
अचल भै बस्दछ
धरतीमा टेकेर
अचम्मै पो लाग्दछ
यसको रुप देखेर
गजधम्म परेर
बसेको छ यसरी
आयो होला कहिले
कहाँबाट कसरी ?
बनेको छ बलियो
ढुङ्गा अनि माटोले
शिखरैमा पुर्याउँछ
डोहोर्याउँदै बाटोले
अटल छ पहाड
धरतीको काखमा
पहिलो झुल्को घामको
यही डाँडा पाखामा
तलबाट माथि हेर्दा
टोपी खस्ने चुचुरो
कतै देख्छु सानासाना
थुम्काथुम्की टाकुरो
रुख पात हरिया
फूल पनि फुलेका
चरिबरी जनावर
यसकै काखमा डुलेका
आँधी आउँदा हल्लिन्न
पानी पर्दा बग्दैन
सित्तिमिती कसैसँग
रत्ती पनि डग्दैन
यही पहाडको काखमा
मेरो पनि घर छ
डर छैन कसैको
मलाई यस्कै भर छ
डुल्दै आउँछन् बटुवा
हेरी दङ्ग पर्दछन्
मन साह्रै लोभ्यायो
भन्दै बयान गर्दछन् ।
२०७७/०२/१२