दलालहरूले समयको गति रोक्न सक्दैनन्

आज मलाई पचास वर्षभन्दा पहिला बागलुङ् जेलमा बसेको सम्झना आयो । हामी जम्मा जम्मी १३ जना राजनैतिक बन्दिहरू थियौ । हामी सबैको एउटै मुद्दा थिएन । दुर्गाराज पन्त, पदमप्रसाद पाण्डे, अमरप्रसाद ढकाल, पदमबहादुर थापा र म दीर्घप्रसाद पाण्डेलाई राजकाजसम्बन्धि मुद्दा थियो । देबराज पन्त यामबहादुर पुन र झलनाथ खनाललाई शान्ति, सुरक्षा, मथुराप्रसाद श्रेष्ठ, माधबप्रसाद ज्ञवाली, बलबहादुर शेरचन्, तसमत गौचन, टङ्कनाथ शर्माहरूलाई संघसस्था अन्तरगत मुद्दा चलाएको थियो ।

हाल झलनाथ खनाल, टङ्कनाथ शर्मा, यामबहादुर पुन, तसमत गौचन र मबाहेक अरू सबैको मृत्यु भैसकेको छ । जेलमा हामीसंगै भए पनि पछिसम्म हामीसंगै रहन सकेनौ । यामप्रसाद, बलबहादुर, तसमतहरू कम्युनिष्ट भइरहन नै चाहनु भएन । टङ्कनाथ शर्माले कम्युनिष्ट सिध्दान्त नै छाडी ओसोतर्फ लाग्नु भयो । हाल पथिक प्रतिष्ठान खोलेर त्यसको प्राचार्य हुनुहुन्छ । देवराज प्यरालाइसिसको सिकार भएर पनि मोटो मशाल, एकताकेन्द्र, माओवादीको समर्थन गर्नु हुन्थ्यो ।

माधबप्रसाद ज्ञवाली नेपाल कम्युनिष्ट पार्टीको महासचिब हुनुहुन्थ्यो । अन्य साथिहरू नेपाल कम्युनिष्ट पार्टी मसालमा हुनुहुन्थ्यो । म संगसङ्घसङ्घै रहनु भएका पदमप्रसाद पाण्डेको पनि केही समयअघि मृत्यु भयो । अब राजनीतिमा म र झलनाथ खनालमात्र बाँकी छौं । जेलबाट झुट्दा पनि सबभन्दा पहिला तिन महिनामा शान्ति सुरक्षाका छुटेँ । त्यसपछि छ महिनामा संघसस्थाका र हामी राजकाज अपराधकाहरू अठार महिनामा ९०० सय जरिवाना तिरेर छुट्यौ।

यस समयको घटनाको मुख्य कर्ता हामी राजकाज अपराध ब्यहोर्नेहरू थियौं । मृत्युडण्ड वा जन्मकैद हुने राजकाज अपराध मुद्दामा तँपाईहरूलाई क मेलको सिदाखान पाउने गरी पूर्पक्षका लागि थुनामा राखिएको छ भन्ने पूर्जी पाएका थियौं । हामी एक्काईस, बाईस बर्ष उमेरका थियौंं । हामीले माफि मागेमा तत्काल छाडिदिने भनेर बरम्बार अन्चलाधिसले भनिरहेका थिए तर हामीले माफी मागेनौं ।

त्यस समयमा जेल जानू भनेको ठूलो बेइज्जतको कुरा मानिन्थ्यो । जेलभित्रै ज्यानमारा, चोर, बापतिहरूले पनि हामीसंग छोइछिटो गर्दथे । जेल भन्नू के थियो र गाई भैंसीलाई बाध्ने गोठ जस्तो थियो । एकनाले खुला टहरामा बित्ताले नापेर तीन बित्ताको स्थान एक कैदीले पाउँथ्यो । सुत्ने बिस्तारा लगाउने, पाकाउने र सबै सामान राख्ने यही ठाउँ थियो । हामीबाहेक अरू सबैले आआफै पकाऊदथे ।

हामी एक्काईस, बाईस बर्ष उमेरका थियौंं । हामीले माफि मागेमा तत्काल छाडिदिने भनेर बरम्बार अन्चलाधिसले भनिरहेका थिए तर हामीले माफी मागेनौं ।

करिब एक सय पचास जनाले दाउराले छुट्टा छुट्टै पकाउदा कस्तो हुन्थ्यो होला । जेलभित्र शौचालय थिएन । बिहान, बेलुका सबैलाई भेडाबाख्रा जसरी घेरा दिएर तल डिलमा लान्थ्यो । हामी गाई भैंसी जस्तै थियौ । दिशा, पिसाब हामीले आफ्नै आँखा छोपेर गर्थ्यौ । आफ्नै आँखा छोपेपछि सबै अन्धकार कसले देख्ने स्थिति यस्तो थियो ।

हामी सचेततापूर्बक लागेका थियौ । हामीलाई जति दुख कष्ट दिएर बेइजत गरे पनि हामीले उज्जल भबिष्य देखेका थियौ । यसले हामीलाई बिचलन हुनबाट बचाएको थियो । जेलमा हामीले ठूलो अपमान सहन गर्नु परो । जेलभित्र बिहान, बेलुका केही समयमात्र पानीको धारो आउँथ्यो । पानी थाप्ने सयौ हुन्थ्यौ । जेलभित्र चोर र बापतिहरू नै नाइके हुँदा रहेछन् । कैदी बन्दिहरू माथि यिनीहरूको नै शासन चल्दो रहेछ ।

नाइकेहरूले कैदी, बन्दिहरूलाई गाली, बेइजत त के महिलालाई समेत लात्ति, मुड्की गर्दा रहेछन् । काहाँ हामी बाहिर शिक्षक भएकाले सबैको नमस्कार पाउने ब्यक्ति त्यहाँ त परियो बापति नाइकेको फेला । परिबेशले चेतनाको बिकास हुने हो परिबेस नै त्येस्तो भए पछि चेतना काहाँबाट आओस् ? माटाको घैटो लिएर म पनि पानि थाप्न लाइनमा गएको थिएँ । बिध्यालयको म हेड शर बिचारले कम्युनिष्ट भए पनि सस्कारले म आफै अरू कैदी बन्दिसँग छोइन हिचकिचाइ रहेको थिए ।

पानी नथापे भातै खान नपाइने देखेर पानी थाप्न अघि गए । भयो उल्टो मैले ओखर बोटिनी भन्ने एक दलित जातकी महिला जस्ले आफ्नै श्रीमान्को अण्डकोष अठ्ठाएर श्रीमानलाई मारेको अपराधमा जेल जीवन बिताइ रहेकी रहेछीन् उनको घैटो छुन पुगेछु । उनले मेरो घैटो अराष्टीयले छोइ दियो भनेर हल्ला गर्न थालिन् । म अलमलमा परे, दिदी म बाहुन हु मैले छोएको बिटुलो हुदैन भनेर सम्झाउन लागे । मेरो कुरा कसले सुन्ने उनले त अझ आमा चकार गर्दै गाली गर्न थालिन् । नाइके नजिकै रहेछ उ त फोहोर गालि गर्दै पिट्न पो आयो । धन्न पुलिस आइपुग्यो । उसले नाइकेलाई भन्यो, ‘ए पागल देखिनस् अरू बन्दिहरूलाई बाहिर राखेको छ । यिनीहरूलाई कोठा दिएको छ । हिजो अञ्चलाधिस साहेबले पनि यिनीहरूलाई हजुरहरू भन्नू भएको थियो ।’

जेल गएका थियौ तर नोकर चाकर राख्ने सस्कार छोड्न सकेनछौ । तिनै दिदीलाई खान र केही महिनावारी रकम दिएर भात पकाउने भाँडा माझ्ने पकडा धुने काम दियौ ।

मामला केहो अझैसम्म कैदीहरूलाई अञ्चालाधिसज्यूले हजुर भनेको हामीलाई थाहा छैन । अबस्य यिनीहरू ठूलै मान्छे हुन सक्छन् हात नहाल भनेर पुलिसले रोक्यो । ठूलै खड्को पार भयो । दिदीलाई घैटाको एक रूपैयाँ दिएर घैटो लिए, समस्या सुल्टियो । उनको सानो छोरा पनि संगै थियो । पछि हामीले उसलाई पढाई दियौ । दिदीले पछि रोएर पश्चापात पनि गरीन् । हाम्रो सिदाबाट बचत पनि हुन्थ्यो । संस्कारकै कुरा रहेछ सुंगुरले स्वर्गमा गए पनि गुहु खान पाइन्छ कि पाइदैन भन्थ्यो अरे हामी पनि गरिब दुखीको उद्दारका लागि भन्दै जेल गएका थियौ तर नोकर चाकर राख्ने सस्कार छोड्न सकेनछौ । तिनै दिदीलाई खान र केही महिनावारी रकम दिएर भात पकाउने भाँडा माझ्ने पकडा धुने काम दियौ ।

पछि नाइके र केही कट्टरबादी पुरातनवादीबाहेक लगभग पन्चान्नब्बे प्रतिशतसंग हाम्रो राम्रो सम्बन्ध भयो । पुलिसहरूसंग पनि राम्रै सम्बन्ध भयो । पछि त्यहाँ डिउटीमा खटिनेहरू प्रमोशन हुँदै जाने र हामीले पनि राजननीति गर्दै जाँदा धेरै पटक सहयोग गरेका थिए । कुनै त पेन्सन निक्लेपछि हाम्रै पार्टीमा काम पनि गरे । म माधबप्रसाद ज्ञवालीद्वारा प्रभाबित भएर कम्युनिष्टमा लागेको हु । म कम्युनिष्ट पार्टीमा लागेर लुटपाट गरी धनिको धन खोसेर गरिबलाई बाँड्ने भन्ने पक्षको होइन ।

मैले सुरूमै बुझेको उत्पान शक्ति र उत्पादन सम्बन्धमा भएको विभेद हट्नु पर्छ अर्थात जसले बस्तु उत्पादन गर्दछ त्यसको मालिक पनि उत्पादक स्वएम् हुन पाउनु पर्दछ भन्ने हो । उत्पादनको कार्यमा नजोडिनेहरू नै उत्पादित बस्तुको मालिक हुने ब्यवस्था खारेज गर्नु पर्छ । पहिले क्रान्तिकारी जनमत सिर्जना गरेर राज्यसत्तामा कब्जा जमाएर उत्पादन सम्बन्धमा परिवर्तन ल्याएपछि मात्र उत्पादन शक्तिको बृहत रूपमा विकास गर्न सम्भव हुन्छ । जसबाट हरेक मान्छेलाई खान र लाउने कुराको समस्या नहोस्, एउटा मान्छेले अर्को मान्छेमाथि दमन र शोषण गर्ने ब्यवस्था नआओस् भन्ने हो ।

जताततै यति प्रचुरमात्रामा खानेकुरा र लगाउने कुराहरू छन् किन श्रमजीबीहरू भोकै छन् ? जताततै ज्ञानका भण्डार छन् किन सत्ताले जनतालाई यति मूर्ख र अज्ञानी बनाएर राखेको छ ? यसको मुख्य कारण ईश्वरको आडमा लागेर शोषण गर्ने सामन्तवादी राजतन्त्र हो । यसको बिरोधमा सङ्घर्ष नगरेसम्म यो आफै जाँदैन । हजारौको मृत्युको कारण बनेको सामन्तवादी राजतन्त्र फाल्न मृत्युको बिरूध्द मृत्युले मात्र टेक लिन सक्छ भन्दै मानव जातिलाई जीबीत राख्नका लागि मर्न तयार भएर लागेका थियौं ।

अल्प ज्ञानका कारणले हुन सक्छ सबभन्दा पहिला राजालाई नै गाली गर्न गयौ । राजाको जन्मत्सबमा राजाको फोटोमा कालो दल्ने काम र पिठे रेडियोद्वारा राजाका बिरूध्द जाने जति बिरोधको समाचार प्रचार गरेका थियौं । जुन उद्देस्यले लागियो सोही अनुसारको नीति कार्यक्रम भएको पार्टीमा लागिएन । तत्कालिन समयमा बागलुङ्ममा चौथो महाधिबेशनको मसाल थियो, त्यसैमा लागियो । यसको कार्यदिशा लासा जाने कुतिको बाटो रहेछ । नौलो जनवाद ल्याउन गोलमेच सम्मेलन गर्ने, संविधान सभाको चुनाव गर्ने र देशभक्त र जनजनतान्त्रितिक शक्तिहरूको सरकार बनाउने यस्तो सारसंग्रहवादी लाइनमा दस बर्ष बिताइयो ।

अन्तर सङ्घर्षले मशाल बने पछि यसमा लागियो । मशाल निर्माण देखि लगातार एकता केन्द्र माओवादी र एमाओवादी हुँदासम्म यसैमा लागियो । जनयुध्द सुरू हुदा म धवलागिरी सर्च अभियानको अध्यक्ष थिए । क्रान्तिका नाममा यन्त्रिक रूपमा मान्छे मार्ने कुरामा म सहमत हुन सकिनँ । यही नै मेरो अयोग्यता भयो । त्यस पछि बैधानिक मोर्चा नेपाल राष्ट्रिय बुध्दिजीबी संगठनमा रहेर काम गरे । पार्टी एमाओवादी बन्दा म पार्टीको केन्द्रीय सल्लाहाकार भएँ । पार्टी दक्षिणपन्थी भयो भान्दै ड्यस माओवादी बन्दा म त्यहाँ पनि केन्द्रीय सल्लाहकार थिए । पदमा असन्तुष्ट भएर आएकाहरू, क्रान्तिलाई अघि बढाउन नसक्ने भएता पनि क्रान्तिका भक्तहरू र क्रान्तिकारीहरू सबैको साधा चौतारी ड्यास माओवादी थियो ।

सबभन्दा पहिला क्रान्तिकारीहरूले पार्टी छाडी छुट्टै पार्टी पुनर्गठन गरे । पदमा नमिलेर आएकाहरू पुन उतै फर्के । ड्यस माओवादीको बिघटन भयो । विभिन्न संगठन र ब्यक्तिहरू मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र मसाल नामको पार्टीसंग एकता गरी बनेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)मा म केन्द्रीय सल्लाहकार समितिमा सचिव थिएँ । पार्टीले राम्रै सम्मान दिएको पनि थियो तर पार्टीले क्रान्तिकारी पार्टी संगठन बनाउनुको सट्टा मास पार्टी बनायो । जनसेना सम्युक्त मोर्चा निर्माणलाई पछिको बिषय बनायो प्रतिक्रियावादीहरूको चुनाबलाई उपयोग गर्ने तर तत्कालिन कार्यदिशा सशस्त्र बिद्रोहको नारा लगाउने सारसंग्रहवादी बाटो समातेको महसुस गरे ।

देश विश्व साम्राज्यवादको क्रिणास्थल बनेको छ । सबै समस्याहरूको समादान क्रान्तिले मात्र गर्न सक्छ । क्रान्ति नै अहिलेको आबस्यकता बनेको छ ।

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा जनयुध्दमा महत्वपूर्ण भूमिका खेलेका विप्लव लगायतका युवा भएको र यी युवाले विभिन्न ब्यक्तिगत अबसरहरू पाउँदा पाउँदै पनि क्रान्तिको कठोर बाटोमा लागेकाले अहिलेको समयमा यही नै क्रान्तिकारी पार्टी हुन सक्छ भन्ने मेरो ठहर छ । मैले क्रान्तिकारी माओवादीलाई छाडी हाल नेपाल कम्युनिष्ट पार्टीप्रति मेरो समर्थन छ । भौतिक रूपले अहिले क्रान्तिमा लाग्ने अबस्था मेरो छैन ता पनि मानसिक रूपले क्रान्तिप्रती ठूलो सद्भाव छ ।

माथि बताय जस्तै ब्यवस्था नआएसम्म विप्लवको पार्टीले क्रान्ति नगरे पनि फेरि नयाँ पुस्ताले यो कार्यभार पूरा गर्ने छन् भन्नेमा पूर्ण आसावादी छु । पार्टीमा स्खनल आउदा त्यसैको पछि कहिल्यै लागिनँ यसमा मलाई गौरब छ । सबभन्दा दुखद् कुरा भनेको राजतन्त्रका बिरूध्द आजभन्दा पचास बर्ष पहिला जेल बसियो । हाल राजतन्त्रको अन्त भएर गणतन्त्र पनि आएको छ । देशमा कम्युनिष्ट नामकै सरकार पनि छ तर जनताका समस्याहरू पचास बर्ष पहिला जस्ता थिए करिब उस्तै छन् ।

दशौ हजारले बलिदानी गरे त्यसैमा टेकेर नवसामन्तहरूको उदय भयो । अहिले नवसामन्तहरू र दलाल पूँजीपतिहरूले देशलाई रसातलमा पुराएका छन् । अहिले पनि पार्टीमाथि प्रतिबन्ध नै छ । देश विश्व साम्राज्यवादको क्रिणास्थल बनेको छ । सबै समस्याहरूको समादान क्रान्तिले मात्र गर्न सक्छ । क्रान्ति नै अहिलेको आबस्यकता बनेको छ । पहिला हामी कोही नहुदा पनि संसार चलेकै थियो र पछि पनि चल्नेछ । अहिलेका दलालहरूले समयको गतिलाई रोक्न सक्ने छैनन् ।