पोखरेली समुदायमै कहिँकतै कोरोना संक्रमण हुन सक्छ : डा. पाण्डे

विदेशीसँग सम्पर्क र ट्राभल हिस्ट्री नभएका पोखराका पहिलो कोरोना संक्रमितको त्यसपछिका जाँचमा कोरोना नेगेटिभ आएको छ । उनलाई कसरी कोरोना संक्रमण भयो ? यसको खोजी जारी छ ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे पोखराका पहिलो कोरोना संक्रमितलाई पोखरामै कोरोना सरेको अनुमान गर्छन् । उनले भने, ‘ती व्यक्तिलाई पोखरामै कोरोना संक्रमण भएको हुनुपर्छ । पोखरामा पनि कहिँकतै सानो समुदायमा कोरोना संक्रमण हुनुपर्छ ।’

यसअघि भएका आरडिटी परीक्षणमा पनि केहीको एन्डबडी पोजेटिभ देखिनुले पोखरामा समुदाय स्तरमा कोरोना भएको उनको ठम्याइ छ ।

ती ६० वर्षीय संक्रमितमा कोरोना सर्नुका २ कारण हुन सक्छन् कि ट्राभल हिस्ट्री भएकासँग भएको सम्पर्कबारे उनले बताएनन् कि पोखरेली समुदायबाटै उनलाई कोरोना स¥यो ।

¥यान्डम स्याम्पिङ गरी प्रदेश सरकार र स्थानीय सरकारले संक्रमणको स्रोत पत्ता लगाउन ढिलो गर्न नहुने उनको सुझाव छ । ती संक्रमितसँग सम्पर्कमा आएकाको परीक्षण गरी कोरोना नेगेटिभ आउँदैमा चूप बस्न नहुनेमा उनको जोड छ । डा पाण्डेले थपे, ‘जोखिम वर्गमा कोरोना नभएका हुनाले कोहीको मृत्यु नभएको र गम्भीर बिरामी नभएको हुन सक्छ । तरकारी बजार, खाद्य, मन्दिरमा भीडभाडमा हुन सक्छ । ती मानिसको पहिचान गर्न ढिलो गर्नुहुन्छ ।’

केहीले परीक्षण नै गलत भएको आंशका व्यक्त गरे पनि त्यस्तो सम्भावना डा पाण्डे देख्दैनन् । आमसर्वसाधारणको जाँच र हस्पिटलमा भएका बिरामीको जाँचमा संवेदनशीलता फरक हुने उल्लेख गर्दै उनी काठमाडौंमा भएको परीक्षणमा एकपटकमा कोरोना देखिँदैमा सार्वजनिक नगरी पुन परीक्षणबाट पुष्टि गरिने उल्लेख गर्छन् ।

पोखरामा कोरोना कहर : संक्रमितसँग सम्पर्क भएका ३८ को स्वाब संकलन

ती संक्रमतिसँग धेरै व्यक्ति सम्पर्कमा आए पनि उनीहरुमा कोरोना नदेखिनुले मात्र ढुक्क हुने अवस्था छैन । डा पाण्डे भन्छन्, ‘उनी बेहोस भएर जाँच हुँदा उनमा तेस्रो हप्तामा पुगेको हुनुपर्छ । तेस्रो हप्तामा पुगेपछि अरुलाई सार्ने सम्भावना पनि कम हुन्छ र भाइरस पनि कमजोर हुन्छ ।’ भाइरस कमजोर भएर निको हुने अवस्थामा उनको कोरोना परीक्षण भएको प्रष्ट हुने आधारबारे डा पाण्डे भन्छन्, ‘संक्रमण ३ हप्ता भइसकेकाले नै उनमा त्यसपछि भएका परीक्षण नेगेटिभ देखियो । नत्र यति चाडै कोरोना पोजेटिभ देखिएकामा बिरामीमा कोरोना निको हुँदैन ।’

पोखरा महानगरका मेयर मानबहादुर जिसीले कोरोना संक्रमणको स्रोत खोज्ने कामा भइरहेको नेपालदुतलाई जानकारी दिए । उनले भने, ‘हामीलाई यसमा गम्भीर चासो छ । स्वास्थ्य महाशाखाले यसको खोजी गरिरहेको छ ।’