देशको सार्वभौमिकता, स्वतन्त्रताको रक्षा गर्न र नेपालीको हितका लागि एमसिसी कुनै पनि हालतमा पास गर्नु हुँदैन । पोखरेली अधिकारकर्मी र जनवादी सर्जकहरुले केही समयअघि नै यो निष्कर्ष निकालेका हुन् ।
एमसिसीका गलत पक्षहरुबारे बुझाउन र नेपालीलाई सजग, सचेत र जिम्मेवार बनाउन पोखरामा संगम सांस्कृतिक मञ्चले अभियान चलाइरहेको छ । शनिबार संगमले संगम सांस्कृतिक यात्रा ५ गरेको छ । अभियानलाई गण्डकी संगम, साहित्य शृंखला पोखरा, प्रलेस कास्की, पुष्पकमल स्मृति प्रतिष्ठान र जिएफसीले सघाएका छन् ।
कार्यक्रममा वाम वुद्धिजीवी रामराज रेग्मीले एमसिसीको खारेजी नै अहिले सबै देशभक्तको एजेन्डा हुनुपर्ने बताए । उनले भने, ‘यो परियोजना चीनलाई घेर्न र भारतीय र अमेरिकी स्वार्थ पूरा गर्न आएको हो ।’
गण्डकी संगमका अध्यक्ष डा कृष्णराज अधिकारीले एमसिसी विपन्न देशहरुलाई सहयोगमा नाममा अमेरिकी रणनीतिक उद्देश्य पूर्ति गर्ने परियोजना भएको दाबी गरे । उनले भने, ‘चीनलाई घेर्नु र नेपाल सैन्य अखडा राख्नु यसको उद्देश्य हो । नेपालको कानुन र एमसिसीका प्रावधान बाझिएमा एमसिसीकै प्रावधान लागू हुने भनेको के हो ?’
संगमका कलाकारहरुले भारतीय हस्तक्षेपको विरोध, एमसिसीको खारेजी जस्ता विषय समेटिएका आधा दर्जन बढी गीत प्रस्तुत गरेका थिए । कोभिड कहरका कारण सार्वजनिक रुपमा कार्यक्रम गर्न सम्भव नभएपछि कार्यक्रम फेसबुकबाट लाइभ गरिएको थियो ।
संस्थाका अध्यक्ष काजी गाउँलेको अध्यक्षतामा भएको कार्यक्रममा जनगायक पद्यराज ढकाल र अतिथि कलाकारहरु हेमराज आश्रम र कर्ण विद्रोहीले पनि संगमलाई साथ दिएका थिए ।




