पोखरा २३ को ठूलाखेत, खहरेकुनोमा गत वर्षबाट चक्लाबन्दी थालियो । यही नजिकै फेवातालको सिल्ट्रेसन ड्याम पनि बन्दै छ । १ सय ५६ रोपनी जग्गा चक्लाबन्दी भयो । सम्भवतः यो प्रदेशकै ठूलो चक्लाबन्दी हो ।
यसका लागि २० लाख स्थानीय र २० लाख प्रदेश सरकारले लगानी गरेका छन् । गत वर्ष ४८ मुरी धान उत्पादन भएकोमा यस वर्ष ३ सय मुरी धान फलाउने लक्ष्य छ ।
यसका अध्यक्ष विष्णु दाहाल सम्याउन ल्याएको डोजरले बिउ राखेर, १ सय ८६ जना खेताला लगाएर धान रोपिएको सम्झिए । साउन १४ गतेसम्म रोपे पनि सबै क्षेत्रफलमा रोप्न सकिएन । धान भने राम्रै फल्यो ।
यसपालि यो क्षेत्रलाई कृषि ज्ञान केन्द्रले धान पकेट क्षेत्र भनेर सम्बोधन गरेको छ । दाहाल भन्छन्, ‘यसपालि तेब्बर धान फलाउँछौं । ३ सय मुरी धान उब्जाउछौं । सबै ठाउँमा यसरी नै काम गरौं । देशलाई आत्मनिर्भर बनाऔं ।’
चक्लाबन्दी अवलोकन गर्दै प्रदेशसभा सदस्य राजीव पहारीले कृषिमा आत्मनिर्भर नभई देश आत्मनिर्भर हुन नसक्ने बताए । उनले भने, ‘नेपाललाई कृषिप्रधान देश भन्ने, भएभरका सबै खाद्यान्न बाहिरबाट ल्याउनुको अर्थ छैन ।’ सदनमा पनि कृषिमा सबैभन्दा बढी लगानी गर्नुपर्छ भन्ने आवाज आफूले उठाउने उनले प्रतिवद्धता गरे ।
केहीले तरकारी, खाद्यान्न उत्पादन गरे पनि बजारिकरणको समस्या रहेको उनले सुनाए । बढी वर्षा भए पनि वर्षा नभए पनि कृषक समस्या पर्ने गरेकाले स्थानीय र सरकारको एकीकृत प्रयासमा कृषिको विकासबाट नै देश समृद्धिको बाटोमा जाने उनले सुनाए ।
चक्लाबन्दी अवलोकनपछि सांसद पहारीले फेवाताललाई जोगाउन बनाइएको सिल्ट्रेसन ड्यामको पनि निरीक्षण गरेका थिए ।




