भूकम्पको बेला होस् वा कोभिड १९ को संक्रमित अवस्था, प्रकृतिमा जन्मने र मर्ने प्रक्रिया चलिरहन्छ । विश्व स्वास्थ्य संगठन एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको मातृशिशु स्वास्थ्यलाई संवेदनशील क्षेत्रको रुपमा राखेको छ । कोभिड १९ ले गर्भवती,सुत्केरी तथा नवजात शिशुलाई छिटो आक्रमण गर्छ भन्ने आधार छैन तर कोभिडको कारण उनीहरूले पाउने स्वास्थ्य सेवामा भने नराम्रो असर परेको छ । लकडाउनको ७०अौँ दिनसम्ममा ५६ जना गर्भवती तथा सुत्केरीको ज्यान गइसकेको छ ।
त्यस्तै गर्भावस्था तथा जन्मपश्चात शिशु मृत्युदर पनि बढी छ । दुर्गम तथा जटिल अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरि सुरक्षित स्वास्थ्य सेवा पुर्याउने काम पनि यदाकदा भई नै रहेका छन् । लकडाउनले सवारी सेवा नपाएका,ज्यान जोखिममा रहेका र भौगोलिक विकटता भएका अवस्थामा त्यस्तो सेवा प्रदेश सरकारले प्रदान गरेको छ । यति हुँदाहुँदै पनि स्वास्थ्यशिक्षा, चेतना र जानकारीको अभावमा महिला तथा शिशुको मृत्यु हुने क्रम रोकिएको छैन ।
एउटा नवजात शिशुको लागि आमा नै प्राण हो । आमाविनाको बच्चा र बच्चाविनाको आमाको परिकल्पना गर्न पनि नपरोस् ।
जेठ १८ गते म्याग्दीकी नर्दिता गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याई उपचार त गरियो तर गर्भमा रहेका २ सन्तानलाई बचाउन सकिएन । गर्भावस्थाको ७ महिनामै असाध्यै पेट दुख्ने र रक्तश्राव नरोकिएपछि स्थानीय स्वास्थ्यकर्मीले उनलाई निगरानीमा राखिरहेकी र क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा खबर गरेकी थिइन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मार्फत अन्नपूर्ण गापा ५ बाट उनलाई उद्धार गरिएको थियोे । समयमै उद्धार भएकोले आमाको ज्यान बाँचे पनि दुई शिशुले संसार देख्न पाएनन् । यस्ता जटिलता गर्भावस्थाका सुरुका महिनादेखि सुत्केरी भएपछि पनि देखिन्छन् । बेलैमा उपचार हुन नसके आमाबच्चा दुबैको ज्यान जान सक्छ । आमाविनाका शिशुलाई हुर्काउन पनि त्यति सजिलो छैन । एउटा नवजात शिशुको लागि आमा नै प्राण हो । आमाविनाको बच्चा र बच्चाविनाको आमाको परिकल्पना गर्न पनि नपरोस् ।
जेठ २० गते बागलुङ बडीगाडकी १० दिने सुत्केरीको पनि हेलिकप्टरबाट उद्धार गरी पोखरामा उपचार गराइएको छ । सुत्केरी बेहोस भएर स्वास्थ्यमा समस्या देखिएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उनको उद्धार गरेको हो ।
माथिका घटना हेर्दा गर्भवती, सुत्केरी तथा उनको शिशुलाई जुनसुकै समयमा समस्या आउन सक्छ । त्यसकारण सुरक्षित मातृशिशुको लागि सम्बन्धि पक्ष चनाखो र तम्तयार रहनुपर्ने देखिन्छ । कोभिड १९को संक्रमण र लकडाउनको समयमा त झन् यस विषयले संवेदनशील बनाएको छ । धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोना संक्रमणले मृत्युु भयो । पछिल्लो समयमा विभिन्न सरकारी अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ। निजी अस्पतालले जो कोही बिरामी भर्ना लिदैनन् । अब अत्यावश्यक प्रसुती सेवा झनै जोखिमपुर्ण बन्दैछ ।
जटिल अवस्थाका बिरामीलाई थप स्वास्थ्य सेवाको लागि माथिल्लो निकायसँग समन्वय गरिदिने काम स्थानीय निकायले नै गरिदिन सक्छ ।
लकडाउनको अहिलेको अवस्थामा सुरक्षित मातृशिशुको निम्ति परिवारमात्र जिम्मेवार भएर नहुने देखिएको छ । गर्भावस्थाको सुरुवातदेखि स्वास्थ्य जाँच गराइरहेका स्थानीय संस्थाका स्वास्थ्यकर्मी, टोल तथा समाजका अगुवा, स्थानीय जनप्रतिनिधिले आफ्नो क्षेत्रका गर्भवतीहरुको लगत लिएर जिम्मेवारी निर्वाह गर्न सक्छन् । त्यस्तै प्रदेश सरकार तथा प्रादेशिक अस्पतालले पनि अफ्ठ्यारोमा परेका महिलाको उपचारमा समन्वयात्मक भुमिका खेल्न सक्छन् । कतै अस्पताल नै मातृशिशुको लागि असुरक्षित नहोस् ।
लकडाउनमा यस्ता समस्याको घण्टी बज्न नदिन गर्भवती महिलाले स्वस्थकर खाना,आहार बिहार र सकरात्मक सोच राख्नुपर्छ । समय समयमा स्वास्थ्य जाँच गर्नुपर्छ । स्वास्थ्यमा कुनै समस्या देखिएमा परिवारका सदस्यलाई खुलस्त भन्नुपर्छ । परिवारका सदस्यले पनि साबिकको भन्दा विशेष निगरानी र स्याहार गर्नुपर्छ । सासू आमा लगायतले आफ्नो पालाको कुरा गरेर र गोठमा घरमा वा बारीमा काम गर्दागर्दै बच्चा पाउनुपर्छ भन्ने धारणा सुनाउनु हुँदैन । खानपिन र स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने खर्च तथा यातायातको व्यवस्था गर्नुपर्छ ।
अहिलेको परिस्थितिमा टोलका अगुवा,सामाजिक संस्था र स्थानीय निकायका पदाधिकारीले आफ्नो क्षेत्रका गर्भवती र सुत्केरीको तथ्यांक संकलन गरेर राखेमा राम्रो हुन्छ । गरिब, असहाय तथा बेरोजगार मजदुरका परिवारमा भएका त्यस्ता महिलालाई पोषणयुक्त खाना,राहत या आर्थिक सहायता जरुरी हुन्छ । जटिल अवस्थाका बिरामीलाई थप स्वास्थ्य सेवाको लागि माथिल्लो निकायसँग समन्वय गरिदिने काम स्थानीय निकायले नै गरिदिन सक्छ ।
गर्भावस्थामा निम्नानुसारका खतराजन्य लक्षण देखिएमा बिरामीलाई जतिसक्दो छिटो सुविधा सम्पन्न अस्पतालमा पुर्याउनु पर्छ ।
- टाउको साह्रै दुखेमा वा ज्वरो आएमा
- आँखा तर्मिराएर धमिलो देखिएमा
- हातमुख सुन्निएमा
- कडासँग तल्लो पेट दुखेमा
- हातखुट्टा अररो भई सुन्निने,काँप छुट्ने वा मुर्छा पर्ने भएमा
- योनीबाट रगत वा पानी बगेमा
त्यस्तै प्रसुतिका बेलामा देखिने खतराका लक्षणहरू
- आठ घण्टाभन्दा लामो सुत्केरी व्यथा लाग्नु
- काँप छुट्नु वा मुर्छा पर्नु
- पहिला हातखुट्टा वा नाल निस्कनु
- बच्चा जन्मनु अघि वा पछि धेरै रगत बग्नु ।
जन्मिएको बच्चा स्वस्थ र जीवित रहन जन्मेको केही समयमै बच्चाले आमाको दूध चुस्न सक्नुपर्छ । नाभिबाट रगत बगेमा, ज्वरो आउने आदि भएमा खतरापूर्ण अवस्था बुझ्नुपर्छ । हाल कोरोनाको संक्रमणबाट आमाबच्चा दुवैलाई बचाउन अनावश्यक मानिसको भिडबाट टाढा राख्नुपर्छ । बच्चा तथा आमाको सम्पर्कमा आउने सबैले माक्स लगाउने तथा हात धोएर मात्रै छुने गर्नुपर्छ ।
गर्भवती, सुत्केरी तथा बालस्वास्थ्य क्षेत्रमा अहिले लापरबाही भयो भने परिवार, समाज तथा राज्यले अर्को ठूलो क्षति बेहोर्नुपर्छ ।
यसरी आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गरी समयमै स्वास्थ्यसेवा र अन्य सुविधा पुर्याउन नसके दुवैको ज्यान जोखिममा पर्न सक्छ । नेपालमा वर्षेनि झण्डै ७० हजार बालबालिका जन्मन्छ । पछिल्ला वर्षहरूमा नेपालका कर्णाली प्रदेश र २ नं प्रदेशका जिल्लामा बाहेक धेरै जिल्लामा मातृशिशु स्वास्थ्य सेवामा धेरै सुधार देखिएको थियो । मातृशिशु मृत्युदर घट्दो क्रममा थियोे । हरेक क्षेत्रमा जस्तै कोभिड १९ को असर मातृशिशु स्वास्थ्यमा नराम्ररी पर्न थालेको छ । कोभिडकै कारण कतिपय ठाउँमा नियमित खोपका कार्यक्रम पनि प्रभावित भएका छन् । बालक जन्मेपछि स्वास्थ्य सेवा र सम्पूर्ण खोप पाउने मौलिक अधिकार संविधानमा उल्लेख छ । समयमै पूरा खोप नपाए खोप कार्यक्रम बेकार हुन जान्छ ।
महामारी आयो , भुकम्प गयो या विभित्र प्राकृतिक प्रकोप आएपनि बच्चा जन्मने सिलसिला रोकिदैन । समय आएपछि पाकेको फल झर्नुपर्छ । गर्भवती, सुत्केरी तथा बालस्वास्थ्य क्षेत्रमा अहिले लापरबाही भयो भने परिवार, समाज तथा राज्यले अर्को ठूलो क्षति बेहोर्नुपर्छ । त्यसैले अहिलेको संक्रमणकालीन अवस्थामा यो विषयमा सबै जिम्मेवार भएर लाग्नुपर्छ ।









