जागिर त सरकारी नै…


जब म २३/२४ बर्षको थिएँ, त्यतिवेला मेरो विहे गर्ने उमेर भएको थियो । मलाइ विहेको प्रस्ताव धेरै ठाउँबाट आएको थियो । तर मेरा बुवाआमा सधै सरकारी जागिर भएको केटामात्रै खोज्नु हुन्थ्यो। किन खोज्नु हुन्छ सरकारी जागिर भएको केटा मात्रै ? के प्राइभेट जागिर खाने मान्छे होइनन् ? के तिनिहरुको जागिर जागिर नै होइन ? म सधै यही भनेर कराइ रहन्थें ।

मेरो बुवाआमालाई सरकारी जागिर खानेकुरा मन पर्थ्यो र त्यसमा अडीग पनि हुनुहुन्थ्यो । बुवाआमा एकै स्वरमा भन्नु हुन्थ्यो, ‘बरु सहरमा घर, घडेरी चाहिँदैन, तर जागिरचाँहि सरकारी नै हुनुपर्छ ।’ उहाँहरु सधै सरकारी जागिर खानेलाई बढी महत्व दिनुहुन्थ्यो । मलाई अचम्म लाग्थ्यो बुवाआमाको जिद्द्धी देख्दा । कहिलेकाँही रिस पनि उठ्थ्यो।

बुवाआमा मलाई पनि सधै कराउनु हुन्थ्यो, लोकसेवा लडेर जागिर खा प्राइभेट जागिरको कुनै भर हुँदैन, कहाँ, कति वेला, कसरी छुट्छ । मलाई ती ठेली पढ्न जाँगर नै लाग्दैनथ्यो ।
पढ्यो पढ्यो नाम निस्कने कहिल्यै होइन ह्या म त पढ्न सक्दिनँ ती किताबका ठेली, मैले जाँगर लगाएर कहिल्यै पढिनँ या भनौं मैले सरकारी जागिरलाई कुनै महत्व नै दिइनँ। मलाई काम सबै उस्तै हो, उत्तिकै सम्मानित हो, राम्रो काम गरे जे काम गर्दा पनि हुन्छ भन्ने अटल विश्वासले जरा गाडेको थियो ।

मलाई लाग्दथ्यो झण्डै ३ करोड जनसंख्या रहेको नेपालमा निजामती जागिर ८०/८५ हजार, सेना प्रहरी १, १ लाखभन्दा बढी अन्य त्यस्तै एक डेढ लाखबाहेक अरु सबै त कि आफ्नै व्यापार व्यवसाय वा नीजि जागिर त हो। सबैको सोच मेरो आमाबुवाको जस्तै भए के अरुको विहे नै नहुने त ? म शिक्षित नारी भएकाले यो सोचाइमा परिवर्तन ल्याउनु पर्छ भन्ने मान्यतामा अडिग थिएँ ।

बुवाआमा एकै स्वरमा भन्नु हुन्थ्यो, ‘बरु सहरमा घर, घडेरी चाहिँदैन, तर जागिरचाँहि सरकारी नै हुनुपर्छ ।’

समय बित्दै गयो, मैले मेरै रोजाइमा प्राइभेट जागिर खाने केटासँग विहे गरे । आखिर मेरो रोजाइ र खुसीका अगाडि बुवाआमा नतमस्तक हुनुभयो । मैले जित हाँसिल गरेँ, उहाँहरुको केही जोर चलेन । सरकारी जागिर खाएका कैयौ केटालार्इ पन्छ्याएर मैले आफैले मन पराएको प्राइभेट जागिर खाने केटासँग विहे गरेँ । बुवाआमाले मसँग चित्त त दुखाउनु भयो तर पनि मेरो रोजाइ र खुशीका लागि आफ्ना इच्छा, चाहनालाई मारेर विवश हुनुभयो कन्यादान दिन र जसोतसो मन बुझाउनु भयो ।

विहे गरेकै बर्ष भूइँचालो गयो । वैशाख २ गते विहे गरेको वैशाख १२ गते महाविनासकारी भूकम्प गयो । धेरै ठूलो क्षति पुगेको भूकम्पले मेरो श्रीमान् जस्ता कयौ प्राइभेट जागिर खानेहरुको जीवन नराम्रो प्रभाव पर्यो । धेरै ठूलादेखि सानासाना विल्डिङ भत्किए । १४ जिल्ला नराम्ररी प्रभावित भए र न्यून असर भने देशभर नै पर्यो । हजारौको संख्यामा नीजि क्षेत्रमा काम गर्नेहरुले रोजगारी गुमाउनु पर्यो । ६ महिनासम्म त धेरैको काम पुन सञ्चालनमा आउन सकेन । अझैसम्म पनि पुननिर्माणको काम सम्पन्न भइसकेको छैन, हुने क्रममै छ ।

उहाँ ६ महिना काम विहीन बन्दा नै पहिलो गाँसमा ढुंगा लागे जस्तै भयो । त्यति वेला नै मैले बुवाआमाले भनेको कुरा सम्झेँ । उहाँको काम चल्न सकेन । काम नभएपछि तलव पनि आएन । काम हुँदा जति नै फाइदा भए पनि नेपालका निजी उद्योग, व्यवसायले फाइदामा कर्मचारीलाई सहभागी बनाउने संस्कार छैन, केही अत्यन्तै सिमित संगठन बाहेकमा । तर व्यवसाय केही कारण १५ दिनमात्रै चलेन भने पनि तलव दिन निकै गाह्रो मान्ने र व्यवसाय बन्द भएको, ऋण तिर्न समस्या भएको भनेर कर्मचारी नै मारमा पर्ने गर्छन, पर्ने गरेका छन् ।

त्यो वेलाको दुखपीडा खै कुन शब्दमा र कसरी व्यक्त गरौ म ? तर त्यति वेला ६ महिनापछि विस्तारै जीवन फेरि सहज बाटोमा लाग्न थाल्यो । उहाँ काममा फर्कनु भयो, जसोतसो हाम्रो घर, व्यवहार चल्न थाल्यो । म पनि निजी स्कुल पढाउन थालेँ। दुई जनाको कमाई ४०, ४५ हजार हुन्थ्यो । काठमाण्डौको ठाँउ, बढ्दो महंगी, कोठाभाडा, खाना खर्च, छोराछोरीको पढाइ, कमाई र खर्चको तालमेल मिलाउन धौधौ नै हुने गर्थ्यो ।

दुख सुख पर्दाका लागि केहि रकम बचत गर्नुपर्छ भन्ने जान्दा जान्दै पनि त्यो फगत कल्पनामा मात्रै सम्भव थियो हाम्रो लागि । वस्तविकतामा छोरा, बुहारी नै जागीर गर्ने भनेपछि गाँउमा त राम्रै मान्थे, अनि सासु ससुरालार्इ पनि अवश्य नै सोध्ने भए गाँउलेले सहरबाट पैसो पठाउँछन् कि पठाउँदैनन् भनेर । इज्जतकै लागि भए पनि, अनि नूनतेल, लत्ताकपडाको लागि भए पनि, केही रकम गाँउ पठाउनैपर्ने बाध्यता पनि त थियो हामीलाई । आफ्नो पीडा आफ्नो ठाँउमा छँदै छ, टिपटिप नै पर्थ्यो दैनिक गुजारा चलाउन । आम्दानी र खर्च बराबरमा जविन चलेका हामी जस्ता भूक्तभोगीलाई यो कुनै नौलो विषय पक्कै होइन ।

यति वेला विश्व नै नोभल कोरोना भाइरस अर्थात कोभिड १९ को महामारीले आक्रान्त बनेको छ । कोभिड १९ का कारण फेरि एक पटक विश्वमा नै निजी क्षेत्रमा काम गर्ने करोडौ कर्मचारीले जागिर गुमाएका समाचार प्रकाशित भएका छन् । विश्व अर्थतन्त्र नै प्रभावित बनेको छ । कस्तो असर पर्छ, कति असर पर्छ भनेर विश्वभरका अर्थशास्त्री आआफ्नो अध्ययन, अनुशन्धान तथा विश्लेषणमा व्यस्त बनेका छन् ।

अलिअलि साथमा भएको पैसा पनि सकिन थाल्यो, अब त के खाने, के लाउने भएको छ । मरिने हो कि बाँचिने, त्यो पनि त टुङ्गो छैन ।

जेसुकै विश्लेषण आए पनि विश्व अर्थतन्त्र प्रभावित हुने निश्चित प्राय छ । यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा काम गर्ने कामदार, कर्मचारी पर्नै पनि पक्का नै छ । अहिले नै विश्वमा धेरैले रोजगारी गुमाएका छन्, गुमाउने क्रम भर्खर सुरु भएको छ । कहिलेसम्म यो क्रम जारी रहन्छ ? कोही कसैले अनुमान गर्न सक्छन् होला र ? अनि के त्यो अनुमान ठ्याक्कै मिल्छ होला जस्ता प्रश्नले रातदिन सताइरहेको छ । विश्व यतिवे ला लकडाउन अर्थात बन्दाबन्दीमा छ । नेपालमा पनि लकडाउन शुरु भएको दुई महिना नाघिसकेको छ, कहिलेसम्म चल्छ टुङ्गो छैन ।

दुई महिनादेखि न उहाँको अफिस छ, न त मेरो । हामी दुवै जना घरमा नै छौ । अलिअलि साथमा भएको पैसा पनि सकिन थाल्यो, अब त के खाने, के लाउने भएको छ । मरिने हो कि बाँचिने, त्यो पनि त टुङ्गो छैन । उहाँको अफिस के होला कुनै टुङ्गो छैन, यता मेरो पनि बच्चाबच्ची पढाउने ठाँउ कोरोनाको कहर कहिले सकिन्छ र विद्यालय खुल्छ, कुटुकुटु मन खाइरहेको छ । आजभोलि न निन्द्रा, न भोक, न तीर्खा भएको छ ।

दुई वटा कोठामा गुजारा चलाएका हामी, महिनाको १० हजार भाडा तिर्नुपर्छ । भाडा कसरी तिर्ने, बिहान बेलुकाको चुल्हो कसरी बाल्ने, केही सोच्न सकेका छैनौं । उहाँको त काम नै के हुने, कहिले सुरु हुने, हुने वा नहुने वा अर्को कुनै काम खोज्नु पर्ने, अत्तोपत्तो छैन । यता मेरो पनि विद्यार्थी भर्ना गर्ने, नतिजा प्रकाशित गर्ने र नयाँ शैक्षिक सत्र शुरु गर्ने वेलामा सुरु भएको लकडाउन कहिलेसम्म भन्ने टुङ्गो छैन । विद्यार्थीको शुल्क उठाएर तलव दिनेले यो वेला कसरी दिनु अनि कर्मचारीले कसरी तलव माग्नु ? यस्तै समस्यामा विद्यालयमात्रै नभएर अन्य उद्योग प्रतिष्ठानमा पनि त, न काम, न उत्पादन, न त बिक्री वितरण, न त सेवा प्रवाह अनि सञ्चालक तथा कर्मचारीलाई यस्तै त होला अवस्था न तलव माग्नु न त दिनु नै।

निजी क्षेत्रको उद्योग, प्रतिष्ठानमा काम गरेर जीवन गुजारा गर्नेहरु महामारी र विपत्तिका वेला जहिले पनि संकटमा पर्ने गरेको इतिहासदेखि वर्तमानसम्म ज्यूँका त्युँ छ ।

माइतीबाट बुवाआमाले फोन गर्नुहुन्छ के गर्दै छौ ? ज्वाइँ र तिम्रो दुवैको काम छैन कसरी गुजारा चलाएका छौ ? पैसा त सकियो होला, के गरेका छौ ?
म नाजवाफ हुन्छु, म केही बोल्नै सक्दिनँ । म अरु नै कुरा गरेर टारी दिन्छु । फोन राखेपछि सम्झिन्छु, बुवाआमाले त्यसै सरकारी जागिर भएको केटा खोज्नु भएको रहेनछ । त्यसै रातदिन मलाई लोकसेवा पढ पढ भनेर किचकिच गर्नु भएको होइन रहेछ ।

मैले प्राइभेट जागिर पनि जागिर नै त हो । प्राइभेट जागिर खानेको पनि त आत्मसम्मान हुन्छ। उनीहरु पनि आआफ्नो ठाँउमा महत्वपूर्ण छन् र हुन्छन् । यही सोच्थेँ म, तर जब जब भूकम्प, बाढी ,पहिरो जस्ता ठूला ठूला, प्राकृतिक विपत्ति, कोरोना हैजा, बर्ड फ्ल्यु, स्वाइन फ्ल्यु, जस्ता महामारी फैलदा, दिगो हुने जागिर त सरकारी जागिर नै रहेछ । प्राइभेट जागिर कुन वेला खुस्कन्छ, कति वेला के आपतविपत आइलाग्छ, कस्लाइ के थाहा ? पत्तै नहुने रहेछ।

महाविपद्का बेला होटल, मेनपावर, शिक्षा, फिल्म, पार्टी प्यालेस, बिभिन्न उद्योग व्यवसाय, निजी सञ्चार क्षेत्र जस्ता धेरै क्षेत्र ठप्प प्राय छन्। अझै भनौ भने यी र यस्ता कयौ क्षेत्र धराशायी बन्ने र धेरै जना एकै पटक वेरोजगार बन्न पुगेका छन् । अनि धेरै जनाको रोजीरोटी खोसिने खतरा छदैछ । निजी क्षेत्रको उद्योग, प्रतिष्ठानमा काम गरेर जीवन गुजारा गर्नेहरु महामारी र विपत्तिका वेला जहिले पनि संकटमा पर्ने गरेको इतिहासदेखि वर्तमानसम्म ज्यूँका त्युँ छ । यसो हुनुमा कतिपय नीति, नियम अपूर्ण छन् त, कतिपय बनेका नियम, कानुन कार्यान्वयनमा आउनै सकेका छैनन् ।

जब प्राकृतिक विपत्ति एवं महामारीजस्ता प्रकोपले सताउँछ, सरकारी जागिर खानुपर्छ भन्ने महसुस गर्न चाँहि बाध्य हुँदोरहेछ ।

सरकारले असंगठित क्षेत्रका मजदुरका लागि लागु गरेको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ८० नदिने धेरै छन्। जसको आधिकारीक तथ्याङ्क पाउनै कठीन छ । आधारभूत तलव नदिने तर बिभिन्न भत्ताको नाम दिएर २० हजारसम्म दिने गरेका लाखौ संघसंस्था छन् । व्यवसायमा नाफा हुँदा कामदारलाई केही हिस्सा नदिने तर जब कुनै कारण अप्ठ्यारो परिस्थिति आयो भने सबै कामदार, कर्मचारीले समान दायित्व वेहोर्नु पर्ने, निजी क्षेत्रमा काम गर्नेहरुको नियति बन्ने गर्दछ । अफ्ठ्यारोमा तलव खुवाउनु त कता हो कता जागिरबाटै बिदा गर्ने मनोवृतिका कारण पनि निजी क्षेत्रमा काम गर्नेहरु सदा पीडित बन्ने गर्छन् ।

यति भनिरहँदा पनि, मैले निजी क्षेत्रको जागिर नराम्रो भन्न खोजेको पट्क्कै होइन । म सम्मान गर्छु उनीहरुलार्इ जो जस्तोसुकै कठीन भन्दा कठीन परिस्थितिसँग जुध्दै, आँशु पिएर भए पनि जीवन जिउँदै अगाडि बढ्छन् । उनीहरुको पनि आफ्नो छुट्टै प्रतिष्ठा र गरिमा छ । उनीहरुको पनि आफ्नो इज्जत छ अनि यही समाजमा जिउँनु छ । सबैले सरकारी जागिर नै खानुपर्छ भन्ने होइन । तर जब जब प्राकृतिक विपत्ति एवं महामारीजस्ता प्रकोपले सताउँछ, सरकारी जागिर खानुपर्छ भन्ने महसुस गर्न चाँहि बाध्य हुँदोरहेछ ।

जबसम्म कानुनी र व्यवहारिक रुपमा नै निजी क्षेत्र व्यवस्थित हुँदैन, जस्तोसुकै विपत्तिमा, म र मेरो जागिर सुरक्षित छ भन्ने महसुस गराउने गरी निजी उद्योग प्रतिष्ठान स्थापित हुँदैन, तबसम्म भन्न बाध्य हुनुपर्ने रहेछ जागिर त सरकारी नै हुनु पर्छ ।

कोभिड १९ को कहरले महिनौ कोठामा थुनिएर बस्दा आज कता कता लोकसेवा तयारीका किताबका ठेली खोजेर पाना पल्टाउन मन लाग्न थालेको छ । र, भन्न बाध्य छु म, जागिर त सरकारी नै…..।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं