लासको बाटो छेक्ने जनप्रतिनिधिहरुको नाममा

पृथ्वीमा सवै चीजहरु नाशवान छन् ,नाशवान शरीरबाट आर्जेका सबै चीजहरु नाशवान हुन्छन् नै किन कि,मानव शरीर लगायत सबै जीव र बनस्पतिहरु नाशवान र मरणशील छन् । जीवन र मृत्यु सङ्गसङ्गै आउने प्रक्रियाहरु हुन् ।जसरी कालो सङ्गै सेतो,उकालो सङ्गै ओरालो ,गाह्रो सङ्गै सजिलो आउँछ। यी द्वन्द्वात्मक भौतिकबादका सामान्य उदाहरणहरु हुन् । स्वस्थ शरीर बिनाको स्वस्थ मस्तिष्क असम्भव प्रायः हुन्छ।

मानव अधिकारको रूपमा रहेको ठूलो जनसंख्यासित सम्बन्धित स्वास्थ्यको समवेदनशीलता ,कोरोना महामारीको शुरूवातको अवस्था ,यसका औषधिजन्य नामहरुको अनुसन्धान र परीक्षण,भ्याक्सिनको आविष्कार पहिले जनसमुदायमा पर्ने भयङ्कर ठूलो मनोबैज्ञानिक असर र प्रभाव सबैले बुझ्नै पर्दछ।

जेठ २२ गते सुनौली नाकाबाट उद्दार गरी पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याइएका वालिङ्गका ५८ बर्षीय गुरुङ थरका बिरामीको आइतबार कोरोना पुष्टि भयो। उनको उपचारका क्रममा आइतबार राति नै मृत्यु भयो। शव ब्यवस्थापन कहाँ गर्ने भन्ने टुङ्गो नलाग्नु,उनको शव घण्टौसम्म आइसोलेसनमा रहेका अन्य तीन जना बिरामीसितै रहनु निश्चितरूपमा निकै दु:खद कुरा हो,अझ त्यो शव तीन जना बिरामी सङ्गै भएको कोठामै त्यत्तिकै लामो समय रहदा उनीहरूमा परेको मानसिक र मनोबैज्ञानिक असर त झनै कारुणिक छ नै।

कोरोनाबाट मृत्यु भएकाको शव ब्यवस्थापन सम्बन्धि कार्यबिधिनुरुप स्थानीय तह,प्रशासन र नेपाली सेनाको समन्वयमा त्यसको ब्यवस्थापन हुनु पर्दछ। जसनुसार घाट खोज्ने जिम्मा पोखरा महानगरपालिकाले पायो भने ब्यवस्थापनको जिम्मा पोखरा ,फूलबारी स्थित सेनाको भगवती दल गणले पायो।

शव व्यवस्थापन कहाँ गर्ने भन्ने टुङ्गो नलाग्नु, उनको शव घण्टौसम्म आइसोलेसनमा रहेका अन्य तीन जना बिरामीसितै रहनु निकै दुःखद कुरा हो ।

महानगरपालिकाले स्थानीय पोखरा -११ र २० को समन्वय बिनानै मणिपाल शिक्षण अस्पतालको केही तल सेती नदी स्थित रिठ्ठे घाटमा कोरोना सङ्क्रमितको शव गाड्ने निधो गर्‍यो र सेनाले खाल्डो खनिसकेको थियो। सेती नदी किनारमा शव गाड्दा वातावरणीय र पर्यावरणीय रूपमा आफूहरुलाई जोखिम हुने स्थानीयले कुरा जोड्तोडले राखे र बिरोध गरे ,त्यो स्वाभाविक पनि थियोे। तर,शवको जसै ब्यवस्थापन हुनु थियो र सकेसम्म जोखिमरहित वा कम जोखिम हुने गरी कोरोना सङ्क्रमितको शव त्यो कार्यबिधिनुरुप ब्यवस्थापन गर्नै पर्ने जिम्मेवारी पोखरा महानगरले गर्नै पर्ने थियोे ।

स्थानीय रूपमा ती दुबै वडासित पोखरा महानगरपालिकाले परिपक्व ढङ्गले आवश्यकीय समन्वय चाहिँ गर्नैपर्ने थियो । समुदायसित गम्भीर रुपले जोडिएको स्वास्थ्यसित सम्बन्धित बिषय मनोमानी ढङ्गले निर्णय गर्नु खास राम्रो कुरा हैन। यसबाट आगामी दिनमा महत्त्वपूर्ण शिक्षा लिई कोरोना बिरामीको अन्तिमसम्मको ब्यवस्थापनमा पोखरा महानगरपालिकाले प्रभावकारी ढङ्गले अभिभावकीय भूमिका निर्बाह गर्नुपर्दछ।

यद्यपि एकातिर एम्बुलेन्सबाट मृतकका श्रीमती र छोरीले मृतक आफ्नो श्रीमान र बुवालाई हेरिरहेको कारुणिक दृश्य र पीडाको क्षणले कसको मन भावुक हुन्थेन ,सायदै को रुन्थेन होला ? तर, मृत्युु भैसकेपछि शव ब्यवस्थापन नै गर्न नपाउने, शव जलाउनै वा गाड्नै नपाउने भन्ने कुरा मानव अधिकार बिरोधी कुरा हो । मानवीय संवेदना बिपरित र मानवता बिरोधी कुरा हो। सार्वजनिक ठाउँमा शव ब्यवस्थापन गर्न जाँदै गर्दा स्थानीय जनप्रतिनिधिहरु वा प्रदेशकै सभासदले शवको गाडी नै छेक्ने, अवरोध गर्ने, जनताको भावना भड्काउने, उत्तेजित तुल्याउन खोज्नु पनि राम्रो कुरा हैन ।नीति बनाउने तहमा रहेका प्रदेश सभा सहितका प्रतिनिधिहरुले नै स्थान, भूगोल वा जिल्ला बिशेषको नारा लगाउनु मानवीय मूल्य र मान्यता बिपरित सन्दर्भ हो।

सार्वजनिक ठाउँमा शव ब्यवस्थापन गर्न जाँदै गर्दा स्थानीय जनप्रतिनिधिहरु वा प्रदेशकै सभासदले शवको गाडी नै छेक्ने, अवरोध गर्ने, जनताको भावना भड्काउने, उत्तेजित तुल्याउन खोज्नु पनि राम्रो कुरा हैन ।

गण्डकी प्रदेश तुलनात्मक दृष्टि र समग्रमा शिक्षित,सु-संस्कृत, सभ्य र उच्च मानवीय भावनाले युक्त नागरिक रहने प्रदेश हो । यस्तो प्रदेशको राजधानी पोखरामा रहने जोसुकैले इतिहासको कालखण्डदेखि स्थापित असल मूल्य ,मान्यता ,सु-सभ्य र सुसंस्कृत मानवीय भावनाले ओतप्रोत परम्परालाई जगेर्ना गरी मित्रता र भाइचाराको ब्यवहार प्रदर्शित गर्नु पर्दछ।

तर, तत्कालीन परिस्थितिमा नेपालको सर्वोत्कृष्ट ,ज्ञान, क्षमता र दृष्टिकोणले युक्त गण्डकी प्रदेश सरकारले परिस्थितिनुरुप बिश्वमा कोरोना कहरको बिगबिगी र नेपालमा यसको प्रचारका बेलामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई छनौट गर्नु बिद्वत प्रदेश सरकारका लागि स्वाभाविक नै थियो ।गण्डकी प्रदेशका जनसमुदायको मनोबैज्ञानिक उपचारका लागि उपयुक्त नै थियो यद्यपि यसको उल्टो नीजि लगानीमा संचालित मणिपाल र गण्डकी मेडिकल कलेज लगायतका अस्पताललाई कोरोना उपचारको जिम्मा दिनुपर्छ भन्ने आशय चाहिँ त्यति राम्रो हैन । बरु पश्चिमाञ्चल अस्पताल क्षेत्र भित्र कार्यरत सबै दक्ष जनशक्ति अर्को कोरोना बैकल्पिक अस्पताल तुरुन्तै नबनुन्जेलसम्म कोरोना महामारी बिरुद्दको लडाइँमा निशङ्कोच ,निरन्तर उच्च मानवीय र सामूहिक भावनाका साथ निरन्तर लाग्नुपर्छ ।

नागरिकको स्वास्थ्यको हिफाजतका लागि स्थानीय र प्रदेश सरकारको योजनालाई सफलीभूत तुल्याउन दत्तचित्त साथ लाग्नुपर्छ भन्ने हो । जसरी चीन जस्ता देशहरूमा एक अङ्ककै दिनमा हजारौं शैयाका कोरोना अस्पताल निर्माण भए । त्यही प्रबिधिमा मितब्ययी ढ्ङ्गले गण्डकी प्रदेश सरकारले नै सरकारको आफ्नै लगानीमा यथाशीघ्र पोखराभित्रै कोरोना अस्पताल निर्माण गरी कोरोना महामारी बिरुद्धको लडाइँ बुद्दिमतापूर्ण ढङ्गले जित्नु पर्छ।

बिरामी हुनु वा रोग लाग्नु कुनै प्राणी वा वनस्पतिको इच्छा भित्र पर्दैन । स्वस्थ रहनु वा रोग लाग्नु जीव र वनस्पतिको वश बाहिरको बिषय हो। प्रत्येक जीव वा वनस्पतिहरुमा जीवाणु र बिषाणुहरु हुन्छन् नै । जीव वा वनस्पतिको प्रतिरोधात्मक क्षमता भन्दा ब्याक्टेरिया वा भाइरसको भूमिका बढी हुँदा जीवहरुमा रोग वा बिरामीपन देखिन्छ ,बाच्ने रहर सबैलाई हुन्छ । मर्ने कसैको इच्छा हुँदैन,बिरामी हुँदा त मानिसले दु:ख,पीडा पाउछ-पाउछ, मरिसकेपछि पनि यस्तो सुन्दर सु-सभ्य मानिस बस्ने शहरमा शवले पीडा खेप्नु ,आफन्तहरुले झन् बढी सास्ती पाउनु अत्यन्तै दु:खद पक्ष हो । तर,जुनसुकै बिरामीपन किन नहोस् ,बिरामीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ,माया -ममता प्रदर्शित हुनुपर्दछ र सकारात्मक काउन्सेलिङ्ग हुनु पर्दछ।

बिरामीलाई हतोत्साहित गर्ने, घृणा वा होचो -हेला गर्ने,छुत वा अछुत जस्तो गर्नु मानवताको हिसाबले घोर अमानवीय ,सामाजिक रूपमा निकृष्ट र असामाजिक गतिविधि हो ।

बिरामीलाई हतोत्साहित गर्ने, घृणा वा होचो -हेला गर्ने,छुत वा अछुत जस्तो गर्नु मानवताको हिसाबले घोर अमानवीय ,सामाजिक रूपमा निकृष्ट र असामाजिक गतिविधि हो । बिरामी देखी भागाभाग गर्नु,उपचारमा दत्तचित्त नहुनु आफ्नो कर्तव्यबोधबाट च्यूत हुनु हो । यो त घोर अपराधिक क्रियाकलाप हो।त्यस्तै फ्रन्ट लाइनमा रहेर जीवन मरणको दोसाँधमा छटपटाइरहेका बिरामीहरुलाई नयाँ जीवन प्रदान गर्ने सेतो वस्त्रधारी सच्चा भगवानको रूपमा रहेका स्वास्थ्यकर्मीहरुबाट समेत कमजोरीहरुको कल्पना ,अनुमान र आङ्कलन समेत गर्न सकिन्न।

गण्डकी प्रदेशको राजधानी पोखरा हो। गण्डकी प्रदेशभित्र विभिन्न जातजाति ,समुदाय ,वर्ग,अल्पसंख्यक ,उत्पीडित र जनजातिहरुको बसोबास छ। यस प्रदेशभित्रको ठूलो हिस्सा जनसंख्या कृषिमा नै आधारित छ, जनसंख्याको बाक्लो प्रतिशत स्वास्थ्य ,शिक्षा र खानपानको आधारभूत आवश्यकता पूर्तिमा समेत धौधौ पर्ने खालको छ। प्रत्येक नागरिकको स्वस्थ रहन पाउने नैसर्गिक अधिकार राज्यले सुरक्षित गर्नु राज्यको अहम् कर्तव्य हो। यसर्थ गरिबीको रेखामुनि रहेका यस प्रदेशका जनसमुदायहरुको स्वस्थ रहन पाउने अधिकार सुनिश्चित गर्न र मानवीय स्वास्थ्यसित जोडिएको स्वास्थ्य सम्बन्धि उच्च शिक्षाको ग्यारेन्टीका लागि पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान र गण्डकी अस्पतालको अझै स्तरोन्नति ,थप भौतिक पूर्वाधारहरुको निर्माण ,ब्यवस्थित र प्रभावकारी संचालन र चुस्तद्रुस्त अनुगमन अहिलेको प्रमुख आवश्यकता हो।

शव सार्वजनिक घाटको परिधिभित्र दाहसंस्कार गर्न लैजाँदा भयङ्कर टाउको दुखाइ गर्नु र जनमानसलाई भड्काउने कामको नेतृत्व गर्नु अतिवाद र कुत्सित मनसायको दाउपेच हो ।

जनसंख्याको ठूलो भाग धेरै पैसा खर्चेर नीजि अस्पतालमा पुगी महँगो शुल्क तिरी स्वास्थ्य उपचार गराउन असमर्थ छ। सबै जनसमुदायको समान पहुँच ,ब्यवस्थित र प्रभावकारी उपचार बिधिको मुख्य केन्द्र पहिलेको गण्डकी अस्पताल (सलरबोर्ड) र यति ठूलो महत्त्व बोकेको र सेवाग्राहीहरुको फराकिलो क्षेत्र ओगटेको यस पश्चिमाञ्चल अस्पताल वा प्रतिष्ठानलाई कोरोना अस्पतालको रूपमा प्रयोग गर्ने कार्यको विकल्प सोच्नु पर्दछ,दैनिक हजारौं बिरामीहरुको रोग डायगोनलाईज गरी उपचार गर्दै नयाँ जीवन प्रदान गर्ने अस्पताललाई मुर्दाघाट बनाउने वा डर ,त्रास र भयले सन्नाटा छाउने खालको बनाउनु हुँदैन।

गम्भीरतापूर्वक ख्याल् गरी , सूक्ष्म अध्ययन गरी अलग्गै स्थानमा कोरोना अस्पताल बनाउनु पर्छ र भैपरि आउँदा शव दहन गर्ने जोखिम रहित स्थान र बिधि पहिचान गर्नु पर्दछ। तर,पहिल्यै सम्बन्धित भूगोल भित्रका वडाका प्रतिनिधिहरुलाई समन्वय नगर्नु सहअस्तित्व दूर्गामी प्रभावलाई स्वीकार नगर्नु वा कमजोर आङ्कलन गर्नु हो भने सुरक्षा निकायले सुरक्षा सावधानीका साथ कोरोना सङ्क्रमितको शव सार्वजनिक घाटको परिधिभित्र दाहसंस्कार गर्न लजादै गर्दा भयङ्कर टाउको दुखाइ गर्नु र जनमानसलाई भड्काउने कामको नम्बर नेतृत्व गर्नु अर्को अतिवाद र कुत्सित मनसायको दाउपेच हो ।

बिरामीले मृत्युवरण गर्दा बिना हिच्किचाहट उपयुक्त स्थानको खोजी गरी जोखिमरहित ढङ्गले शवको ब्यवस्थापन गर्नुपर्दछ र स्थान वा जिल्ला बिशेषको धङ्धङीमा मानवीय भावना र कर्तव्यबाट च्यूत हुनु हुँदैन । हाम्रो शरीर अजर-अमर छैन,हामीले गर्ने क्रियाकलाप वा ब्यवहारले हामीलाई अजर-अमर तुल्याउने हो, यसलाई हरहमेशा ख्याल् गरौं । यसैमा मानव हित र कल्याण हुनेछ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।