म संक्रमित भएँ भने…

कुनै बेला मभित्र पनि मानवता थियो । उचित संस्कार र धेरथोर शिक्षा हासिल गरेकाले केही मात्रामा भए पनि बुद्धि, विवेक र ज्ञान थियो । परी आएको बेला आफ्नो साथ र सहयोगको अपेक्षा गर्नेलाई आफूले सक्दो सहयोग गर्नुपर्छ भन्ने मान्यता र विचार थियो । मुटुभित्र दया र माया थियो । समय र परिस्थितिले गर्दा मैले अहिले त्यो सब गुमाएको छु ।

अहिलेको विषम परिस्थितिमा सार्वजनिक यातायात सबै ग्यारेजमा थन्किएका छन् । निजी सवारी पनि बिनापास सडकमा गुड्न प्रतिबन्ध छ । जसका कारण कयौं सर्वसाधारण अत्यावश्यक कामका लागि गन्तव्यमा पुग्न कठिनाई भोग्न बाध्य छन् ।

आफू आवद्ध संस्थाद्वारा आफूलाई सुम्पिएको जिम्मेवारी र काम कर्तव्य पूरा गर्ने सिल्सिलामा म दैनिक चार जिल्लाभित्र मोटरसाइकलमा यात्रा गर्ने गर्दछु । त्यसै क्रममा आफू मोटरसाइकलमा एक्लै यात्रा गरेको बेला सवारी साधनको अभावमा सडकमा आफ्नो गन्तव्यसम्म पुग्न कठिनाई भोगिरहेका मानिस प्रशस्त भेटिन्छन् । केही अपरिचित मानिसले हात हल्लाएर बोलाउँदै रोक्न अनुरोध गर्दछन् । रोकेपछि कहाँसम्म होला मलाई पनि फलानो ठाउँसम्म पुर्याइदिनुहोस् न भनेर सहयोग र साथको अपेक्षा गर्दछन् । म उनीहरुलाई सहयोग गर्न तत्पर हुनुको सट्टा विभिन्न बाहाना बनाएर उनीहरुलाई त्यहीँ छाडी एक्लै अघि बढ्दछु ।

हो, म हालसम्म शारीरिक रुपमा पूर्ण स्वस्थ र तन्दुरुस्त छु । तर मलाई थाहै नपाई मानसिक रुपमा कोरोना भाइरसले आक्रमण गरेछ । जसको संक्रमणले मैले आफूभित्र भएको सम्पूर्ण मानवता, दया, माया, बुद्धि, विवेक र ज्ञान गुमाएछु । म चाडो स्वस्थ भएर पुरानै अवस्थामा फर्किन चाहन्छु । मेरो शीघ्र स्वास्थ्य लाभका लागि हजुरहरु पनि कामना गरिदिनुहोस् है ।