बाचुञ्जेल मुस्किल, मरे महामुस्किल !

काम, आम्दानी ठप्प । कहिलेसम्म यस्तो हो अनिश्चित । बचत सकिँदै । सापटी, पैचो दिनेहरु पनि कम । सरकारी राहत करिब असम्भव । चारैतिर निराशा । यस्तै मनोदशामा बाचिरहेका छन् अधिकांश नेपाली । सकल भूमण्डलमै मानव नियति यस्तै देखिएको छ । अनेक महामारी र हजारौं युद्ध विभिषिका व्यहोरेको मानव सभ्यतामाथि नै कोरोनाले प्रश्न उठाएको छ । हामीले आधुनिक र सभ्य दाबी गरेको जीवनयापन वास्तवमै त्यस्तो थियो त ? प्राकृतिक रुपमै कोरोना उत्पति भएको भए पनि यसको साम्राज्य यसरी संसारभर फैलिनुमा मानवीय कमजोरी नै मुख्य देखिएको छ । यसको थप अनुसन्धान हुँदै जाला ।

कोभिड १९ ले मानिसलाई बाघसँगै एउटै खोरमा भएजस्तो भयभित बनाइदिएको छ । यो सन्त्राश कहिलेसम्म रहला ? यसको ठोस उत्तर कसैले दिन सकेको छैन । प्रगति, उन्नति र विकासका कुरा परै छाडौं, बाच्नै मुस्किल हुँदै गएको छ । महामारी अझै चरम सीमामा पुग्ने, अर्थतन्त्र लथालिंग हुने, भोकमरी फैलिने सम्भावना बलियो हुँदै गएको छ । कोरोना लागि हाले पनि सबैको मृत्यु भइहाल्दैन । तर नेपालको परिवेशमा यसको सहज उपचार पाउन कठिन हुने देखिन्छ । अढाइ महिनासम्म चूपचाप बसेका तीन तहका सरकारले उपचारको प्रबन्धमा त ध्यान दिएनन् नै, कतै ज्यान गइहाले लास नै बेबारिसे हुने अवस्था आउने हो कि भन्ने पनि देखियो ।

सोमबार पोखरामा सभ्य समाजकै लागि नसुहाउने परिदृश्य देखियो । बस्तीभन्दा निकै पर नदी किनारमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्न खोज्दा पनि अवरोध गरियो । अरुको त के कुरा, जनप्रतिनिधि र सांसदसमेत अवरोध गर्न कस्सिए । अहिले नदीको बहाबभन्दा निकै पर बगरमा गाडिएको शवले कसैलाई जोखिम नहुने पक्का छ । यो स्तरको चेतना भएका जनप्रतिनिधिले भाषणमा अरुलाई नैतिकता र मानवीय व्यवहार सिकाउनु लाजमर्दाे हुन्छ ।

सोमबार लासको बाटो छेक्नेहरुलाई पनि भोलि कोरोना संक्रमण हुन सक्छ । कथंकदाचित उनीहरुको पनि मृत्यु भएमा अरुले यसरी नै अवरोध गरे मृतकका परिवारको मनोदशा कस्तो होला ? 

कोही रहरले कोरोना संक्रमित बन्दैन, कोही रहरले मर्दैन पनि । बाच्ने रहर सबैलाई हुन्छ । सोमबार लासको बाटो छेक्नेहरुलाई पनि भोलि कोरोना संक्रमण हुन सक्छ । कथंकदाचित उनीहरुको पनि मृत्यु भएमा अरुले यसरी नै अवरोध गरे मृतकका परिवारको मनोदशा कस्तो होला ? मान्छेको सभ्यता, संस्कृति र उन्नति सहयात्रा, संघर्ष र सिकाईको परिणति हो । महामारीमा यतिसम्म स्वार्थी, निदर्यी र अमानवीय नबनौं, देख्दा पनि मानव सभ्यताले लाज मानोस् । शव व्यवस्थापनको मामिलामा तीनै तहका सरकार र प्रशासनको पनि कमजोरी छ ।

संक्रमण बढ्न सक्छ, मान्छेको ज्यान जान सक्छ भन्ने पहिल्यै थाहा थियो । लकडाउन सुरु भएको अढाइ महिनासम्म न व्यवस्थित क्वारेन्टिनहरु बने, न त कोरोना उपचारका लागि सुविधासम्पन्न अस्पतालकै प्रबन्ध भयो । संक्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि स्थान, प्रक्रिया, जनशक्तिबारे केही गृहकार्य नै भएन । महासंकटमा राज्यको अहं जिम्मेवारी छ, राज्य सँगसँगै हरेक नागरिकको पनि उत्तिकै जिम्मेवारी हुन्छ । कोरोना लाग्नु जीवन सकिनु हो जस्तो सन्त्रास खडा नगरौं । संक्रमितलाई उचित उपचार, हेरचाहको व्यवस्था गरौं । कथंकदाचित कसैको मृत्यु भएमा पनि शव गाड्ने र जलाउने ठाउँ खोज्दा खोज्दै दिन नजाओस् । बाचुञ्जेल मुस्किल, मरेपछि महामुस्किल हुने विडम्बना सिर्जना नगरौं । हिजोको घटनाबाट सिकौं ।