तिम्रो जस्तो व्यबहार
म कतै देख्दिनँ
तिम्राजस्तै धारिला कविता
म पढ्न पाउदिनँ अचेल
तिम्रोझै स्वाभिमान उचो
सगरमाथाको पनि छैन कि ?
किन हो कुन्नी ?
सत्ता पाएर पनि
तिमीसँगै हिडेकाहरु
खाली खाली छन्
निरीह निरीह छन्
हतास हतास देख्छु
पत्रिकाका समाचार पनि
फोस्रा, फिक्का र अल्ना छन्
सांस्कृतिक फाटमा भुसैभुस छ
कलमले मर्म लेख्दैन
किन डम्फू मादल खैजडी
श्रमजिवीका गीत गाउदैनन् ?
कम्सेकम तिमीले देख्न त परेन
हदैसम्मको स्खलन
सर्वहारावादीको वर्ग उत्थान
अचेल नेताहरु गणेश बने
व्यापारीहरु किर्ना बने
समाजसेवीहरु झिंगा झै
शिक्षकहरु व्यापारी जस्ता
अस्पतालले अजिङ्गरझै
मुख बाउदै गरेको देख्छु
हाम्रो बाटोमा जुका सल्बलाएका छन्
सर्पले फणा उठाएका छन्
बिच्छीले पुछार उचालेका छन्
हामी लामो यात्रामा सवार छौ
थाहा छैन कति खप्नु पर्छ भोक, तीर्खा
तिमीले झै यतना र पीडा
मेरो प्यारो कवि
मन्जुर छ हामीलाइ
यो यात्रा निरन्तर निरन्तर ।




