृङखलाबद्ध जीवनका बान्कीहरू
उच्चतका मनोहर फाँकीहरू
कंक्रिटका देशमा चुहिनु हुन्न
हिउँ भनेको ब्रहमइन्द्र हो
घाम या शीतमा पग्लनु हुन्न ।

सनातन सभ्यताका पिरामिडहरू
धन – ऐश्वर्यका उन्नत स्वर्गहरू
श्वाशत् , सारस्वत कामधेनुहरू
हिमाच्छादित् मनहरू ढल्नु हुन्न
हिउँ भनेको आस्था र अमरत्व हो
जहिलेतहिले पग्लिनु हुन्न ।

पर्वतमय दिगन्त इमारतहरू
परमानन्दका सम्यक् पहाडहरू
अादिअनादिका समस्त समाधीहरू
दुन्दुभीको गर्तमा पर्नु हुन्न
हिउँ भनेको विश्वास र वीरत्व हो
बेलाकुबेला पग्लिनु हुन्न ।

इन्द्रादिका स्फटिक आभाहरू
ऋत्विजहरूका साधर्म्य आमाहरू
धरागराका प्राणत्व , ब्रहमत्वहरू
जङ्गलमा विराट विश्व जल्नु हुन्न
हिउँ भनेको पानी मात्रै होइन
तमोत्सवमा पग्लिनु हुन्न ।

हिउँका झुलनवागहरू हल्लिनु हुन्न
हिउँका ग्रेटवालहरू भत्किनु हुन्न
पानीजस्तै हिउँका मनहरू पग्लिनु हुन्न ।।

[ मित्र मार्ग , बिन्ध्यबासिनी]