नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषयविज्ञतर्फबाट इन्जिनियर सुदर्शन शर्माले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्याङ्जा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि शर्माले केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
शर्माले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको भन्दा पनि पेशागत ज्ञान, प्रविधि र राजनीतिक संगठनबीचको सम्बन्ध बलियो बनाउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्। उनको उम्मेदवारीको मुख्य अवधारणा ‘कोडदेखि कांग्रेससम्म’ रहेको छ।
स्याङ्जाको ग्रामीण परिवेशबाट सरकारी विद्यालयमा अध्ययन गर्दै पुल्चोक क्याम्पससम्म पुगेको आफ्नो शैक्षिक यात्रालाई उनले राज्य र नेपाली समाजबाट प्राप्त अवसरका रूपमा व्याख्या गरेका छन्। सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर गरेका शर्मा प्रविधि, डिजिटल रूपान्तरण र सूचना प्रणालीको क्षेत्रमा लामो समयदेखि कार्यरत छन्।
विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनमा सक्रिय भएका शर्मा नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसको इकाई सभापति समेत भइसकेका छन्। विद्यार्थीका शैक्षिक अधिकार तथा विभिन्न विषयमा आन्दोलनको नेतृत्व गर्दै आमरण अनशनसम्म बसेको अनुभव आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधार भएको उनले बताएका छन्।
विसं २०७२ को भूकम्पपछि पुनर्निर्माण तथा राहतका क्रममा विभिन्न प्रभावित गाउँमा पुगेको अनुभवले उनलाई प्रविधि र सही सूचना व्यवस्थापनको महत्व थप बुझाएको उनको भनाइ छ। राहत तथा पुनर्निर्माणमा आवश्यक सूचना सही समयमा सही ठाउँमा पुग्न नसक्दा देखिएको समस्या नै आफूले राजनीतिक संगठनमा प्रविधिको प्रयोगबारे सोच्न थालेको एउटा आधार भएको उनले बताएका छन्।
शर्माले कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्न विभिन्न प्रस्तावसमेत अघि सारेका छन्। उनका प्रस्तावमा डिजिटल सदस्यता प्रणाली, पारदर्शी आन्तरिक निर्वाचन, जनगुनासोको डिजिटल व्यवस्थापन, पार्टीका वैचारिक दस्तावेजको डिजिटल भण्डार, तथ्यजाँच संयन्त्र, आर्थिक पारदर्शिताका लागि डिजिटल प्रणाली तथा सदस्यको डेटा सुरक्षासम्बन्धी व्यवस्था रहेका छन्।
डिजिटल सदस्यता प्रणालीमार्फत सदस्यताको अभिलेखलाई एकीकृत गर्ने, दोहोरो तथा नक्कली सदस्यता पहिचान गर्ने र आन्तरिक निर्वाचनमा प्रविधिको प्रयोग गर्ने उनको प्रस्ताव छ। त्यस्तै, नागरिकका गुनासा नेपाली भाषामा आवाजमार्फत समेत संकलन गरी तथ्यमा आधारित नीति निर्माणमा प्रयोग गर्न सकिने उनको अवधारणा छ।
शर्माले पार्टीका नीति, घोषणापत्र, महाधिवेशनका निर्णय तथा बीपी कोइरालाका लेखहरूलाई डिजिटल माध्यमबाट व्यवस्थित गरी कार्यकर्तालाई सहज रूपमा उपलब्ध गराउने प्रस्ताव पनि अघि सारेका छन्। सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाको सामना तथ्यमा आधारित प्रणालीबाट गर्नुपर्ने उनको धारणा छ।
उनले प्रविधिको प्रयोग गर्दा कृत्रिम बुद्धिमत्ताले निर्णय गर्ने नभई एआईले तथ्य र सूचना उपलब्ध गराउने तथा अन्तिम निर्णय मानव नेतृत्वले गर्ने स्पष्ट धारणा राखेका छन्। प्रस्तावित डिजिटल प्रणालीलाई चरणबद्ध रूपमा अघि बढाउने उनको योजना छ—पहिलो चरणमा प्राविधिक टोली र खाका तयार गर्ने, त्यसपछि एउटा प्रदेशमा परीक्षण गर्ने र परीक्षण तथा सुधारपछि देशव्यापी विस्तार गर्ने प्रस्ताव उनले अघि सारेका छन्।
शर्माका अनुसार प्रविधिको प्रयोगले कांग्रेसको मूल वैचारिक आधार परिवर्तन गर्ने उद्देश्य राख्दैन। बरु लोकतन्त्र, राष्ट्रियता तथा बीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादको वैचारिक आधारलाई नयाँ प्रविधिसँग जोड्ने उनको अवधारणा छ। उनले यसलाई “मूल कोड मेटाउने होइन, बीपीको विचारलाई नयाँ संस्करणमा चलाउने” अवधारणाका रूपमा व्याख्या गरेका छन्।
पेशागत विषयविज्ञ समूहबाट उम्मेदवारी दिनुको कारणबारे शर्माले अब राजनीतिक दलको नीति निर्माणमा इन्जिनियर, चिकित्सक, शिक्षक, कानुनविद् लगायत विभिन्न पेशागत क्षेत्रको ज्ञान र अनुभवलाई थप व्यवस्थित रूपमा जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन्। आफू ज्ञान र राजनीतिबीचको पुल बन्न चाहेको उनको भनाइ छ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै शर्माले यसलाई पदभन्दा जिम्मेवारी, राज्यबाट प्राप्त शिक्षाको ऋण तिर्ने अवसर तथा पार्टीलाई प्रविधिमैत्री बनाउने प्रयाससँग जोडेर प्रस्तुत गरेका छन्।
उनको उम्मेदवारीसँगै पेशागत विषयविज्ञ समूहबाट नेपाली कांग्रेसको नीति निर्माणमा प्रविधि, डिजिटल रूपान्तरण र नयाँ पुस्ताको पेशागत सहभागिताको विषय पनि बहसमा आएको छ।





