जेठ १० गते २०७७

ताजा समाचार

जेठ १० गते २०७७

अनिश्चित लकडाउन र बालबालिकामा पर्न सक्ने असर



आज विश्व नै कोरोना भाइरस (कोभिड १९)का कारण तहसनहसको अवस्थामा छ । चीनको हुवेही प्रान्तको वुहान सहरवाट सन् २०१९ डिसेम्बर महिनाको अन्तिम सातादेखि सुरु भएको कोभिड माहामारीले विश्वका विकसित एवम् शक्तिशाली राष्ट्रहरु महामारीवाट सबैभन्दा वढी प्रभावित भएको देखिन्छ । यो लेख लेख्दासम्म विश्वभर ५१ लाखभन्दा बढी संक्रमित, ३ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

२ सय ५० भन्दा बढी राष्ट्रमा फैलिसकेको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । त्यसैले त भयावह अवस्था नआओस् भन्ने सोचले नेपाललाई चैत ११ गतेदेखि लकडाउनमा राखिएको छ । तर पनि नेपालमा ५ सयभन्दा बढी संक्रमित र ३ जनाको त मृत्युसमेत भइसकेकको छ । लकडाउन अझै कति लम्बिने हो त्यो पनि थाहा छैन । यो माहामारीको अवस्थामा अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र ठप्प छन् । विद्यालय तथा विश्वविद्यालय विगत फागुनको अन्तिम सातादेखि बन्द छन् । कोरोना भाइरसका कारण तथा सम्पूर्ण क्षेत्रमा पुगेको असरसँगै बालबालिकाको पढाइमा समेत ठूलो असर पुग्ने देखिएको छ ।

बन्दाबन्दीका कारणले गर्दा एसइईका लागि तयारीमा रहेका र कक्षा ११ एवं १२ मा अध्ययनरत विद्यार्थीको परीक्षा प्रभावित भएको छ । परीक्षा होला या नहोला, भए पनि कहिले हुन े हो भन्ने कुराले यो पाटक विद्यार्थी निकै तनावमा छन् । अर्काथरी विद्यार्थी पछिल्ला दिनमा लम्बिएको लकडाउनसँगै विद्यालयमा गई पढ्न पाउने अवस्था झनै अनिश्चित देखिएको छ । बिहानदेखि ६ घण्टा विद्यालय बाँकी केही समय होमवर्क र केही समय अन्य काममा ब्यतित गर्ने बालबालिका अहिले पूरै समय फुर्सदमा छन् ।

बालबालिकामा पप्जी तथा फ्रीफायर जस्ता अन्य अनलाइन गेमबाट समय त व्यतित गरेकै छ तर ती गेम अधिक समय खेल्दा एडिक्ट जस्तै हुने कुराको प्रमाणित मेरो एक अध्ययन नै बनेको छ ।

विगत दुई महिनादेखि घरमै थन्कन बाध्य भएका बालबालिकामा अब मोवाइल वा इन्टरनेट नै समय बिताउने मुख्य साधन बनेको छ । अधिकांश समय मोवाइलमा बिताउँदा त्यसले पनि थुप्रै नकरात्मक असर नआउलान् भन्न सकिदैन । विशेषगरी बालबालिकामा पप्जी तथा फ्रीफायर जस्ता अन्य अनलाइन गेमबाट समय त व्यतित गरेकै छ तर ती गेम अधिक समय खेल्दा एडिक्ट जस्तै हुने कुराको प्रमाणित मेरो एक अध्ययन नै बनेको छ । ती कोमल आँखामा सेल फोनबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नकरात्मक असर पार्ने देखिन्छ । घरमा होस् या अन्य ठाउँमा हरपल हातमा मोवाइल नै हुन्छ । आजकल त झन बच्चाहरुलाई खाना खुलाउनका लागि समेत मोवाइल दिने चलन व्याप्त छ ।

एकैछिन मोवाइलबाट टाढा हुँदा रिसाउने, झन्किने र अर्धचेतको अवस्था देखिनुले बालबालिका मोवाइल बिना बाँच्न नसक्ने जस्तो लक्षण देखाउँछन् । यसरी लामो लकडाउनका कारण अभिभावकसँगै भए पनि मोवाइलसँग नजिकिएका बालबालिका इन्टरनेट र मोवाइलको भयावह भाइरसबाट भने उम्किन नसक्ने अवस्था देखिएको छ । मोवाइल पाएपछि एउटा कुनामा गएर थन्किने र बाबाआमा तथा आफन्तको कुनै वास्ता नराख्ने फेरि आफूलाई भोक तीर्खाको समेत परवाह नगर्ने बालबालिकाहरु संयुक्त परिवारमा रहेर पनि बाबाआमा, परिवार तथा समाजबाटै अलग्गिने हुने हुन् कि भन्ने डरलाग्दो अवस्था पनि नआउला भन्न सकिँदैन ।

इन्टरनेटबाट अनैतिक तथा अश्लिल भिडियो सहज रुपमा पाइने भएकाले १४ वर्षभन्दा माथिका बालबालिका यसमा अलि बढी नै चासो राख्ने र हेर्ने गर्दा मानसिक रुपमै असर पर्न जाने देखिन्छ । हुन त आजको युग सूचना तथा सञ्चारको युग हो । विश्व संचार प्रविधिको प्रयोगले यति नजिक भएको छ कि आज दुनियाँको कुनै पनि कुनाकाप्चामा भएका घटना तत्कालै प्रत्यक्ष रुपमा हेर्न र अनुभूति गर्न सकिने भएको छ । सूचना र सञ्चारको क्षेत्रमा देखापरेको नवीनतम प्रविधिलाई सही ढंगबाट प्रयोगमा ल्याउन बालबालिकालाई सिकाउने हो भनेमात्र धेरै सकारात्मक उपलब्धि प्रप्त हुन सक्छन् । शैक्षिक क्षेत्रमा वा भनौं व्यक्तिगत योग्यता बढाउनका लागि प्रविधिको सही प्रयोगले मात्र थप टेवा पुग्ने देखिन्छ ।

बालबालिकाको मानसपटलमा सकरात्मक ऊर्जा थप्न परीक्षा दिन नलगाई वैकल्पिक तरिकाबाट कक्षोन्नति गराउने, घरबाटै सम्भव र उपलब्ध विविध सञ्चारका माध्यमबाट पढाउनुपर्ने आवश्यकता देखिन्छ ।

त्यसैले बालबालिकालाई अभिभावकको प्रत्यक्ष निगरानीमा मात्र मोवाइल फोन वा इन्टरनेट चलाउन लगाइयो भनेमात्र यसको सकरात्मक भूमिका रहन सक्छ । त्यसो त किताबी ज्ञानमात्र सर्वज्ञान नठानी यो लकडाउनको बेला बालबालिकालाई किचनमा खाना बनाउन, लुगा धुन, करेसाबारीमा काम गर्न, कौशी खेती गर्न, ब्यक्तिगत सरसफाइमा ध्यान दिन, आमाबाबालाई काममा सहयोग गर्ने, संस्कारका कुरा लगायत कोरोना रोग सम्बन्धी ज्ञान साथै सुरक्षित रहने उपायहरु, त्यस्तै सृजनात्मक कार्य ( लेखरचना,चित्र कोर्न, पेन्टिङ गर्न आदि ) दीर्घकालीन महत्व राख्ने जीवनउपयोगी ज्ञान सिकाउन सकिन्छ ।

जसले गर्दा उनीहरुले वास्तविक जीवनको व्यवहारिक अर्थ बुझ्ने सुनौलो मौका पनि प्रात्त गर्दछन् । इन्टरनेटको प्रयोग सहरमा भन्दा गाउँघरमा निकै कम हुन्छ । उनीहरुलाइ अन्य काममा अभिभावकमार्फत प्राय व्यस्त नै गराइन्छ । नेपालमा प्रत्येक दिन बढ्दै गएको कोरोना संक्रमित संङ्ख्या हेर्दा सन्त्रासमय भयावह अवस्था नआउला भन्न सकिदैन । त्यसैले बालबालिकालाई विद्यालय बोलाएर पढाउने र परीक्षा दिन लगाउने काम अब छिटै सम्भव देखिदैन । अनिश्चित काल बनेर लम्बिएको लकडाउनले परीक्षा दिने बालबालिकाको मानसपटलमा सकरात्मक ऊर्जा थप्न परीक्षा दिन नलगाई वैकल्पिक तरिकाबाट कक्षोन्नति गराउने, साथै अन्य विद्यार्थीलाई घरवाटै संम्भब र उपलब्ध विविध सञ्चारका माध्यमबाट पढाउनुपर्ने आवश्यकता देखिन्छ ।

सहरी इलाकामा यस्ता किसिमका अनलाइन क्लास चलाउने भनेर प्रयास पनि नभएका होइनन् । तर हाम्रो जस्तो मुलुकमा अनलाइन क्लास कति प्रभावकारी हुन सक्छ भन्ने कुरालाई वहसको विषय बनाई विश्लेषण गर्न आवश्यक छ । कतै निजी विद्यालयले अनलाइन क्लासका नाममा एक, दुइवटा क्लास चलाएर विद्यार्थीबाट शुल्क उठाउनमात्र खोजिएको हो कि भन्ने अभिभाबकको गुनासो पनि सुन्नमा नआएको होइन । त्यसैले ठाउँ र परिस्थिति अनुसार सोही अनुसारका सञ्चार साधन प्रयोगमा ल्याएर निष्कृय शिक्षक तथा मोवाइलमा अधिक समय बिताइरहेका विद्यार्थीलाई चलायमान गराउनु आजको आवश्यकता हो ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।